प्रधानमन्त्रीसामु ओली र लेखकको नामै  नलिएको दाबी

प्रधानमन्त्रीसामु ओली र लेखकको नामै  नलिएको दाबी

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न हिजो अपरान्ह सिंहदरबार पुगेको भदौ २३ र २४ गतेको घटना छानबिन आयोग टोलीका अध्यक्ष र सदस्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको नामै उच्चारण नगरेको बताइएको छ । अघिल्लो साता सरकारले जेन जी समूहसँग सम्झौता गरेर क्याबिनेट बैठकबाट आयोगको कार्यक्षेत्र विस्तार भन्दै म्याद थप्ने रणनीति बनाएको बुझेपछि आयोग पदाधिकारीहरुले अनौपचारिक रुपमा असन्तुष्टि जनाएका थिए । 

जोको भेटवार्ताबारे स्रोत भन्छ, ‘आयोगको म्याद थप्नेबारे हिजो बिस्तृत  कुरा भएको छैन । जेन जीको सम्झौतामा आयोगको कार्यक्षेत्र विस्तार गर्ने भन्ने विषयमा रहेर सरकारले गरेको निर्णयबारे समग्र छलफल भएको हो । उक्त निर्णय औपचारिक रुपमा आयोग पुगेपछि सरोकार राख्न अध्यक्ष गौरीबहादुर कार्की र सदस्य विज्ञानराज शर्माले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।’

असोज ७ गतेदेखि काम थालेको आयोगको कार्यक्षेत्र जाँचबुझ ऐन बमोजिम गर्ने भनिएको छ । सोही विषयमा थप गरिएको कार्यक्षेत्रबारे सल्लाह गर्न प्रधानमन्त्री कार्कीले कानुनमन्त्री,गृहमन्त्री, आइजीपीसमेतलाई बोलाएको सोही स्रोतले पुष्टि गरेको छ ।

सरकार म्याद थप्ने लाइनमा देखिएको, आयोगका अध्यक्ष र सदस्यले सहमति वा असहमति भन्नेमा छिनालेर कुरो नगरेको श्रोतले बतायो । कार्यक्षेत्रबारे आयोग पदाधिकारीले चासो राखे पनि पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई बयानमा बोलाउनेबारे सल्लाह नभएको दाबी गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘त्यो आयोगको कार्यक्षेत्र र अधिकारको कुरो हो ।’

टिप्पणीहरू