विश्वकप खेल्न छानिएका खेलाडीलाई क्यानको ५० लाख पुरस्कार

विश्वकप खेल्न छानिएका खेलाडीलाई क्यानको ५० लाख पुरस्कार
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनौट हुन सफल नेपाली टोलीलाई ५० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

आज बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन् २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा सञ्चालन हुने आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा सहभागिताका लागि छनौट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । 

त्यस्तै, हालै मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप जितेर एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने क्यानको निर्णय छ ।

 

क्रिकेट हङकङ चाइनाको आयोजनमा यही नोभेम्बर १५ देखि १९ सम्म चार राष्ट्रका महिला क्रिकेट टीमहरुबीच सञ्चालन हुने हङकङ वोमन्स् टी–२० सिरिजमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने पनि क्यानले जनाएको छ ।

टिप्पणीहरू