‘जिब्रो परीक्षणबाट सटिक उपचार पद्धति विश्व स्वास्थ्य सेवामा कोशेढुंगा’
भारतको राजधानी नयाँ दिल्लीमा परम्परागत उपचार पद्धतिबारे विश्व स्वास्थ्य संगठनको दोस्रो विश्व सम्मेलन भइरहेको छ। भोलिसम्म हुने सम्मेलनमा विश्वभरका एक हजार १७५ आवेदनमध्ये छनोट भएका २१ जना विज्ञले आफ्ना सफल अभ्यास र भविष्यका योजनाबारे प्रस्तुति दिएका छन्। स्वास्थ्य सेवामा आधुनिक चिकित्सा र सुरक्षित, प्रमाणमा आधारित परम्परागत उपचार समायोजन गर्न सके नयाँ सम्भावना खुल्ने विज्ञहरूको निष्कर्ष छ।
सम्मेलनमा हिमालय क्षेत्रको परम्परागत चिकित्सा टोलीसमेत सहभागी छ। ती २१ जना विज्ञलाई ‘एच–२१’ भनिँदै उनीहरूको योगदानलाई ‘स्वास्थ्य र सम्पदा नवप्रवर्तन’का रूपमा चिनाइएको छ। सोही क्रममा लन्डनमा कार्यरत चिनियाँ मूलका डा. होङ चुआन यीनले ‘आधुनिक जिब्रो परीक्षण पद्धति’ विषयमा प्रस्तुति दिएका छन् ।
डा. यीनले डिजिटल फोटोमार्फत् जिब्रो परीक्षण गरेर अधिकांश रोगको पहिचान र स्वास्थ्यको समग्र मूल्याङ्कन गर्न सकिने दाबी गरे । परम्परागत चिनियाँ औषधि र आधुनिक विज्ञानको संयोजनमा आधारित यो विधि कम लागत, सरल र सबैका लागि पहुँचयोग्य भएकाले विशेषगरी न्यून स्रोत भएका देश र समुदायमा उपयोगी हुने विश्वास व्यक्त गरेपछि धेरैको ध्यानाकर्षण भएको छ ।

उनका अनुसार जिब्रो र शरीरका विभिन्न अंगबीचको सम्बन्ध विश्लेषण गर्ने होलोग्राफिक जिब्रो चार्ट र बहुआयामिक सिद्धान्तमार्फत् रोग पहिचान तथा उपचार निर्धारण सम्भव छ । विश्वभर हजारौँ स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको र आगामी दिनमा स्वःचालित प्रविधिमार्फत् छिटो र सहज स्वास्थ्य परीक्षणको योजना अघि सारेका छन् । सोही सन्दर्भमा प्रस्तुत छ, नयाँ दिल्लीमा रहेका डा.यीनसँग काठमाडौंबाट राजेन्द्र रिमालले गरेको कुराकानीको मुख्य अंश :
तपाईंलाई आधुनिक जिब्रो परीक्षणबाट उपचार गर्न सकिने प्रद्धतिको विकासका लागि के कुराले प्रेरित गर्यो ? साथै यो परम्परागत चिनियाँ चिकित्सा (टिसिएम) को जिब्रो परीक्षणभन्दा कुन हदसम्म फरक छ ?
मलाई आधुनिक जिब्रो परीक्षणबाट उपचार गर्न सकिने पद्धतिको विकास गर्न मुख्य रूपमा दुई कारणले प्रेरित गर्यो । पहिलो, विश्वभर सर्वसुलभ, समग्र र कम लागतका उपचार पद्धतिको चर्को अभाव छ । विशेषगरी स्रोत–साधन सीमित भएका देशहरूमा । हाल प्रचलित धेरै उपचार पद्धति निकै महँगा उपकरण, औषधि र जटिल पूर्वाधारमा निर्भर छन । सोही कारण विश्वको ठूलो जनसंख्या उक्त सेवाबाट वञ्चित छ ।
दोस्रो, परम्परागत चिनियाँ चिकित्सामा परीक्षण र उपचार प्रक्रिया फरक–फरक हुने समस्या छ । यस्तो व्यक्तिपिच्छे हुने भिन्नताले परीक्षणमा एकरूपता र उपचारको प्रभावकारितामा असर पार्न सक्छ।
त्यसैले परम्परागत चिनियाँ पद्धतिमा हुने जिब्रो परीक्षणमा जैविक होलोग्राफिक सिद्धान्त समावेश हुँदैन । यसमा मैले वर्षौँको क्लिनिकल अभ्यास र अनुसन्धानबाट प्राप्त गरेका खोजहरू पनि समावेश छैनन्।
आधुनिक जिब्रो परीक्षणबाट हुने उपचार बढी सटीक, वैज्ञानिक र व्यवस्थित प्रणाली हो । जसले बिरामीको स्वास्थ्य अवस्थाबारे अझ पूर्ण र स्पष्ट चित्र प्रदान गर्छ । आधुनिक जिब्रो परीक्षणबाट हुने उपचार पद्धति एउटा क्यामेराको प्रयोगबाट कम लागतमा सञ्चालन गर्न सकिने नयाँ स्वास्थ्य उपचार पद्धति हो ।
स्रोत–साधन सीमित भएका देशहरूमा यसले त्यहाँको स्वास्थ्य सेवामा कस्तो प्रभाव पार्ला ?
