पार्टी संगठन बलियो बनाइन्छ- माधव नेपाल

पार्टी संगठन बलियो बनाइन्छ- माधव नेपाल
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी संगठन बलियो बनाउने अभियानमा कसैले अवरोध पुर्याउन नसक्ने बताउनुभएको छ । 

आज मकवानपुरको हेटौंडामा भएको सभामा उहाँले जनतालाई केन्द्रबिन्दुमा राखेर पार्टी विस्तार गर्न थालिएको र यो अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो । 

सभालाई सम्बोधन गर्दै उहाँले गत असोज १४ गतेदेखि थालिएको ‘समाजवादी जागरण अभियान,२०८०’ गाउँ गाउँमा पुर्याउन लागिपरेको जानकारी दिनुभयो । सबै जनसंगठन मिलेर काम गरेमा मुलुकको विकास हुने बताउँदै उहाँले कलम चिन्हमा मतदान गरेर मुलुकका लागि योगदान गर्न पनि आह्वान गर्नुभएको छ । 

मेचीदेखि महाकालीसम्म थालिएको अभियान हाल मकवानपुर र चितवनको सीमा मनोहरा आइपुगेको छ । त्यहाँ भव्य सभाको आयोजना गरिएको छ । सभामा पार्टी अध्यक्ष नेपाल,वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुको उपस्थिति रहेको छ । 

मनोहराको कार्यक्रम सकाएर भण्डारामा सभा गरिने पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार टोलीमा झण्डै तीन सय जना नेता–कार्यकर्ता सामेल छन् । 

‘हेटौंडामा कार्यक्रम सकाएर अहिले मनोहरा आइपुगेका छौं । त्यसपछि भण्डारामा कार्यक्रम गर्छौं । आज राति बासचाँहि सौराहामा हुन्छ । एक दिनमा चारदेखि पाँच ठाउँमा कार्यक्रम गरिराखेका छौं । पार्टी अध्यक्ष,वरिष्ठ नेतालगायत सबै जना टोलीमा हुनुहुन्छ । स्वयंसेवक,कलाकार, स्वास्थ्यकर्मीको टोली पनि सँगै छ’, उहाँले भन्नुभयो । 

हालसम्म चार हजार ६०० सय जनाले आफू जोडिएको पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू