सरकारी ढुकुटी लुट्ने उही सूत्र

सरकारी ढुकुटी लुट्ने उही सूत्र

पटक–पटक सहकारी लुटेर पक्राउ परी जेल गएका व्यक्तिहरू पुनः सक्रिय भएका छन् । १५ दिनको अवधिमा एउटै समूहले उही विधि र प्रक्रियाबाट सहकारीमा जम्मा भएको ढुकुटीको रकम चोरेको छ । गार्डलाई नियन्त्रणमा लिएर डाँकासहित चोरी गर्ने समूह पनौतीको घटनापछि फन्दामा परेको छ । 

ती सबै एउटै परिवारबाट । मकवानपुर जिल्ला साविक फाखेल गाविस–५ हाल इन्द्रसरोवर गाउँपालिका– ५ स्थित कोदोखोरिया टोल बस्ने २८ वर्षीय गम्बिर भन्ने सोमलाल थिङ, फाखेल गाविस–७ हाल इन्द्रसरोवर ५ मधुवन टोल बस्ने ३७ वर्षीय अगवर लामा, इन्द्रसरोवर–५ मधुवन बस्ने ३० वर्षीय अशोक रुम्बा र कोदोखोरिया टोल बस्ने २४ वर्षीय अमृत थिङ पक्राउ परेका छन् । सोही ठेगानाका ४४ वर्षीय कृष्ण रुम्बा भन्ने कृष्णराज लामा र ३२ वर्षीय सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामा भने फरार छन् । एउटै टोलका नाताले आफँन्तसमेत पर्ने समूहबाट उक्त घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ज्वाइँ, ससुरा र दाजुभाइको समूह मिलेर नेपालको इलाम, धादिङ, सिन्धुपाल्चोक र काभ्रेलगायत स्थानका सहकारीमा धेरै पैसा हुने स्थानको केही महिनाअघि नै निरीक्षण गरी चोरी गर्ने गरेको पाइएको छ । 

पक्राउ परेकाहरूमध्ये दुई जना २०७६ सालमा सहकारी फुटाई २०७६ असोज १ गते दाइ सोमलाल थिङसमेत ललितपुरबाट चोरी तथा डाँका मुद्दामा पक्राउ परी ४ वर्ष २ दिन नख्खु जेलमा बसेका थिए । त्यो घटनामा जेल बसेर निस्कँदा पनि थप केही अवसर नपाएपछि पुनः समूह बनाएर चोरीमा संलग्न भएको उनीहरूले बताएका छन् । अमृत थिङलाई जिल्ला कारागार कार्यालय काभ्रेले अदालतको अनुमतिमा इलाम पठाएको छ । सहकारीले उपलब्ध गराएको सिसी क्यामेराको रेकर्डेड हार्डडिक्स र अन्य माध्यमबाट चोरीमा संलग्नलाई पक्राउ गर्न सकिएको हो । इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरेको थियो । 

पनौती नगरपालिका–४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा ०८० साल बैशाख १८ गते लेनदेन कारोबार भएबमोजिम जम्मा हुन आएको सदस्यहरूको रकम ३१ लाख ४९ हजार ५ सय २६ रूपैयाँ नगद कक्षमा संस्थाकै भवनभित्र रहेको भल्ट रुमको सेफभित्र राखिएको थियो । दिउँसो २ः३० बजे सेफमा लक लगाई काउण्टरमै राखिएको उक्त रकम र भल्ट रुमको चेन गेट, खापा गेट र काउण्टरको गेट बन्द गरिएको थियो । कार्यालयमा गार्ड बिनय तिमल्सिनाले सुरक्षा दिइरहेको अवस्थामा अपरिचित ५ जनाको समूह अचानक २०८० वैशाख १९ गते बिहान अन्दाजी १ः२० बजे चोरी तथा डाँका गर्ने उद्देश्यसाथ प्रवेश गरेका थिए । खुकुरी, ग्यास गनसमेतका औजार साथमा लिई ती भित्र पसेका थिए ।

सुरक्षा गार्ड चिच्याई गुहार मागिरहँदा सोही भवनसँगैका स्थानीयले थाहा पाएका थिए । प्रहरीले अमृत थिङलाई जेठ १ गते राति १ बजे काठमाडाैँ चन्द्रागिरिस्थित सतुंगलबाट, गम्बिर भन्ने सोमलाल थिङलाई पनि स्याङ्जाली चोकबाट, अशोक रुम्बालाई बिहान ४ बजे मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका ५ फाखेलस्थित निजकै घरबाट तथा अकबर भन्ने अगबर लामालाई सोही दिन बिहान ४ः३० बजे उनकै घर इन्द्रसरोबरबाट पक्राउ गरिएको हो । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू