गोलभेडाको भाउ

गोलभेडाको भाउ

बिचौलिया व्यापारीले गोलभेडा सडकमा फालेर यसको भाउ बढाएछन् । कुनै पनि सामानको भाउ बढाउने हो भने त्यसलाई सडकमा फाल्नु पर्ने रहेछ । बिचौलियाले त्यही गरे । यो पनि राम्रै भयो भन्नुपर्छ । भाउ बढाउने एउटा राम्रो उपाय हो यो । न नेपालमा कुनै सामानको भाउ बढाउनु छ भने त्यसको लागि धेरै मेहनत गर्नुपर्नेछ । सबैभन्दा पहिले आपूर्ति मन्त्रालय जानु पर्‍यो । त्यहाँका हाकिमहरूको खल्ती भरिदिनुपर्‍यो । त्यसपछि मन्त्रीकोमा जानु पर्‍यो । मन्त्रीलाई भन्नुपर्‍यो कि म आफ्नो सामानको भाउ बढाउँदैछु, तपाईंले हस्तक्षेप नगर्नुहोला, परेको कमिशन टक्र्याइहाल्छु । 

त्यसपछि फेरि पार्टी कार्यालय जानुपर्‍यो । त्यहाँ पनि नेताहरूलाई भन्नुपर्‍यो, भाउ बढाउँदैछु, हल्ला गर्नुभएन । चुनावमा हेर्ने छँदैछ । अलि अलि विपक्षीलाई पनि भन्नैपर्ने हुन्छ, अलिकति बोल्ने कम गर्नुहोला, भाउ बढेपछि तपाईंकहाँ आउने कमिशनको रेट पनि बढेरै आउँछ । त्यसपछि बल्ल भाउ बढाउन पाइन्छ । 

तर अहिले गोलभेडा हेर्नोस् त, न कमिशन खुवाउनुपर्‍यो, न चाकडी गर्नुपर्‍यो, न भनसुन गर्नुपर्‍यो । दश–बाह्र क्रेट गोलभेडा बाटोमा फाल्यो । बस् भाउ बढिहाल्यो ।  सायद बिनाकमिशन भाउ बढाएको कारणले पो हो कि, गोलभेडा काण्डबारे सरकारले छानबिन समिति पनि गठन गर्दैछ रे !

टिप्पणीहरू