इजरायलको त्रास : खाँदाखाँदैकाे थालसहित बङ्करभित्र छिर्यौं

इजरायलको त्रास : खाँदाखाँदैकाे थालसहित बङ्करभित्र छिर्यौं

प्यालेस्टिनी लडाकु समूह ‘हमासको आतंक’ छिचोल्दै इजरायलबाट हिजो बिहानै जन्मभूमि फर्किएका दर्जनौँ नेपालीमध्ये एक हुन्– किशोर । 

११ महिना इजरायलमै बस्नेगरी गएका उनी ‘एक महिना नपुग्दै खाली हात’ काठमाडौं ओर्लिएका छन् । किशोर मात्र फर्किएनन् नेपाल, उनीजस्ता २५४ नेपाली विद्यार्थी ‘मध्यपूर्वको द्वन्द्व छल्दै’ चैनको सास फेर्न आइपुगेका छन् स्वदेशमा ।

दशैँको मुखका ‘दशा’ बनेर आइलागेको ‘इजरायल–हमास युद्ध’ ले नेपालीहरूलाई नराम्रोसँग झस्काएको छ । काम खोज्दै इजरायल गएका सयौँ नेपाली ‘युद्धभूमिमै’ अलपत्र छन् ।

नेपाल सरकार र अन्य सामाजिक संघ–संस्थाको पहलमा २५४ विद्यार्थी नेपाल फर्किएका छन् । ग्रिनेडको छर्राबाट घाइते तीनजना जेरुसेलममै छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

अन्य १० जना नेपाली विद्यार्थीले ‘आतंकवादी हमास’ को आक्रमणबाट गत साता ज्यान गुमाएका हुन् । उनीहरूको मृत्युपछि परिवार र आफन्तकोमा रुवाबासी चलेको छ, मुलुकमा सन्नटा छाएको छ ।

‘आंतकवादी’ हरूले अघिल्लो हप्ता इजरायलमाथि एकाएक आक्रमण गर्दा नेपाली विद्यार्थी किशोर उत्तरपट्टी थिए । तर, हानाहान भइरहेको थियो गाजापट्टीमा । ’बेस्सरी आतंक‘ फैलिँदैथियो इजरायलभर ।

अघिल्लो शुक्रबार यहूदीहरू धर्म–उत्सवमा थिए । सूर्य अस्ताएपछि ‘झण्डै २५ घण्टा’ शनिबार सूर्य नअस्ताउन्जेल ‘सब्बात’ को समय थियो । यहूदीहरू ‘सब्बात’मा सबै कामकाज भुलिदिन्छन् । बाँकी दिनमा निकै धेरै काम गर्छन् । 

इजरायलीहरूका लागि शुक्रबार छुट्टीको समय थियो । मानिसहरू ‘सब्बात’ मनाइरहेका थिए । तर, त्यो मौन–समयको मौका छोपेर ‘आतंकवादी हमास’ले जल, जमिन र आकाशबाट गाजापट्टी आक्रमण गर्यो । शनिबार मुलुकभर युद्ध फैलियो ।

‘इजरायल–हमास’ युद्धको नमिठो कथा नेपालीका लागि पुरानै कथा हो । तर शुक्रबार हमासले गरेको आक्रमण र त्यसपछि इजरायल सरकारले घोषणा गरेको युद्धले चाहीँ नेपालीसमेत ‘त्यो युद्धको चपेटा’ मा परे ।

कालीकोटका धनकृष्ण आचार्य अर्थात् ‘किशोर’ इजरायलले युद्धको एलान गर्दा लेबनानलाई नियलिरहेका थिए । उनी गाजापट्टी बमबारी हुँदा बङ्करभित्रै थिए । दर्जनौँ साथीहरूसँग थुनिएर बङ्करभित्र बस्दा र बेलाबेलामा झस्काउने साइरनका अनेकौँ किस्सा छन् उनीसँग ।

किशोर आफू नेपाल फर्किएकोमा खुसी छन् । तर आतंकवादीहरूको क्रूर आक्रमणबाट साथीहरू गुमाउँदा दुःखी छन् । हमास लडाकूहरूले बङ्करभित्र छिरेरै ग्रिनेड फ्याँक्दा गाजापट्टीमा रहेका केही नेपालीले ज्यान गुमाएको धेरैपटक सुनेका छन् उनले । तर त्यो दृश्य उनी आफैंले भने देखेका होइनन् ।

इजरायल युद्धको सनसनीपूर्ण खबर सबैतिर फैलिँदाको क्षण याद गर्दै भन्छन्,  ‘साउथमा निकै आतंक थियो । नर्थतिर त्रास मात्र थियो । हामीहरू भने काममा गयौँ । बिहान चार घण्टा काम गरेपछि खाना खाँदै थियौँ । एकाएक साइरन बज्यो । खाँदाखाँदै थाल समातेर बङ्करभित्र छिर्यौं ।’

टिप्पणीहरू