सुधार गृह कि बिगार गृह ?

सुधार गृह कि बिगार गृह ?

कानुनविपरीतका क्रियाकलापमा संलग्न बालबालिकाको आचरण सुधार्न स्थापना गरिएको ‘बाल सुधार गृह’ बालबालिका बिगार्ने अखडा बन्दै गएको छ । कसूरजन्य कार्य गरेका बालबालिकालाई सुधार्दै सामान्य जीवनमा फर्काउने उद्देश्यले सञ्चालनमा ल्याइएका ‘बाल सुधार गृह’ पछिल्लो समय तनावग्रस्त बन्न थालेको छ ।  

विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई ‘बाल सुधार गृह’ मा राख्ने गरिएको छ । तर, सुधार गृहको अवस्था राम्रो नहुँदा त्यहाँ रहेका बालबालिका आक्रान्त बन्दै गएका छन् । गत भदौ ४ गते भक्तपुरको सानोठिमीमा भएको घटनाले नै सुधार गृहको पछिल्लो अवस्था पुष्टि गर्छ । त्यतिबेला सुधार गृहबाट दुई सय बढी बालबालिका भागेका थिए । 

गृहमा रहेका रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय कमल बस्नेतको भदौ ३ गते मृत्यु भएपछि त्यहाँ तनाव शुरु भएको थियो । बलात्कार अभियोगमा दोषी ठहर भएका कमल तीन वर्षदेखि सुधार गृहमा थिए । भदौ २ गते राति बेहोस भएका उनलाई भोलिपल्ट बिहान उपचारार्थ गठ्ठाघरस्थित नागरिक अस्पताल पुर्याइएको थियो । 

तर, अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि कमलका आफन्तले सुधार गृह परिसरमा प्रदर्शन गरे । सुधार गृहको लापरवाहीका कारण छोराको मृत्यु भएको आरोप लगाउँदै आफन्तले लफडा गरेका थिए ।

सोही मौका छोपेर निर्माणाधीन भवनबाट घरेलु हतियार र लाठी लिएर बालबालिका सडकमा निस्किँदा अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गरेको थियो । सुधार गृहबाट भागेका कैदीबन्दीले सडकमा बितण्डा मच्चाए । फलामको रड, ढुङ्गा, लाठी बोकेर हिँडेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मेहम्मे पर्यो । 

त्यहाँबाट भागेका १८ जनालाई स्थानान्तरण गरेर वीरगञ्ज पठाइयो । उनीहरुले वीरगञ्ज पुग्नेबित्तिकै उच्छृंखल क्रियाकलाप थाले । भक्तपुरबाट वीरगञ्जको बिर्तास्थित बाल सुधार गृह लगिएका ती बन्दीले त्यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । त्यही विषयलाई लिएर भदौ २६ गते राति झडप भएको हो । 

उनीहरुले त्यहाँका नाइके र सह–नाइकेलाई कुटपिट गरेपछि सुधार गृह आतंकित बन्यो । सो क्रममा ११ जना बालक घाइते भएका थिए । त्यस्तै, उनीहरुले प्रहार गरेको ढुंगा लागेर तीन जना प्रहरीसमेत घाइते भए । 

दुईटा बाल सुधार गृहमा भएको घटना सेलाउन नपाउँदै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयन्दु बाल सुधार गृहमा भिडन्त भएको छ । झडपमा परेर एक जना कैदीबन्दीको ज्यान गएको छ । मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी हुन्् । उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका थिए । 

सुधार गृहभित्र राखिएका कैदीबन्दीको दुई पक्षबीच झडप हुँदा १० जना घाइते भए । दुई सय ५५ जना राखिएको सुधार गृहमा तोडफोड र आगजनीसमेत भयो । सुधार गृह तोडफोड गरेर त्यहाँका केही बन्दी भागेका थिए । उनीहरुलाई प्रहरीलाई छतबाट ढुंगा, इँट्टा प्रहार गरेको बताइन्छ ।

 

किन तनावग्रस्त बन्दै छ बाल सुधार गृह ? 

पछिल्लो एक महिनाको अवधिमा तीन वटा बाल सुधार गृहमा बितण्डा मच्चिएको छ । भक्तपुरबाट सल्किएको आगो तीन वटा सुधार गृहमा फैलिसकेको छ । हाल भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देही गरी आठ वटा जिल्लामा त्यस्ता सुधार गृह छन् । 

जबरजस्ती करणी, लागुऔषध, चोरीलगायत जघन्य अपराधमा संलग्न बालबालिकाहरु सुधार गृहमा छन् । अपराधमा संलग्न भएका कच्चा उमेरका बालबालिकालाई सही बाटोमा लगाउन बनाइएको सुधार गृहलाई यातना गृह भन्न थालिएको छ । 

सुधार गृहभित्रका बालबालिकालाई शिक्षा, खेलकुद, योग, ध्यान व्यायामसँगै जीवनोपयोगी सीप तथा तालिमको व्यवस्था गरिएको हुनुपर्छ । तर, सुधार गृहमा राखिएका बालबालिकाले परामर्श नै पाउन नसकेको अवस्था छ । सुधार गृहमा क्षमताभन्दा तेब्बर बन्दी राखिएको छ । 

