मन्त्रीद्वारा फेसबुकबाट स्पष्टिकरण माग,डिजी भन्छन्-'जवाफ दिन्न'

मन्त्रीद्वारा फेसबुकबाट स्पष्टिकरण माग,डिजी भन्छन्-'जवाफ दिन्न'

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । 

उड्डन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको,उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको भन्दै मन्त्रीले उनलाई सात दिनभित्र जवाफ पेश गर्नेगरी नौं बुदें स्पष्टीकरण सोधेका हुन् । 

स्पष्टीकरणमा चालु आर्थिक वर्ष २०७८-७९ को बजेट तथा कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत अधिकारीले सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।  त्यस्तै,अधिकारी महानिर्देशक भएपछि नेपाली दर्ताका दुई वटा विमान र तीन वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किराँतीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवार निर्वाह गर्न तपाईँ असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर प्रश्न गरेका छन् । 

सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै अधिकारीलाई सोधिएको छ, ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनु भएका तपाईँको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’

यता,प्राधिकरणका महानिर्देशक अधिकारीले मन्त्री किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । गोप्य पत्र पठाएर सोध्नुपर्ने विषय फेसबुकमा राखेको भन्दै उनले स्पष्टीकरण नदिने अडान लिएका हुन् ।   

स्पष्टीकरण सोध्ने मन्त्रिस्तरीय निर्णय किरातीले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि मन्त्रालय र प्राधिकरणबीच टसल पर्ने देखिएको छ ।
 

टिप्पणीहरू