विद्यार्थी संगठनहरुद्वारा त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक

विद्यार्थी संगठनहरुद्वारा त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक

नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेको छ । मनोमानी ढंगले विज्ञापन गरेको विरोधमा युनियनले आज आयोगमा ताला लगाएको बताएको छ । 

आदिबासी, जनजाति, महिला, मधेशी, दलित र पिछडिएको वर्गलगायतको पूर्ण समावेशिताको मूल मर्मलाई लत्याएर आयोगका अध्यक्ष प्रा.डा घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकालले विज्ञापन गरेको युनियनको आरोप छ । त्रिविका उपप्राध्यापकले उनीहरुलाई कारबाही गर्नुको साटो उल्टो प्रश्रय दिएको भन्दै युनियनले आपत्तिसमेत जनाएको छ । 

‘विश्वविद्यालयको शैक्षिक क्यालेण्डरअनुसार विज्ञापन नगरी आफ्नो मनोमानी ढंगबाट अगाडि बढेको त्रिवि सेवा आयोगले विज्ञापन गर्दा यो देशमा बसोबास गर्ने आदिवासी, जनजाति, महिला, मधेशी, दलित, पिछडिएको वर्गलगायतको पूर्ण रुपमा समावेशिताको मूल मर्मलाई ध्यान नदिएको उपप्राध्यापकजस्तो पदमा आसिन व्यक्तिबाट भएको किर्ते कार्यलाई प्रश्रय दिएको’, आज जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, युनियनले प्रा.डा. पारसनाथ यादवको नेतृत्वमा गठन गरिएको समावेशी आयोगको प्रतिवेदनअनुसार काम नगरिएकोमा असन्तुष्टिसमेत पोखेको छ । यता, नेविसंघले आयोग अध्यक्ष भट्टराई र सदस्य ढकाललाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । भोलि बिहान ९ बजेदेखि अवैध किर्ते कार्य नरोकिएसम्म उनीहरुलाई प्रवेश निषेध गरिएको नेविसंघ त्रिवि समितिले जनाएको छ ।

टिप्पणीहरू