ती गृहमा रहेका बालबालिका न्यूनतम सेवासुविधाबाट बञ्चित छन् । खानपान, स्वास्थ्य, शौचालय, सरसफाइको राम्रो व्यवस्थापन नभएको गुनासो उनीहरुले विगतदेखि गर्दै आएका थिए । त्यस्तै, १८ वर्ष कटेकालाई पनि सुधार गृहमै राखिएको अवस्था छ । पुर्पक्षका लागि सुधार गृहमा पठाइएका बन्दीहरुको मुद्दा वर्षौंदेखि फैसला हुन नसकेको सरकारी अधिकारीहरुको भनाई छ । 

सुधारका लागि ती गृहमा राखिएका बन्दी झन् उग्र बन्दै गएका छन् । उनीहरुलाई राम्रो नसिकाईंदा सुधार गृह ‘बिगार गृह’ बन्दै गएको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २५ मा बाल अदालतले कसूरजन्य कार्यको अभियोग लागेका बालबालिकालाई कारण खुलाई पुर्पक्षको निम्ति बाल सुधार गृहमा राख्न सकिने उल्लेख छ । 

उक्त दफाको उपदफा (क) मा भनिएको छ, ‘बालबालिकाको जीउज्यान जोखिममा पर्ने, निजद्धारा कसैलाई हानीनोक्सानी पुर्याउने, त्यस्तो बालबालिका भागि जाने वा अन्य कुनै कारणले अन्यत्र राख्न उपयुक्त नहुने पर्याप्त आधार भएमा ।’

त्यस्तै, उपदफा (ख) मा तीन वर्ष वा सोभन्दा बढी कैद सजाय गर्नुपर्ने कार्यको अभियोग लागेका बालबालिका तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा उनीहरुलाई पुर्पक्षमा पठाउन सकिने व्यवस्था छ । 

तर, पुर्पक्षमा पठाएको वर्षौं बित्दासमेत फैसला नभएपछि सुधार गृह भरिँदै गएको छ । कारागार पठाइनुपर्ने बन्दीसमेत सुधार गृहमै छन् । भक्तपुर सुधार गृहमा भएको घटनापछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनुसन्धान गरेको थियो । 

विभिन्न संघसंस्थाको प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीद्वारा प्रकाशित प्रतिवेदनमा युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण एक बालकको मृत्यु भएको र अन्य बालबालिका भागेको उल्लेख छ । इन्सेकले सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्न नहुने, १८ वर्ष बढी उमेर पुगेकालाई बालबालिकासँग राख्न नहुने, बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिन आवश्यक रहेको औल्याएको छ ।

बाल सुधार गृह सञ्चालनका लागि सरकारले न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) लाई अनुदान दिँदै आएको छ । तर, सुधार गृहको अवस्थाले युसेपको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ । 

जिल्ला प्रशासन कार्यालय, भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाल सुधार गृह व्यवस्थापनका सुझावसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिए । तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा लागु गर्नुपर्ने सुझावसहितको प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बुझाएको उनले बताए । 

जसअनुसार सुधार गृहमा १८ वर्षमाथिका बालबालिका नराख्ने, बालबालिका ऐन संशोधन गर्नुपर्ने, स्वास्थ्यकर्मीसहितको टीम राख्नुपर्ने, खानेपानी, खानाको उचित व्यवस्थापन गर्नुपर्नेलगायत सुझाव दिइएको छ । सुधार गृहमा १२० जनाको क्षमता भएपनि झण्डै तीन सय जना राखिँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । 

‘सुधार गृह सरकारकै मातहत ल्याउनुपर्छ नत्र यो समस्या बल्झिरहन्छ । १८ वर्ष माथिका बन्दीलाई त्यहाँ राख्न दिन नहुने, खानपानको राम्रो व्यवस्थापन गर्नुपर्ने, सुधार गृहमै स्वास्थ्यकर्मी राख्नुपर्नेलगायत हाम्रा सुझाव छन्’, उनले भने । एक जना बन्दी अझैपनि बेपत्ता रहेको बताइन्छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता इन्दु घिमिरेले सुधार गृहमा देखिएको समस्या समाधानको निम्ति काम भइरहेको बताइन् । मन्त्रालयले विभिन्न निकायसँग मिलेर सो विषयमा छलफल गरिरहेको उनले जानकारी दिइन् । विभिन्न सुधार गृहमा रहेका १८ वर्षमाथिका बन्दीलाई नेपालगञ्जस्थित कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको बुझिएको छ ।  

‘नघट्नुपर्ने घटना भयो । के कारणले भयो सबैलाई थाहा नै छ । अब यसमा सरोकारवाला निकायको मात्रै गल्ती छ भन्न पनि मिल्दैन । राख्ने ठाउँ छैन, बन्दी बढेका बढ्यै छन् । हाम्रो ऐन कानुनमै समस्या छ । अब १८ वर्षमाथिका बन्दीलाई हामी स्थानान्तरण गर्छौं । बालबालिकाहरु त्यहाँ चुपचाप बसेका छन् । सुधार गृहमा रहेका समस्या पनि हामी हेर्छौं’, उनले
 

टिप्पणीहरू