कांग्रेस रुपन्देहीमा बबाल,  चार सय युवाले घेरिए खाँण !

कांग्रेस रुपन्देहीमा बबाल,  चार सय युवाले घेरिए खाँण !
सुन्नुहोस्

नेपाली कांग्रेस रुपन्देहीमा आन्तरिक कलहले चर्किंदै जाँदा दुई पक्ष आमनेसामने भएका छन् ।

मंगलबार पूर्वमन्त्री समेत रहेका भरत कुमार शाहले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही-५ मा आयोजित एक कार्यक्रममा प्रदेशका पूर्वसांसद फकरुद्धिन खानलाई तथानाम भनेपछि झन्डै हात हालाहालकाे स्थिति सृजना भएकाे हाे । मन्चमै रहेका पूर्व प्रदेशसांसद तथा पार्टीका नेता फकरुद्धिन खानको नामै लिएर शाहले आफूलाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाएपछि लामो समयदेखिको दुई पक्षीय विवाद भौतिक आक्रमणको तहमा सार्वजनिक भएको बताइन्छ । 

संसदकाे लेखा समिति सभापतिसमेत भैसकेका शाह गत निर्वाचनमा एमालेका सांसद बासुदेव घिमिरेसँग प्रतिनिधिसभामा पराजित भएका थिए । मंगलबार बिना प्रसंग उनले आफूलाई चुनाव हराउन फकरुदिनहरुले भूमिका खेलेकाे आरोप लगाएपछि सँगै मन्चमा बसेका खान जंगिने नै भए । त्यसपछि दुई पक्षबीच शक्ति प्रदर्शनको होडवाजी नै चल्यो । 

नेता शाहले जिल्ला सभापति रामकृष्ण खाँणलाई फाेन गरेर तरुण दलका युवाहरु पठाईदिन माग गरे । लगत्तै सभापति रामकृष्ण ४०/४५ जना युवाहरुकाे जत्था लिएर 'फकरुद्धिनलाई ठिक पार्ने' भन्दै बुटवलबाट लुम्बिनी हानिएकाे खबर फैलियाे । आफ्नै पार्टीका नेतालाई तह लगाउ  युवाहरुकाे जत्था लिएर लुम्बिनी पुगेका उनलाई काउन्टर दिन तत्कालै फकरुद्धिनले पनि आफू निकटका युवाहरुलाई म्यासेज गरे । केहीबेरमै २/३ सय कांग्रेसी युवाहरु कार्यक्रम भएको क्षेत्र वरपर जम्मा भए । 

तर, एकैपटक २/३ सय युवाहरु जुटेपछि रामकृष्ण निरीह बनेर फकरुद्धिनसँग माफि माग्दै लुम्बिनीबाट बुटवल फर्किएपछि सम्भावित झडप टरेको बताइन्छ । फकरुदधिन लुम्बिनीकै स्थानिय हुन् । याे घटना सामसुम पार्ने काेशिस भएता पनि सामाजिक सञ्जालमा छरप्रष्ट भैसकेको छ । 

बालकृष्ण खाँणका सहाेदर भाइ रामकृष्णहरुकाे दबदबा यतिबेला रुपन्देहीमा घट्दै गएकाे छ । बालकृष्ण नक्कली भूटानी शरणार्थी प्रकरणमा जेल गएपछि उनकाे टिम जिल्लामा क्रमश: कमजाेर हुँदै गएकाे हाे । कुनैबेला खाँणकाे विपक्षमा रुपन्देहीमा एक शब्द पनि बोल्न नसक्ने कार्यकर्ता यतिबेला रामकृष्ण र पूर्वमन्त्री शाहकाे विरुद्धमा खुलेरै बोल्न थालेका छन् । ४० जना युवा लिएर पुगेका सभापति रामकृष्णविरुद्ध ३ सय युवा छिनभरमै उतारेर फकरुद्धिनले दिएकाे जवाफले पनि रुपन्देहीमा खाँणकाे दबदबा घट्दै गएकाे पुष्टि हुन्छ ।

बालकृष्णमाथि शाहसँग मिलेर पार्टीमा एकलौटी गरेको आरोप विगतदेखि नै लाग्दै आएको छ । जिल्ला समिति गठन गर्दा अरुलाई थाहै नदिई घरायसी भागबन्डा गरेर दुइ भाइले पार्टी कब्जा गरेको असन्तुष्टहरु अहिले बल्ल बताउन थालेका छन् । बालकृष्णले आफ्ना भाइ रामकृष्णलाई जिल्ला सभापति र शाहले श्रीमती अनिता शाहलाई उपसभापति बनाएका थिए । पछि बालकृष्णकै जाेडबलमा रामकृष्ण तिलाेतमाकाे मेयरकाे टिकट पाएर चुनाव पनि जिते । शाहकाे जाेडबलमा श्रीमती अनिताले राष्ट्रिय याेजना आयोगको सदस्य हात पारिन् ।

खाँण-शाहको हर्कतले स्थानिय कार्यकर्ताले भित्र-भित्रै असन्तुष्ट रहेपनि उनीहरुले खुलेर बिराेध गर्न सकेका थिएन । तर, मंगलबार फकरुद्धिनले सार्वजनिक कार्यक्रममै बिराेध गरेर पार्टीमा कसैको एकलौटी स्वीकार नगर्ने चुनौती मात्र दिएनन्, रामकृष्णविरुद्ध सयौंको संख्यामा युवा उतारेरे काउन्टरसमेत दिए  ।


 

टिप्पणीहरू