अवकाशअघि श्रीमानले भन्नुभयो : रुँदारुँदै हाँसियो, हाँस्दाहाँस्दै पनि रोइयो
उच्च अदालत पोखराका एक न्यायाधीशले भोलिदेखि सेवाबाट विश्राम लिने भएका छन् । ६३ वर्ष उमेर हदका कारण आगामी साउनमा अवकाश हुन लागेका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले एक महिनाअगावै सेवाबाट विश्राम लिन लाग्नुभएको हो ।
२०३७ वैशाख १५ गते राष्ट्रसेवक कर्मचारीको यात्रा आरम्भ गर्नुभएको उहाँ २०६६ भदौ २१ गते न्यायाधीशमा नियुक्त हुनुभएको थियो । आउँदो साउन ९ गते अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य न्यायाधीश आचार्य भन्नुहुन्छ, ‘अवकाश हुनुभन्दा एक महिना अगाडिदेखि फैसला वा अन्तिम आदेश नगर्नु सबै अर्थमा राम्रो हुन्छ । यो एक अनिवार्य न्यायिक परम्परा बन्नुपर्दछ ।’
उहाँका अनुसार यस आर्थिक वर्षको असार मसान्तसम्म कूल एक हजार ७२१ वटा फैसला गर्ने लक्ष्य राखिएकोमा उच्चबाट एक हजार ६३९ मुद्दाको फैसला भएको छ । आफू कार्यरत १ नम्बर इजलासबाट ९२७ मुद्दाको फैसला भएको छ ।
त्यस्तै, त्यसमध्ये आफूले लेख्नुपर्ने करिब तीन दर्जन फैसलाको पूर्णपाठ लेखन कार्य बाँकी नै रहेको उहाँको भनाई छ । ४३ वर्ष एक महिना २३ दिनको राष्ट्रसेवामा १३ वर्ष ९ महिना १७ दिन कलम चलाएको भन्दै न्यायाधीशले पूराना कुरालाई स्मरणसमेत गर्नुभएको छ । सो अवधिमा झण्डै आठ हजार पाँच सय मुद्दाको फैसला भएको छ । दुई हजार निवेदन–प्रतिवेदनहरुमा अन्तिम आदेश दिइएको छ ।
केही मुद्दामा सर्वोच्च अदालतमा अपिल गरिएको उल्लेख गर्दै उहाँले त्यसमध्ये करिब एक दर्जन मुद्दाको आदेश मात्र आफूले गरेकोभन्दा उल्टो आएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै, केही मुद्दा विचाराधीन छ । कार्यक्षमताको वास्तविक मूल्याङ्कन न्यायपरिषद्, विज्ञ विधिशास्त्री एवम् सम्बन्धित बार इकाई र आबद्ध कानुनविद्हरुले गर्ने बताउँदै उहाँले सरकारी सेवामा प्रवेश गर्दादेखि अवकाश हुँदासम्मको अनुभव सुनाउनुभएको हो ।
खरिदारदेखि सहसचिवसम्मका सबै प्रशासकीय जिम्मेवारीमा रहेर काम गरेको २९ वर्ष चार महिना छ दिनको सेवा अवधिपछि २०६६ सालदेखि उहाँको न्यायाधीशको रुपमा कलम यात्रा शुरु भएको थियो । न्यायाधीशकै रुपमा दुई कार्यकाल गरेर झण्डै साढे चार वर्ष उहाँले पोखरा र वीरगञ्जमा बिताउनुभएको थियो ।
त्यसैगरी, १४ महिनाको सेवा अवधिमा राजस्व न्यायाधिकरण, काठमाडौंमा एक हजार ८० वटा मुद्दाको छिनोफानो गर्नुभयो । सेवाको क्रममा दुई पटक महेन्द्रनगर र उच्च अदालत पाटन, हेटौंडा, राजविराजलगायत थुप्रै ठाँउमा पुगेर न्यायका लागि कलम चलाउनुभएको हो ।
राष्ट्रसेवाको यात्रामा राष्ट्रिय संग्रहालय, काठमाडौं जिल्ला अदालत, तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालत, प्रशासकीय अदालत, भेरी अञ्चल अदालत, पुनरावेदन अदालत सुर्खेत, राजविराज, ओखलढुंगा इजलास लगायत थुप्रै ठाउँमा पुग्दै न्यायाधीशमा मुद्दा बुझ्न सक्ने, फैसला गर्न सक्ने, फैसलालाई न्यायिक शब्द र भावहरुमा राखेर न्यायिक मनले देख्ने, लेख्न सक्ने गुण हुनुपर्ने सगर्व बताउनुहुन्छ ।
आफ्नो प्रहरी हिरासत एवम् कारागार जीवनयात्राको एक महिनाको अविस्मरणीय र संघर्षमय पलको अनुभव पनि यहि बेला पोख्नुभएको छ । छ महिना निलम्बन, जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा एक महिना ठाडो हाजिरीलगायत कैयौं अप्ठ्याराका बाबजुद पनि जागिरको निरन्तरता र सार्वजनिक क्षेत्रमा आफूले गरेको योगदानप्रति मुख्य न्यायाधीश आचार्यको गर्व छ ।
प्राकृतिक न्यायको सिद्धान्तलगायत विभिन्न कृतिहरुसमेत लेख्नुभएका न्यायाधीशको विभिन्न अखबारमा पाँच सयभन्दा बढी राष्ट्रसेवाका लेखहरु प्रकाशित भइसकेका छन् । तालिम, अध्ययन र अवलोकन भ्रमणका क्रममा सिंगापुर, बंगलादेश, फ्रान्स, स्पेन, चीनलगायत विश्वका धेरै मुलुक पुग्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘४३ वर्षे जागिरे यात्रा, खुशी र आँशुको मिश्रण तथा सुःख र संघर्षको एक कहानी बन्यो भन्ने लाग्दछ । कहिले रुँदारुँदै हाँसियो त कहिले हाँस्दाहाँस्दै रोइयो ।’
टिप्पणीहरू