अरुलाई फसाउन खोज्दा आफैंलाई आपत
छोरी नदिएको निहुँमा लागुऔषध ओसारपासारको झुठ्ठो सूचना दिएर चौकीमा थुनाउने मोरङको धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहको गिरोह समातिएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले अस्ति तीन जनालाई नियन्त्रणमा लिएको हो । छोरी नदिएको पुरानो रिसईबीको बदला लिन विशालले लागुऔषध ओसारप्रसारको झुठ्ठो सूचना दिएर केटीको बुवालाई थुनाउन खोजेका थिए ।
अनुसन्धानको क्रममा झुठ्ठो आरोप लगाएको पाइएपछि उनी आफैं थुनामा पुग्नुपरेको हो । कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार पक्राउ पर्नेमा विशालसहित रोशन मण्डल, पारस मण्डल र राजा धोबी छन् ।
‘झुठ्ठो सूचना दिएर प्रहरीलाई हैरानी र अरुलाई बिनाकारण फसाउन खोजेको आरोपमा उनीहरुलाई समातिएको हो । अनुसन्धान जारी छ’,उनले भनिन् । विशालले लागुऔषध गिरोहसँग मिलेर गत वैशाख २० गते ४५ वर्षीय चन्द्रशेखर मण्डलको मोटरसाइकलमा लागुऔषधजस्तो देखिने सेतो पदार्थ राखेका थिए ।
त्यसपछि उनले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले चन्द्रशेखरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकोमा सो पदार्थ लागुऔषध नभएको खुलेपछि छोडिएको थियो । उनलाई जेल पठाउने योजना सफल नभएपछि सोही गिरोहले मंसिर २७ गते राजीव चौधरीले मोटरसाइकलमा खैरो हिरोइन राखेको भनि प्रहरीमा सूचना दिएको थियो ।
प्रहरीले खानतलासी गर्दा राजीवको साथबाट केही पनि फेला नपरेको हो । सूचनाको अटोमेटिक फोन रेकर्ड विश्लेषण गरेर विशाल र उनको गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीले टेलिफोन वा एपमार्फत सूचना दिने वा सोधपुछ गर्ने सबैको भ्वाइस रेकर्ड राख्न थालेको छ ।
टिप्पणीहरू