‘फरक’ देखिने होडमा ‘खराब’ बन्दै गएका हर्क

‘फरक’ देखिने होडमा ‘खराब’ बन्दै गएका हर्क

वैकल्पिक राजनीतिको नाममा पछिल्लो समय विचार र एजेण्डाभन्दा अरुलाई हिलो छ्यापेर नेता बन्ने प्रवृति बढ्दो छ । राप्रपाका ज्ञानबहादुर शाहीदेखि रास्वपाकी ज्वाला संग्रौलासम्म अरूको निन्दा गरेरै नेता बने । पुराना पार्टीका नेताहरूको आलोचना गरेर भाइरल भएकै भरमा राजनीतिमा उदाएका अरू थुप्रै पात्र छन् । 

पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई पनि आफ्नो विचार र एजेण्डाभन्दा अरूको विरोध गरेर नेता बन्ने ध्याउन्नमा लागेको देखिन्छ । हालैमात्र श्रम संंस्कृति पार्टी खोलेका उनले सार्वजनिक सभा-समारोहमा अरू पार्टीका नेताको लगातार खेदो खनिरहेका छन् ।  

काँग्रेस, एमाले, माओवादीका कार्यकर्तालाई झोले भन्ने हर्कले आफ्नै नाम जोडेर छुट्टै विचारधारासमेत घोषणा गरिसकेका छन् । 'हर्कपथ' भनिएको उक्त विचारधाराले नागरिकलाई श्रमसँग जोड्ने उद्धेश्य राखेको उनको दावी छ । तर, पार्टीको सिद्धान्त, अन्तराष्ट्रिय दृष्टिकोण, अर्थनीति, शासकीय नीतिबारे भने केही खुलाएका छैनन् । 

देश विकासका लागि श्रम गनुपर्छ भन्ने मान्यतलाई अगाडि सारेका उनले कहाँ, कस्तो श्रम ? स्पष्ट मार्गचित्र समेत प्रस्तुत गर्न सकेका छैनन् । बरु अन्य दलका शीर्ष नेताप्रति व्यक्तिकेन्द्रीय आक्षेपमा उत्रिएको देखिन्छ । 

पुराना राजनीतिक दलका नेताप्रति भँडास पोखिरहेका हर्कले नयाँ भनिएका रवि लामिछाने, बालेन, कुलमान घिसिङहरूलाई पनि छोडेका छैनन् । बालेन र कुलमानलाई ‘विदेशी दलाल’ भन्दै सरापिरहेका उनले रविप्रति झन बढी आक्रोश पोखेको सुनिन्छ । 

लामिछानेले आगामी निर्वाचनमा जितिहालेमा कुनै चमत्कार नहुने हर्कको तर्क छ । ‘रवि जिते भने फेरि प्रतिशोध मात्रै साँध्ने हो, केही प्रगति हुँदैन’, उनले भनेका छन्, ‘किनकि, हि ह्याज नो टाइम टु थिङ्क एनिथिङ एल्स (उनीसँग विकासबारे सोच्ने समय नै समय नै छैन ।’

भदौ २४ गते रातारात धरानबाट काठमाडौँ आएर प्रधानमन्त्री तथा गृहमन्त्री माग्न सैनिक मुख्यालय जंगीअड्डामा लाइन लागेका हर्कले आज सामाजिक सञ्जालमा एउटा एआई तस्वीरसमेत सार्वजनिक गरेका छन् । जसमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति लवि  लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन साहलगायतका व्यक्तिहरूमा एउटै प्रवृति रहेको आशय झल्किएको छ । 

यसरी अरूको अस्तित्व स्वीकार गर्नै नसक्ने हर्क आफैँ निर्विवाद पात्र होइनन् । फेसबुकमा स्टाटस लेखिरहने उनका प्रस्तुतिलाई लिएर आमरूपमा आलोचना हुने गरेको छ । पार्टीको संगठन विस्तारमा जनप्रतिनिधिको हैसियत दुरुपयोग गरेको आरोप पनि उनीमाथि लागेको छ ।

पार्टी खोलेपछि कार्यालयमा मेयरको अनुहार देख्नै मुश्किल भएको त्यहाँकै कर्मचारी बताउँछन् । उपमहानगरका एक कर्मचारी भन्छन्, ‘१०/१२ दिनमा एक पटक आउनुहुन्छ, कहिले कता, कहिले कता जानुहुन्छ, कहाँ जानुहुन्छ हामीलाई पनि थाहा हुँदैन ।’ 

समग्रमा, साम्पाङले पार्टीको एजेण्डा र विचारले जनताको मन जित्नुपर्नेमा अरु नेतालाई गाली गर्ने परम्परागत राजनीतिलाई नै आत्मसात गरेको देखिन्छ । यसलाई ‘पुरानो प्रवृतिको नयाँ भर्सन’ भन्न थालिएको छ । 

‘पहिलो कुरा त उहाँले मेयरको पदबाट राजीनामा दिएर संगठन विस्तारमा लाग्दा राम्रो हुन्छ’, एक राजनीतिक विश्लेषक भन्छन्, ‘दोस्रो कुरा, संगठन विस्तार गर्दा अरुको खेदो खनेर हुँदैन, आफ्नो विचार र एजेण्डाले जनतालाई कन्भिन्स गर्नुपर्यो, अरुको खोट देखाएर मात्रै नेता बन्ने प्रयास हो भने उहाँ र अरुमा के फरक भयो र !’

टिप्पणीहरू