समयमै निर्माण सम्पन्न पुल विवादमा
बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुपारीखोल्ची मोटरेबल पुल भोलि उद्घाटन गरिने भएको छ । नुवाकोटको बेलकोटगढी गाउँपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सो पुलको निर्माण सम्पन्न भएसँगै भोलि गोप्य रुपमा उद्घाटन गर्न थालिएको हो । समयमै निर्माण सकिएतापनि विवादमा तानिएको सो पुल हतारोमा उद्घाटन गर्नुपछाडिको कारण अनियमितता लुकाउनु भएको स्थानीयको आरोप छ ।
तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले गत पुस ५ गते पुलको शिलान्यास गरेका थिए । तर, कर छली, अवैध उत्खनन् र नदी दोहनको आरोपका कारण पुल निर्माण विवादमा परेको थियो । ४१ दशमलव चार मीटर लामो र आठ दशमलव चार मीटर चौडा पुलको निर्माण ठेक्का जयविष्णु निर्माण सेवा कम्पनीले प्राप्त गरेको थियो ।
आठ करोड ४८ लाख रुपैयाँमा ठेक्का पाएकोमा दुई महिनाअगावै पुलको निर्माण सम्पन्न भएको छ । २०८१ असार १४ गते कार्यादेश दिइएकोमा गत साउन २२ गते नै निर्माण सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । समयमै काम गरेको देखाउन सफल भएपनि स्थानीयका अनुसार निर्माण प्रक्रियामा राजश्व छली र अवैध स्रोत सामग्रीको प्रयोग भएको छ ।
‘लोभ देखाएर अवैध उत्खनन्’
स्थानीयका अनुसार ठेकेदार कम्पनीले शौचालय बनाइदिनेलगायतको प्रलोभन देखाएर रातारात खोला र निजी जमिनबाट ठूलो मात्रामा ढुंगागिट्टी उत्खनन् गरेको हो । पुल निर्माणका अधिकांश कच्चा सामग्री अनधिकृत रुपमा निकालिएको र त्यसको कर नतिरिएको स्थानीयको आरोप छ । एक स्थानीय भन्छन्,‘अवैध उत्खनन्बाट निकालेको सामग्री प्रयोग गरेर ठेकेदार मालामाल भयो, तर हामीलाई झुक्याइयो ।’
उता अख्तियारमा उजुरी, यता उद्घाटनको तयारी
कर छली र नदी दोहन गरेको भन्दै निर्माण कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यसैबीच, ठेकेदार अनिल सिलवालले गोप्य रुपमा पुलको उद्घाटन गर्ने तयारी गरेका हुन् । एकातिर अख्तियारले अनुसन्धान गरिरहँदा अर्कोतिर पुलको उद्घाटन गर्न खोजिएपछि स्थानीय आक्रोशित बनेका छन् ।
नदी दोहनले बढ्यो जोखिम
स्थानीयबासीले निष्पक्ष छानबिन नहुँदासम्म उद्घाटन रोक्न सम्बन्धित निकायलाई दबाब दिइरहेका छन् । उनीहरुका अनुसार नदी दोहनका कारण खोलाले धार बदल्ने खतरा बढेको छ । जसले ठूलो बाढी आएमा खेतबारी बगाउने जोखिम निम्तिएको छ ।
कार्यालय मौन बस्नु रहस्यमयी
स्थानीयले पटकपटक पूर्वाधार विकास कार्यालय, नुवाकोटमा अनियमितताबारे गुनासो गरिसकेका छन् । तर, कार्यालयले सुनुवाई गरेको छैन । ठेकेदार कम्पनीसँगको मिलेमतोमा आवश्यक कागजात नदिएको स्थानीयको आरोप छ ।
‘यदि सामग्री वैध खानीबाट खरिद गरेको भए, राज्यको करोडौं राजश्व गुम्ने थिएन । फर्जी कागजात बनाएर भुक्तानी लिइयो, राज्यलाई आर्थिक नोक्सानी पुर्याइयो । हामी कसरी चुप बस्ने ?’,स्थानीयले भने ।
उद्घाटनमा मस्त गाउँपालिका
दुवै गाउँपालिका छानबिन भन्दापनि पुल उद्घाटनको हतारोमा छ । जसले गाउँपालिकामाथि पनि प्रश्न उठेको छ । स्थानीयका अनुसार ठेकेदारले विभिन्न धम्की दिइरहेका छन् । कार्यक्रम भाँडिएमा नछोड्ने चुनौती दिएको स्थानीयको जिकिर छ । अनियमितता लुकाउनका लागि कार्यालयले हतारोमा उद्घाटन गरेर भुक्तानी दिन खोजेको स्थानीयको आरोप छ ।
टिप्पणीहरू