एक निकट हार्दा अर्का बिकट दङ्ग
नेकपा (एमाले) को ११औँ महाधिवेशनमा केपी शर्मा ओलीका दुई विश्वासपात्रले फरक फरक परिणाम पाएका छन् ।
सदाबहार विश्वासपात्र विष्णु रिमालले उपमहासचिवमा शर्मनाक हार व्यहोर्दा जेनजी आन्दोलनपछि निकट बनेका महेश बस्नेतले लोकप्रिय मतसहित सचिव पदमा बाजी मारेका हुन् । रिमालले केन्द्रीय सदस्य पनि जित्न सकेनन् ।
ओली प्रधानमन्त्री भएका बेला सधैं प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल यसअघि उपमहासचिव थिए । भदौ २४ पछि ओलीको वासस्थान र सुरक्षाको व्यवस्थापन गरेर चर्चामा आएका बस्नेत भने पूर्वमन्त्री र सांसद हुन् । ओलीको नजिक बन्न यी दुईबीच प्रतिष्पर्धा हुने गरेको छ ।
यसको छनक आज भृकुटीमण्डपमा पनि देखियो । दिउँसो मतपरिणाम सार्वजनिक भएपछि बन्दसत्र हलमै बस्नेतले प्रतिनिधिसँग खुशी साटेका थिए । एक प्रतिनिधिका अनुसार त्यसक्रममा उनले रिमालको नामै लिएर ‘आज पार्टी हुन्छ’ भन्दै खुशी व्यक्त गरेका थिए ।
रिमाल पराजित हुँदा बस्नेत किन खुशी भएका होलान् ? स्रोतका अनुसार ओली पछिल्लो पटक प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमालले बस्नेतलाई बालुवाटारमा छिर्न प्रतिबन्ध लगाएका थिए । ओलीका स्वकीय सचिव राजेश ब्रजाचार्यमार्फत् बालुवाटार पुग्न प्रयास गरे पनि रिमालले नै ‘त्यसलाई छिर्न नदिनू’ भनेर रोकेको गुनासो बस्नेतले निकटहरूसँग गर्ने गरेका छन् ।
‘आज गुण्डु टिम निकै खुशी देखिएको छ’, उनै प्रतिनिधिले भने, ‘बालुवाटार छिर्न नदिएको रिस आज मरेकाे जस्तो छ ।’
रिमाल र बस्नेत दुवै जना ओली निकट भए पनि आपसी सम्बन्ध भने नरहेको बुझिन्छ । जेनजी घटनाअघि रिमालले बस्नेतलाई ओलीबाट टाढा राख्न खोजेका थिए । तर, पछिल्लो समय ओलीले बस्नेतलाई नजिक राखेपछि दुई जनाको सम्बन्ध थप बिग्रिएको बताइन्छ ।
टिप्पणीहरू