राप्रपाको नेता हुन राजसंस्था, हिन्दुराष्ट्र र संघीयतामा दखल हुनैपर्ने

राप्रपाको नेता हुन राजसंस्था, हिन्दुराष्ट्र र संघीयतामा दखल हुनैपर्ने

राजसंस्था र हिन्दुराष्ट्र फर्काउने रणनीतिक लक्ष्य लिएको पूर्वपञ्चहरुको पार्टी राप्रपाले कार्य दक्षताका आधारमा नेता हुने पद्धती स्थापित गर्न नयाँ अभियान शुरु गर्ने भएको छ । 

‘राप्रपाः अब नवीन राप्रपा कार्ययोजना २०८०’ अन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुतिसहित ‘घरदैलोमा राप्रपा अभियान’ मार्फत् पार्टीले सक्रियताका आधारमा नेता बन्ने व्यवस्था गर्न लागेको हो । त्यसका लागि केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरु समेत गरेर करिब नौ सय नेतालाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गर्ने राप्रपाले जनाएको छ ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति र पदाधिकारीहरुको बैठकले तयार पारेको कार्ययोजना सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सो क्रममा उनले एक महिनाभित्र पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने घोषणासमेत गरे । 

त्यसैगरी, आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राथमिक छनौट प्रक्रिया अपनाउने, सरकारी वेतनधारीहरुको भ्रातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गर्नेसमेत राप्रपाको निर्णय छ । विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्न सक्ने व्यवस्था मिलाउनुको साथै एक वर्षभित्र सक्रिय सदस्यको संख्या दुई लाख पुर्याउने उसको लक्ष्य छ ।

छ महिनाभित्र १६५ निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्नेलगायतका योजना बनाएको बताइएको छ । त्यस्तै, राजसंस्था, हिन्दुराष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्याउनका लागि विभिन्न कार्यक्रम गर्ने ‘राप्रपाः अब नवीन राप्रपा कार्ययोजना २०८०’ मा उल्लेख छ ।

टिप्पणीहरू