स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीको टिप्पणी - हत्त न पत्त राजीनामा मागेर गलत ‘कल्चर’ बसाउन खोजिँदैछ

स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीको टिप्पणी - हत्त न पत्त राजीनामा मागेर गलत ‘कल्चर’ बसाउन खोजिँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टिकरणको मौका नै नदिई राजीनामा माग्ने गलत राजनीतिक ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । 

साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको सन्दर्भलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौकासमेत नदिएर राजीनामा माग्ने कुराले गलत ‘कल्चर’ स्थापित हुने बताउनुभयो । 

‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन ।’ 

विभागीय मन्त्रीको संरक्षणविना विमानस्थलबाट ठूलो परिणाममा सुन आयात हुन नसक्ने भन्दै एमालेले अर्थमन्त्री डा. प्रकाशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सदन अवरुद्ध गरेको छ । केही साताअघि एमालेले विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डको पनि राजीनामा मागेर सदनमा अवरोध गरेको थियो ।

टिप्पणीहरू