ट्राफिक जरिवाना तिर्ने प्रक्रिया झण्झटिलो : सर्वसाधारण

ट्राफिक जरिवाना तिर्ने प्रक्रिया झण्झटिलो : सर्वसाधारण
सुन्नुहोस्

मुलुकमा सवारीको चाप बढेको बढ्यै छ । सडकमा सार्वजनिकभन्दा निजी सवारी साधनको चाप धेरै छ । बढ्दो सवारी साधनका कारण सडक साँघुरो हुन थालेको छ । कार्यालय समयमा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । ट्राफिक व्यवस्थापनका लागि जनशक्तिको अभाव छ । यसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रविधिमैत्री बन्ने कोसिश गरिरहेको जानकारी दिएको छ । 

तर, अवस्था यस्तो छ कि अधिकांश स्थानमा ट्राफिक लाइटसमेत छैन । ट्राफिक नियम पालना गराउन प्रहरीहरु प्रयास गरिरहेकै छन् । तरपनि ट्राफिक नियम मिच्ने क्रम जारी छ । ट्राफिक नियम उल्लंघनको घटना रोक्न ट्राफिक प्रहरीले जरिवाना तिराउँदै आएको छ । 

सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा १६४ मा यातायात निरीक्षक वा प्रहरीले सजाय गर्न सक्ने व्यवस्थाबारे उल्लेख छ । ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा, सवारी रोक्न निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएमा, सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेमा वा ध्वनी संकेत दिएमा, सडकमा गलत साइडतर्फबाट सवारी चलाएमा प्रहरीले जरिवाना गराउन सक्छन् । 

त्यस्तै, अवस्था ठीक नभएको सवारी चलाएमा, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा, मादक पदार्थ सेवन गरी सवारी गुडाएमा, अरुलाई बाधा पुग्नेगरी सार्वजनिक स्थानमा सवारी राखेमा, निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा, नम्बर प्लेट नराखेमा, निर्धारित वजनभन्दा बढी भारको सवारी चलाएमा, पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा कारबाही गरिने ऐनमा उल्लेख छ । 

निर्धारित दरभन्दा बढी भाडा लिएमा, लापरवाहीका साथ सवारी चलाएमा, रुट इजाजतपत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा र चालकले लाइसेन्स साथमा नराखेमा पनि कारबाही हुन्छ । यी कसूर गर्नेलाई पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक वा सोभन्दा बढी गर्नेलाई एक हजार पाँच सय रुपैयाँ जरिवाना गराउने व्यवस्था छ । 

प्रहरीले ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई चिट काटेर जरिवाना लिँदै आएको थियो । चिट काट्ने प्रवृत्तिले झण्झट व्यहोर्नुका साथै सडकमा ‘सेटिङ्ग’ भएको व्यापक गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयले बैंकमार्फत् जरिवाना रकम लिने व्यवस्था मिलाएको छ । त्यसअघि जरिवाना तिर्ने झण्झटिलो प्रक्रियाबाट जोगिन चालकहरुले घुस खुवाएर सडकमै कुरा मिलाउने गर्दथे । 

ट्राफिक प्रहरी कार्यालयले यसलाई मध्यनजर गर्दै २०७८ मंसिरदेखि ‘पे फाइन अन द स्पट–इन्स्ट्यान्ट पेमेण्ट सिस्टम’ कार्यान्वयनमा ल्याएको छ । त्यसअघि नै अनलाइन सेवामार्फत जरिवाना तिर्न सक्ने व्यवस्था भएपनि कागजपत्र फिर्ता लिन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो । 

सो व्यवस्थाअनुसार चालकले कारबाही परेकै स्थानमा अनलाइन जरिवाना तिरेर कागजपत्र फिर्ता लिन सक्छन् । त्यस्तै, विभिन्न डिजिटल एपमार्फत पनि जरिवाना तिर्न सकिनेछ । तर, व्यवस्थापकीय पक्ष राम्रो नहुँदा चालकहरुले अझै दुःख पाइरहेका छन् । 

सर्वसाधारणले उक्त व्यवस्था त्यति प्रभावकारी नभएको गुनासो गरिरहेका छन् । अनलाइन सिस्टम भनिए पनि बैंकमा लाइन बस्नुपर्ने झण्झट भने नहटेको सवारी चालकहरुको भनाई छ । 

सवारी चालक सुस्मिता देउलाले भनिन्, ‘स्मार्ट जरिवाना भनेपनि बैंकमा गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छैन । भन्नलाई ‘पे अन द स्पट’ भनिएको छ तर अहिलेसम्म कारबाहीस्थलबाट जरिवाना तिर्न पाएको छैन । ग्लोबल आईएमई बैंकमा गएर घण्टौं लाइन बस्नुपर्छ । फेरि आफ्नो बिलबुक र लाइसेन्स लिन ट्राफिक प्रहरी कार्यालय आउनुपर्छ । कम्ता झण्झट छैन ।’

त्यस्तै, अर्का एक सवारी चालकले डिजिटल प्लेटफर्ममार्फत् जरिवाना तिर्न अप्ठेरो भएको बताए । ‘यो धेरै झ्याउलो छ । देखाउनका लागि मात्र डिजिटल भनेजस्तो लाग्छ, मलाई त । सबै सेटिङ्ग नमिलेकाले होला, जरिवाना तिर्न अप्ठेरो छ । कतिपटक डिजिटल एपबाट जरिवाना तिर्न खोजेँ । नभएपछि बैंकमा जाने गरेको छु’, उनले भने । 

‘पे फाइन अन द स्पट’ कार्यान्वयनमा छैन : प्रवक्ता भट्ट

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ‘पे फाइन अन द स्पट’ को व्यवस्था नभएको बताए । ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकमा गएर भौचर भरेर जरिवाना तिर्न सकिन्छ । ट्राफिक प्रहरीले २४ घण्टे पूर्जी जारी गरिसकेपछि बैंकमा गएर फाराम भरेर वा डिजिटल एपमार्फत जरिवाना भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो ।

‘कारबाहीस्थलबाटै जरिवाना तिर्न सकिने व्यवस्था लागु भएको छैन् । प्रहरीले २४ घण्टे पूर्जी काटेपछि त्यो हाम्रो सिस्टममा गएर रेकर्ड हुन्छ । डिजिटल सिस्टमबाट पनि तिर्न सक्ने व्यवस्था गरेका छौं । ईसेवा, खल्तीबाट पनि चालकले जरिवाना तिर्न सक्नुहुन्छ । मोबाइल बैकिङ्गबाट तिर्ने हो भने सबै बैंकबाट हुन्छ । यसमा झण्झट हुने केही छैन’, उनले भने ।

टिप्पणीहरू