खुश्वुकाे साडीमा जेन जी जुत्ता

खुश्वुकाे साडीमा जेन जी जुत्ता

जनताको सहानुभूति बटुल्न सक्ने कला नै चतुर नेताको सम्पत्ति हो, भनिन्छ । विभिन्न कालखण्डमा विभिन्न नेताहरुले त्यस्तो चातुर्यता देखाएको उदाहरण प्रशस्त छन् । ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि रामकुमारी झाँक्रीले ‘बोल्न पाइन्छ’ भन्दै मुखमा टेप टाँसेको फोटो तथा भिडियोको अहिले पनि बेलाबखत चर्चा हुनेगर्छ । भलै ओलीको हातबाट निधारमा फेटा लगाएर झाँक्री एमालेमा फर्किसकेकी छन्, तर तत्कालीन स्टन्टले उनलाई जीवनभर छाड्ने देखिदैँन । 

यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओली पनि त्यसैगरी अगाडि बढेकी  छन् । पार्टी केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग उपप्रमुख रहेकी उनी विभिन्न सार्वजनिक समारोहमा नयाँ नयाँ अवतारमा प्रस्तुत हुन थालेपछि यस्तो चर्चा सुरु भएको हो । नवीन समझदारीसहित राजा, राजनीतिक दल र जेनजीको सर्वपक्षीय सम्मेलनको माग गर्दै आज राप्रपाले शान्तिबाटिकामा आयोजना गरेको प्रदर्शन तथा दबाब सभामा खुश्बुले जुन अभिव्यक्ति दिइन्, त्योभन्दा बढी उनले लगाएको साडीले कार्यकर्ताको ध्यान खिचेको बताइन्छ । 

उनले भदौ २३ गतेको जेनजी प्रदर्शनको क्रममा गोली लागेर घाइते भएका प्रकाश बोहराको जुत्ता चित्राङ्कित साडी लगाएकी हुन् । उक्त जुत्ता जेनजी प्रदर्शनपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । खुश्बुले जेन जीको ध्यान आफूतिर केन्द्रीत गर्न उक्त जुत्ताको चित्र भएको विशेष डिजाइनको साडी लगाएकी त होइनन् रु धेरैको भनाइ छ । 

त्यसो त, खुश्बुले पोशाक तथा श्रृंगारबाटै नागरिकको ध्यान खिच्न अपनाएको यो पहिलो उपाय भने होइन । गत बैशाखमा पार्टीले आयोजना गरेको प्रदर्शनमा पनि उनले विशेष डिजाइनसहित बनाइएको टिसर्ट लगाएर प्रस्तुत भएन् । त्यतिबेला उनको प्रिन्टेड टिसर्टमा ‘ओम्नी, गिरीबन्धु, बाल मन्दिर, वाइडबडी’लगायत भ्रष्टाचारका ठूला काण्डहरु लेखिएको थियो । उनले विशेष डिजाइनको छातासमेत बनाएकी थिइन् । यसरी खुश्बुले सार्वजनिक समारोहमा नयाँ नयाँ अवतार देखाउन थालेपछि कतिपयले राजनीतिक चातुर्यता भनेका छन्, भने कतिपयले ‘अटेन्सन सिकर’ भनेका छन् । खुश्बुलाई पछिल्लो समय ‘राप्रपाकी सुन्दरी’ समेत भन्ने गरिएको छ ।

टिप्पणीहरू