अध्यक्षको अत्याचार बिरुद्ध सातै दल

अध्यक्षको अत्याचार बिरुद्ध सातै दल

गाउँपालिका अध्यक्षको मनोमानीविरुद्ध सर्लाहीको एक गाउँपालिकाभित्रबाट दलहरुले आन्दोलन नै शुरु गरेका छन् । चन्द्रनगर गाउँपालिकाका विभिन्न सात राजनीतिक दलले अध्यक्षविरुद्ध संयुक्त शान्तिपूर्ण आन्दोलन शुरु गरेका हुन् । माओवादी, कांग्रेस, राप्रपा, जसपा, एकीकृत समाजवादी, लोसपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष राजकुमार महतोविरुद्ध जाइलागेका छन् ।

१५ गाउँ कार्यपालिका सदस्यमध्ये १२ जना महतोविरुद्ध छन् भने ३९ गाउँ सभामध्ये ३० जना पनि मोर्चाबन्द भएका छन् । ३ जना कार्यपालिका सदस्य र ९ जना गाउँ सभा सदस्यहरूको साथमा रहेका महतोले बहुमतलाई बेवास्ता गर्दै भ्रष्टाचार गर्ने र आफूखुशी निर्णय हुन नपाए कार्यक्रम हुन नदिनेलगायत काम गरेका कारण आफूहरू चरणबद्ध आन्दोलनमा उत्रिएको माओवादी नेता लोकेन्द्र मुखियाले बताए ।

उनका अनुसार स्थानीय दलले पहिलो चरणमा शान्तिपूर्र्ण रिले अनशन शुरु गरेका छन् । महतो नेपाली कांग्रेसबाटै निर्वाचित भए पनि आफूहरु उनका अनियमित गतिविधिविरुद्ध उत्रिएको नेपाली कांग्रेस चन्द्रनगर गाउँपालिकाका नेता श्यामप्रसाद सिंहले बताए ।

उनका अनुसार महतोले बालबालिकाको नाममा गाउँपालिकामा आएको रकम हालसम्म पनि खातामा जम्मा नगरेको, नाडीमन तालमा पानी नभएको बेला महोत्सव आयोजना गरी भ्रष्टाचार गर्न लागेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ४५ लाख रकमको हालसम्म पनि कुनै काम नगराएकोलगायतका कारण कांग्रेस विरोधमा उत्रिएको हो ।

गाउँपालिका अध्यक्ष महतोले स्वयंसेवक शिक्षक तथा कर्मचारी कार्यविधि र प्रक्रियाविपरीत भर्ना गर्न खोजेका, गाउँपालिकालाई गैरसरकारी संस्थाको अण्डरमा सञ्चालन गर्न खोजेका, आन्तरिक राजश्वमा हानि नोक्सानी पु¥याउने गरी गाउँपालिकाभित्रका पोखरीको ठेक्का नलगाई दिएपछि अरुहरु आक्रोशित भएका हुन् ।

गाउँपालिकाको प्रत्येक शाखामा करार कर्मचारी नियुक्त गरी कमिशन उठाउने गरेको, विकासका लागि आएको तीन करोड अनावश्यक कार्यक्रमका लागि आफैँले राखेको, कार्यपालिकामा छलफल नै नगराई नाडीमान ताल संरक्षणको काम शुरु गरेको र त्यसबाट निस्केको माटो आफूखुशी बिक्री वितरण गरेको, गाउँपालिकाको जेसिबी चलाएर घण्टाको रु दुई हजार दुई सय हुन आउने राजश्व गाउँपालिकाको राजश्व शाखामा जम्मा नगरेको, प्रदेश र संघबाट प्राप्त बजेटको १० प्रतिशत कमिशन नपाएपछि बजेट फ्रिज गराउने तर काम नगराउने गरेकालगायतका कारण आफूहरू विरोधमा उत्रिएको गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोले बताइन् ।

गाउँपालिकामा उपाध्यक्ष गीतादेवीसहित ३ को वडाध्यक्षमा सीताराम, ६ रामस्वरूप राउत र ७ मा दीपेन्द्र चौधरी नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित भएका छन् भने ४ का राजीवसिंह दनुवार स्वतन्त्र र ५ का सूर्यवंश राय  छन् । १ का रामेश्वर महतो र २ का वडाध्यक्ष शम्भु साह छन् । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दछन् । 

गाउँपालिकाले सञ्चालन गरेको चन्द्रनगर पोलिटेक्निकल इन्स्टिच्युटको पुस्तकालय, प्रयोगशाला, शिक्षक र छात्रावासको व्यवस्थापन गरिदिन पटक–पटक आग्रह गर्दा पनि ध्यान नदिएपछि शान्तिपूर्र्ण विरोधमा गाउँपालिका अध्यक्ष राजकुमारले प्रहरी बोलाई विद्यार्थीमाथि लाठीचार्ज गर्न लगाएका थिए । 

 

टिप्पणीहरू