स्कुलमा मुन्डन नगर्न निर्देशन
‘अनुशासन’ को नाममा छात्रको विद्यालयमै मुन्डन गरिदिएको चर्को गुनासोपछि काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई सचेत गराएको छ ।
महानगरले मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पत्राचार गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना हुने कार्य नगर्न निर्देश गरेको छ ।
महानगरभित्रका केही विद्यालयमा छात्रको कपाल लामो भएको भन्दै जथाभावी मुन्डन गरिदिएको र त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर गरेको जनगुनासोपछि महानगरले सचेत गराएको हो ।
‘शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्थासमेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुनेगरी आचारसंहिता पालना गर्न गराउन हुन अनुरोध छ’, सूचनामा भनिएको छ ।
टिप्पणीहरू