गोर्खा सैनिकको पक्षमा प्रधानमन्त्री लडिरहने

गोर्खा सैनिकको पक्षमा प्रधानमन्त्री लडिरहने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूतपूर्व गोर्खा सैनिकहरूको हित र समान अधिकार रक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ । 

भूतपूर्व गोरखा सैनिकहरूको ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ब्रिटिस सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलब, सेवा सुविधा, पेन्सनलगायत विषयमा रहेको विभेद हटाउन आफूले कूटनीतिक माध्यमबाट पहल लिने प्रतिबद्धता जनाउनुभएको छ ।  

त्यसक्रममा प्रधानमन्त्रीले यो सवाल अब ‘गेसो’को मात्र नभएर सिंगो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको पनि उल्लेख गर्नुभयो । गोर्खा सैनिकहरुको समस्या अन्तराष्ट्रियस्तरको भएकाले तदनुरूप नै समाधानको प्रयास गरिनेसमेत उहाँको भनाई छ ।

 

‘भूतपूर्व गोरखा सैनिकहरूको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवम् बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो । विश्वभरिका नेपालीहरूको हकहितका निम्ति राज्यले यस्ता मुद्दाहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्छ र त्यसमार्फत् सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु’, उहाँले अगाडि भन्नुभयो, ‘चाहे खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारहरूको सवाल होस्, चाहे भूतपूर्व गोर्खालगायत विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको कुरा होस्, यसबारे हामीले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्दछ ।’

टिप्पणीहरू