कोशी सरकार ढलेसँगै प्रदेश सत्तामा एमालेको ‘मैझारो’

कोशी सरकार ढलेसँगै प्रदेश सत्तामा एमालेको ‘मैझारो’

मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै कोशी सरकार ढलेको छ । मुख्यमन्त्रीले सदनको विश्वास गुमाएसँगै एमाले नेतृत्वको सरकार ढलेको हो ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४६ मत खसेको छ । कोशीमा सरकारको विश्वास कायम रहन न्यूनतम ४७ मत आवश्यक हुन्छ । योसँगै एमाले अब सबै प्रदेशमा प्रतिपक्षी बन्न पुगेको छ । 

गत निर्वाचनपछि माओवादी केन्द्रसँग गठबन्धन गरेर संघ र छ वटा प्रदेशमा सत्तारुढ बनेको एमालेले चारवटा प्रदेशमा सरकारको नेतृत्व लिएको थियो । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको एमाले बागमती र कर्णालीमा महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सामेल भएको थियो । 

तर, गत माघ अन्तिम साता भएको राष्ट्रपति निर्वाचनपछि एमाले–माओवादी गठबन्धन भत्किएर पुरानै पाँचदलीय गठबन्धन ब्युँतिएपछि एमालेको सत्ता बहिर्गमनको क्रम शुरु भएको हो । राष्ट्रपति निर्वाचनलगत्तै संघीय सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपनि प्रदेश सरकार भने कायमै थियो । तर, संघमा सत्ता समीकरण बदलिएसँगै त्यसको प्रभावले प्रदेशमा पनि एमाले क्रमशः सत्ताच्यूत भएको हो । 

यसअघि लुम्बिनी प्रदेशसभामा पनि विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री रहेका संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार गएपछि त्यहाँ अहिले काँग्रेस–माओवादीको गठबन्धन सरकार छ । त्यसअघि गण्डकीमा पनि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसक्दा सरकार ढलेको थियो । 

सरकार बनेको एक महिनामै सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा पनि एमाले सरकार त्यसैगरी ढलेको थियो । त्यहाँ एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री थिए । अहिले त्यहाँ पनि काँग्रेस–माओवादी गठबन्धनले सरकार चलाइरहेको छ ।

टिप्पणीहरू