दशैंको अग्रिम टिकट बुकिङ खुलाउनेबारे अन्योल कायम

दशैंको अग्रिम टिकट बुकिङ खुलाउनेबारे अन्योल कायम

नेपालीहरुको महान् चाड बडा दशैं नजिकिएको छ । वर्ष दिनमा एक पटक आउने चाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा बसोबास गर्नेहरु आफ्नो थातथलो जानका लागि सवारीसाधन नपाइने चिन्ताले पिरोलिन थालेका छन् । 

दशैंलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म सुरु नभएपछि उनीहरुको चिन्ता थपिएको हो । दशैं आउन तीन साता बाँकी हुँदा पनि अग्रिम टिकट खुलाउने सम्बन्धमा अन्योल कायम छ । 

अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा एक महिनाअगावै अग्रिम बुकिङ खोल्ने गरेकोमा यो वर्ष घटस्थापना तीन साता मात्र बाँकी हुँदा समेत तयारी थालिएको छैन । 

वर्षेनी दशैं मान्न २० देखि २५ लाखको हाराहारीमा सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने गरेको विगतका तथ्याङ्कले देखाउँछ । तर, दशैंको समयमा सर्वसाधारणलाई घर जान र आउनकै सास्ती हुनु कुनै नौलो कुरा भने होइन । 

यही मौका छोपेर टिकट काउण्टरमा बिचौलियाको बिगबिगी, टिकट नपाउँदा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता र सानो मुढा वा टुलमा बसेर, झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता सँधैको हो । 
जहिल्यै दशैंको समयमा आम नागरिकलाई घर जान हतार भइरहँदा यातायात व्यवसायीहरु सरकारसमक्ष विभिन्न माग राख्छन् । आफ्ना माग पूरा नभएसम्म अग्रिम बुकिङ नखोल्ने व्यवसायीहरुको अडान हुन्छ । यसवर्ष पनि विभिन्न बहानामा समयमै टिकट नखुल्ने चिन्ता यात्रुमा देखिएको छ । 

दशैंको अग्रिम टिकट बुकिङ खुलाउनुअघि नै यातायात व्यवसायीहरुले धेरै वटा माग अघि सारेका छन् । भाडावृद्धि नहुँदासम्म अग्रिम बुकिङ नखोल्ने उनीहरुको अडान छ । यसबाट यात्रुमा दशैंमा टिकट नपाएर घर जान नपाउने चिन्ता थपिएको बताइन्छ । 

कालिकोट घर भई हाल भक्तपुरको सूर्यविनायक बस्दै आएका निकेश ठकुरी सरकारले चाडपर्व लक्षित अग्रिम बुकिङ हालसम्म नखोल्दा घर जान नपाइने चिन्ता बढेको बताउँछन् । 

उनले भने, ‘यसअघि यो बेलासम्म बुकिङ खुलिसक्थ्यो, यो वर्ष खुलेको छैन । पोहोर पनि गाडी नपाएर घर जान पाइएन । यसपाला पनि टिकट नपाइने हो कि भन्ने चिन्ता बढेको छ ।’

दशैंमा भाडावृद्धि गर्न व्यवसायीहरुले सरकारलाई अग्रिम बुकिङ खोल्न नदिएको यातायात क्षेत्रका अभियन्ता रामबहादुर थापाको आरोप छ ।  

उनले भने, ‘दशैं आउन केही समय मात्र बाँकी छ । तर, यातायात व्यवसायीहरुले सरकारलाई अग्रिम बुकिङ खोल्न दिइरहेका छैनन् । भाडावृद्धि गर्नुपर्ने उनीहरुको माग छ । यस पटक सरकारले व्यवसायीको अगाडि घुँडा टेक्नुहुन्न । दशैंको मुखमा जनता मारमा पर्ने गरी भाडावृद्धि गर्नुहुन्न । तत्काल अग्रिम बुकिङ खोल्नुपर्छ ।’
थापाले थपे, ‘सरकारले अहिले नै अग्रिम बुकिङ खोलिदिए दशैं मान्न गाउँघर जान चाहनेहरुले सहजै टिकट पाउँछन् । काउण्टरमा पनि त्यति भीडभाड हुँदैन । यात्रुहरु झुण्डिएर, कोचिएर घर जानुपर्दैन ।’

व्यवसायीहरुको दबाबका कारण अग्रिम बुकिङ नखोली दशैंको मुखमा टिकट खोल्दा यात्रुहरु दोब्बर–तेब्बर भाडा तिरेर समेत झुण्डिएर, कोचिएर घर जान बाध्य हुने गरेको उनी सुनाउँछन् । 

काठमाडौं उपत्यका बाहिरका अधिकांश जिल्लाका मानिस दशैं मनाउन आफ्नो जन्मथलो जाने गरेका छन् । तर, समयमै अग्रिम बुकिङ नखोल्दा तथा सार्वजनिक यातायातको अभावका कारण क्षमताभन्दा बढी यात्रु बोक्दा दशैंमा ठूला सवारी दुर्घटना हुने गरेको उनले बताए । 

‘दशैंको समयमा धेरै यात्रु आवतजावत गर्छन् । यस्तो अवस्थामा सरकार र यातायात व्यवसायी यात्रुको सुरक्षामा गम्भिर हुनुपर्छ,’ उनले भने, ‘सरकारले यात्रुलाई कसरी सुरक्षितसाथ गन्तव्यसम्म पुर्याउने भनेर अहिलेदेखि नै तयारी थाल्न जरुरी छ ।’

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दशैं तिहारका लागि लक्षित अग्रिम टिकट बुकिङ खुलाउनेबारे अझैं टुंगो लगाउन नसकिएको बताउँछन् । 

उनका अनुसार गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको थियो । तर, बैठकले अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्न सकेन । मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात व्यवसायी सम्मिलित उक्त बैठकमा व्यवसायीले सडक मर्मत र भाडा समायोजनमा जोड दिएका थिए ।

पनेरुले दशैं लक्षित मर्मत सम्भारको काम भने सुरु भइसकेको जानकारी दिए । उनले भने, ‘भौतिक मन्त्रालयले मुलुकभरका सडक मर्मत सम्भार गर्न निर्देशन दिइसकेको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थाका सडक समेत दशैं लक्षित मर्मत हुँदैछन् ।’ अग्रिम बुकिङ खुलाउने सम्बन्धमा सरोकारवालासँग अर्को बैठक बसेर निष्कर्ष निकाल्ने उनको भनाई छ ।

टिप्पणीहरू