शेरबहादुर देउवाका आलोचक योजना आयोगको उपाध्यक्ष
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भएका छन् । आज बसेको प्रदेश क्याबिनेटको बैठकबाट निर्णय गराएर मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई सो जिम्मेवारी सुम्पिएका हुन् ।
उपाध्यक्ष नियुक्त भएसँगै मुख्यमन्त्री कार्कीले उनलाई नियुक्ति पत्र प्रदान गरेका थिए । विराटनगर निवासी आचार्य काँग्रेस कार्यकर्ता भएपनि राजनीतिक विश्लेषक कहलिएका छन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका आचार्य गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टी सभापति हुँदा स्वकीय सचिव थिए । अहिले काँग्रेसको संस्थापन इतर समूहका नेता शेखर कोइरालाको समर्थक रहेका उनी सभापति शेरबहादुर देउवाको भने कडा आलोचक हुन् ।
राजनीतिक विश्लेषकका रुपमा मिडियामा छाइरहने उनका विश्लेषणहरुमा देउवा र संस्थापनपक्षीय नेताहरुको खरो आलोचना गरेको पाइन्छ ।
टिप्पणीहरू