रविलाई रिहा गर्न आदेश, छवि जेलमै
सहकारी ठगी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्ने आदेश भएको छ । उच्च अदालत, तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले शुरुको अदालतले गरेको आदेश बदर गर्दै उनलाई छाड्ने आदेश गरेको छ ।
बैंक ग्यारेण्टी सुरक्षित राखेर उनलाई छोड्नु भन्ने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । जनआस्थासँग उनले भने,‘उहाँको बैंक ग्यारेण्टी सुरक्षित राखेर थुनामुक्त गर्नु भन्ने आदेश भएको छ । उहाँ यहाँ उपस्थित भएर कागज गर्नु भएपछि छुट्नुहुन्छ ।’
त्यस्तै, सोही प्रकरणमा कारागारमा रहेका पूर्वडिआईजी छविलाल जोशी भने थुनामै रहने भएका छन् । उनको हकमा निवेदन लिएर आउनू भन्ने आदेश भएको सूचना अधिकारी कुँवरको भनाइ छ । ‘छविलालको हकमा फौजदारी कार्यविधिअनुसार निवेदन लिएर आउन भनिएको छ’,उनले भने ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविले आफ्नो भागमा पर्ने बिगो बराबरको धरौटी बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । तर, गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त निवेदन अस्वीकार गरेको थियो ।
सो निर्णयविरुद्ध रवि उच्च अदालत पुगेका हुन् । कात्तिक २७ गते न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मुद्दामाथि सुनुवाई भएकोमा थप प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । हाल रवि नख्खु र छवि रुपन्देही कारागारमा छन् ।


टिप्पणीहरू