अष्ट्रेलियन सभामुख पोखरा पुगेर भारत प्रस्थान
अष्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आएका छन् । त्यहाँको प्रतिनिधि सभाका सभामुख मिल्टन डिक हिजो दिउँसो सिंगापुर हुँदै काठमाडौं आइपुगेका हुन् । सिंगापुर एअरलाइन्सको उडानमा आइपुग्नुअघि हिजो बिहान नेपालका लागि अष्ट्रेलियन राजदूत र मिसन उपप्रमुखले सुरक्षा र प्रबन्धबारे उनीसङ्ग छलफल गरेका थिए ।
नेपाली समकक्षी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग आज बिहान साढे १० बजे संसद सचिवालयस्थित उहाँको कार्यकक्षमा भेटघाट गर्ने कार्यक्रम छ । लगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि उनले भेटवार्ता गर्ने बताइएको छ । मध्यान्ह सवा १२ बजेदेखि साढे १ बजेसम्म सभामुख घिमिरेले अष्ट्रेलियन प्रतिनिधिमण्डलको सम्मानमा सोल्टी होटलमा दिवा भोज आयोजना गर्दै हुनुहुन्छ ।
राजधानीका दरबार स्क्वायरहरुको भ्रमणका साथै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुको पनि भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार बिहान साढे ७ बजे पोखरा जाने र साँँझ ५ बजे काठमाडौं फर्कने बताइन्छ ।
शुक्रबार इसिमोड कार्यालय पुग्ने,पाटन दरबार स्क्वायर क्षेत्रको भ्रमण गर्ने अष्ट्रेलियन सभामुखलाई अष्ट्रेलियामा अध्ययन गरेर फर्केकाहरुको संस्थाले नेपाली घरमा डिनरको व्यवस्था गरेको छ । आगामी शनिबार बिहान ८ बजे नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ मा नयाँ दिल्ली जाने कार्यक्रम छ ।
टिप्पणीहरू