पशुपतिमा सुनको जलहरी जोख्ने तयारी
पशुपतिनाथ मन्दिरभित्र राखिएको सुनको जलहरी जोख्ने तयारी गरिएको छ । जलहरीको तौलबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको निवेदनपछि आज छानबिको क्रममा जोख्ने व्यवस्था मिलाइएको बताइएको छ ।
१०८ केजीको सुनमध्ये झण्डै ११ किलो बदमासी भएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुमाथि आरोप लाग्दै आएको छ । आज आयोगका सम्बन्धित अनुसन्धान अधिकारी, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि, खानी तथा भूगर्भ विभागका अधिकृत र कोषका पदाधिकारीहरुको उपस्थितिमा सुन जोख्न लागिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट ३० करोड उपलब्ध गराएपछि कोषले आफ्नो तर्फबाट ५० करोड रुपैयाँ थपेर एक सय आठ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । त्यसपछि छोटो समयमा तयार पारिएको जलहरी हतार हतारमा पशुपतिभित्र बिच्छाएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराइएको थियो ।
जलहरीमा प्रयोग भएको सुन र यसको परिमाणबारे संसदीय समितिले समेत विशेष चासो राखेको थियो । समितिले कोषका सदस्य सचिवलाई बोलाएर दुई साताअघि बयान लिएको थियो । अन्य पदाधिकारी र कर्मचारीसँग सोधपुछ गरेको बताइन्छ ।
टिप्पणीहरू