पुस ११ देखि १३ सम्म सौराहामा हात्ती महोत्सव

पुस ११ देखि १३ सम्म सौराहामा हात्ती महोत्सव फाइल फाेटाे

चितवनको पर्यटकीय नगरी सौराहामा वर्षेनी हुँदै आइरहेको ‘हात्ती तथा पर्यटन महोत्सव’ मा हात्तीमाथि हुने क्रुर व्यवहार रोक्न कडा मापदण्ड बनाइएको छ । यो वर्ष हुन गइरहेको महोत्सवमा हात्तीमाथि कुनै पनि क्रुर व्यवहार गर्न नपाइने मापदण्ड बनाइएको आयोजक क्षेत्रीय होटल संघ चितवनले जानकारी दिएको छ । 

चितवनलाई विश्वसामु परिचित गराउन सौराहामा विगत दुई दशकदेखि हात्ती महोत्सव हुँदै आइरहेको छ । सोहीअनुरुप आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म १९ औं हात्ती महोत्सव हुँदैछ । तर, महोत्सवमा हात्तीमाथि क्रुर व्यवहार गर्ने गरिएको भन्दै विश्वव्यापी रुपमा आलोचना हुने गरिएको छ । त्यसप्रति सजग रहँदै आयोजक संघले सरोकारवाला निकायसँगको सहकार्यमा यो वर्ष हुने महोत्सवका निम्ति विभिन्न मापदण्ड बनाएको छ । 

संघले आज पत्रकार सम्मेलन गरेर यो वर्ष हात्ती महोत्सवमा धारिलो वा हानिकारक उपकरण प्रयोग निषेध गरिएको जानकारी गराएको छ । त्यस्तै, सबै हात्तीलाई प्रतियोगिता अघि र पछि पशु चिकित्सकले परीक्षण गर्नुपर्ने, तालिमप्राप्त योग्य जनशक्ति (माहुते) मात्र महोत्सवमा सहभागी हुन पाउने नियम बनाइएको छ । 

‘यस महोत्सवमा हात्तीलाई पूर्ण जिम्मेवार व्यवहार गरिने स्थापित मापदण्ड अनुशरण गरी कुनै पनि क्रुर व्यवहार नगरिने जानकारी गराइन्छ,’ संघले भनेको छ, ‘हात्ती हाम्रो धर्म, संस्कृति र पर्यटनसँग जोडिएको छ । यसलाई हामीले आफ्नै सन्तानजस्तै गरेर पालेको हुँदा हामीलाई हात्तीको धेरै माया लाग्दछ ।’

संघले तीन दिने महोत्सवमा हुने विभिन्न गतिविधिबारे पनि जानकारी गराएको छ । महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्ती श्रृंगारसहित विभिन्न प्रतियोगिता, हात्ती वनभोज, स्वास्थ्य शिविर, पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, हात्तीको महत्त्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिकलगायत कार्यक्रम हुनेछन् । 

त्यस्तै, सफारी टुरिजम प्रवर्द्धनका लागि महोत्सवमा सहभागी हुने पाहुनालाई हात्ती सफारी, जीप सफारी, डुंगा सफारी, पैदल वनयात्रा गराउनेसमेत संघले जनाएको छ । संघका अनुसार महोत्सवमा कुल ८० वटा हात्ती सहभागी हुनेछन् । ती हात्तीले महोत्सव अवधिमा शोभा यात्रा गर्नेछन् । 

पर्यटन प्रवर्द्धनका निम्ति हुन गइरहेको महोत्सवमा सहभागी हुन आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आयोजक संघ र रेवान सौराहामा आबद्ध सदस्यहरुको होटल, रेष्टुरेण्टमा खाना र आवसमा दश प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ ।

टिप्पणीहरू