गरिवका सन्तान बिदेशमा हाड घोट्ने,वैदेशिक रोजगार बोर्डका हाकिमहरु तिनको पैसामा घुम्ने

गरिवका सन्तान बिदेशमा हाड घोट्ने,वैदेशिक रोजगार बोर्डका हाकिमहरु तिनको पैसामा घुम्ने

मुलुकको अर्थतन्त्र डेढ दशकदेखि विदेशमा जोखिम मोलेर काम गर्दै आएका सर्वसाधारण नेपालीले पठाएको रेमिट्यान्समा टिकेको छ । औद्योगिक र कृषि उत्पादन ठप्प हुँदै गएको छ । आयात दिन दुईगुणा रात चौगुणा बढेको छ तर निर्यात न्यून छ । 

विदेश विशेषगरी मध्यपूर्व,मलेसिया र कोरियामा काम गर्न गएका नेपाली कामदार र उनका परिवारलाई पर्नसक्ने समस्या समाधानको निम्ति सरकारले वैदेशिक रोजगार बोर्डको स्थापना गरेको छ । बोर्डमा जम्मा भएको कोष त्यस्ता श्रमिकको कल्याणमा खर्च गर्न उक्त संस्थाको स्थापना भएको हो ।

तर, अहिले ‘अगुवा नै बाटो...’ भनेझैँ बोर्डका हाकिमहरु निमुखा कामदारलाई खर्चिनुपर्ने कोषको रकम दुरुपयोग गर्दै विदेश भ्रमणमा निस्कन लागेका छन् । कार्यकारी निर्देशक द्वारिका उप्रेती, महानिर्देशक मदन दाहाल र सूचना अधिकृत राजन पौडेल भोलि पर्सि नै विदेश भ्रमणमा जाँदैछन् । उनीहरु मध्यपूर्वको ओमान जान लागेको बुझिएको छ ।

"अलपत्र शव नेपाल ल्याउने उद्देश्यले खडा गरिएको कोषको रकम मस्तीमा विदेश भ्रमणमा प्रयोग गर्दा बोर्डमा,‘...लाईभन्दा देख्नेलाई लाज’ भएको छ ।"

ती सबै गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएको कार्यक्रमका नाममा  जान लागेको बोर्ड स्रोतले बतायो । श्रमिकको कल्याणमा खर्च गर्नुपर्ने पैसा निजी घुमघाममा प्रयोग गरिएको उल्लेख गर्दै स्रोत भन्छ, ‘श्रममन्त्रीले आफूसहित झण्डै एक दर्जनलाई विदेश भ्रमणमा पठाउने निर्णय गरेका छन् । त्यसमा पिएदेखि अर्का सहसचिव रामचन्द्र ढकाललाई समेत समेटिएको छ ।’

बोर्डका चार जनाको खर्च कल्याणकारी कोषको रकमबाट व्यहोरिने निर्णय गरिएको छ । मन्त्रीलगायत अन्यको भने एनआरएनले व्यहोर्ने कुरा छ । बोर्डका एक जना उपसचिव भन्छन्, ‘पहिले विदेश भ्रमणमा कल्याणकारी कोषको पैसा खर्च गर्ने प्रवृत्ति रोकिएको थियो । नयाँ मन्त्री आएपछि भटाभट विदेश भ्रमण हुन थालेको छ ।’ 

यसबारे केही वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । श्रमिकको हितमा प्रयोग गर्नुपर्ने कोषको रकम विदेश भ्रमणमा खर्च गर्न नहुने भन्दै उजुर हालेपछि रोकिएको गलत प्रवृत्ति अहिले खुलमखुल्ला हुन थालेको  देखिन्छ  । 

कोषको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली कार्यविधि २०७८ मा बोर्डले प्रदान गर्ने सेवावारे उल्लेख छ । शैक्षिक छात्रवृत्ति,श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च,अलपत्र शव नेपाल ल्याउन र अलपत्र परेका श्रमिकलाई स्वदेश ल्याउने सेवा मुख्य छन् । अलपत्र शव नेपाल ल्याउने उद्देश्यले खडा गरिएको कोषको रकम मस्तीमा विदेश भ्रमणमा प्रयोग गर्दा बोर्डमा,‘...लाईभन्दा देख्नेलाई लाज’ भएको चर्चा गर्न थालिएको छ ।

टिप्पणीहरू