मैले अघि पनि भनेँ आधुनिक जिब्रो परीक्षणबाट हुने उपचार विशेष रूपमा कम लागत र सजिलो पहुँचलाई ध्यानमा राखेर विकास गरिएको छ । जब यस सम्बन्धी प्रशिक्षित चिकित्सकहरूको संख्या बढ्दै जान्छ, उनीहरूले महँगा र जटिल परीक्षण उपकरणमा अत्यधिक निर्भर हुनुपर्ने अवस्था पनि हट्ने छ । त्यसपछि झन् सटीक परीक्षण र सस्तोमा उपयुक्त उपचार हुनसक्नेमा म ढुक्क छु ।
यसले स्रोत–साधन सीमित भएका देशको स्वास्थ्य सेवाको गुणस्तर सुधार्न ठूलो योगदान पुग्नेछ । जहाँ आधुनिक उपकरणको अभाव भए पनि उपचारको आवश्यकता अत्यन्त उच्च हुने अवस्थालाई पार लगाउन सकिन्छ ।
यसको वैज्ञानिक प्रमाणीकरणका लागि के–कस्ता कदम चालिएका छन् ? साथै जटिल रोग परीक्षणमा यसको शुद्धता र विश्वसनीयता कसरी सुनिश्चित गर्न सकिन्छ ?
वैज्ञानिक प्रमाणीकरणको सन्दर्भमा, हालसम्म जिब्रो परीक्षणबाट हुने उपचारलाई क्लिनिकल केस अध्ययनहरूमार्फत् मूल्यांकन गरिएको छ। हामीसँग हाल दशौं हजारभन्दा बढी क्लिनिकल केस स्टडिजहरु उपलब्ध छन् । जसले यसको प्रभावकारिता प्रमाणित गरिसकेको छ । आगामी चरणमा, उपलब्ध तथ्याङ्कहरूको सांख्यिकीय विश्लेषण गरेर यसको वैज्ञानिक आधारलाई अझ बलियो बनाउने योजना छ।
जटिल रोगको निदानबारे कुरा गर्दा, आधुनिक चिकित्सा दृष्टिकोणमा जटिल देखिने अवस्था जिब्रो परीक्षणबाट हुने उपचारमा पनि जटिल नै हुन्छ भन्ने हुँदैन। हामी बिरामीको जिब्रो परीक्षणबाट हुने उपचारमा आधारित पद्धतिलाई चिनियाँ परम्परागत औषधिको प्रणालीभित्र राखेर गर्छौं, त्यसैले रोगलाई बुझ्ने तरिका फरक हुन्छ ।
जिब्रो परीक्षणबाट हुने उपचारलाई आधुनिक चिकित्सा प्रणालीसँग कसरी एकीकृत गर्न सकिन्छ ? साथै परम्परागत र आधुनिक चिकित्साबीच तपाईंले कस्ता चुनौतीको सामना गर्नुभएको छ ?
जिब्रो परीक्षणबाट हुने उपचारमा जिब्रोलाई सम्पूर्ण शरीरको प्रतिबिम्बका रूपमा लिइन्छ । जब शरीरमा कुनै रोग विकसित हुनथाल्छ त्यसको संकेत जिब्रोमा देखिन्छ ।
चाहे चिकित्सक आधुनिक चिकित्सा प्रणालीमा काम गरिरहेका हुन् वा परम्परागत चिनियाँ उपचार प्रणालीमा, जिब्रो परीक्षणबाट हुने उपचारले बिरामीको शरीरको कुन भागमा थप परीक्षण वा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने संकेत दिन्छ । यसकारण जिब्रो परीक्षणबाट हुने उपचारले आधुनिक चिकित्साको पूरक उपकरणको रूपमा काम गर्न सक्छ।

तर परम्परागत र आधुनिक चिकित्साबीच सहकार्यमा एउटा ठूलो चुनौती भनेको धेरै आधुनिक चिकित्सकहरूमा परम्परागत चिकित्साप्रति रहेको खुला दृष्टिकोणको अभाव प्रमुख हो ।
तपाईंले एआईमा आधारित जिब्रो परीक्षणबाट हुने उपचार प्रणाली विकास गर्ने योजना उल्लेख गर्नुभएको छ। उक्त प्रविधिबाट तपाईंका मुख्य लक्ष्य के हुन् र यसले विश्व स्वास्थ्य क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देख्नुहुन्छ ?
जब एआईमा आधारित आधुनिक जिब्रो परीक्षणबाट हुने उपचार प्रणाली पूर्ण रूपमा विकास हुन्छ, यसले एआई चिकित्सकहरूको परीक्षणको शुद्धता र उपचार निर्धारणको सटीकता उल्लेखनीय रूपमा बढाउनेछ।
हाल धेरै दुर्गम र पिछडिएका क्षेत्रमा जिब्रो परीक्षणबाट हुने उपचारमा प्रशिक्षित चिकित्सकहरू उपलब्ध छैनन्। एआईमा आधारित प्रणालीको प्रयोगबाट त्यस्ता स्थानमा रहेका स्वास्थ्यकर्मीहरूले पनि सही पद्धतिबाट प्रभावकारी उपचार प्रदान गर्न सक्नेछन् । चाहे उनीहरूलाई जिब्रो परीक्षणबाट हुने उपचारको विस्तृत तालिम प्राप्त नभए पनि त्यो सम्भव हुन्छ ।
म विश्वास गर्छु, यो प्रविधिले विश्वव्यापी स्वास्थ्य सेवामा रूपान्तरण ल्याउनेछ । विशेषगरी सबैभन्दा बढी आवश्यकता देखिएको समुदायका लागि सुलभ, समग्र र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा यो कोशेढुंगा हुने मेरो विश्वास छ ।
टिप्पणीहरू