पुल्चोकमा जेनजी अगुवासँग साढे तीन घण्टा बयान

पुल्चोकमा जेनजी अगुवासँग साढे तीन घण्टा बयान

भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले जेनजी अगुवा खेमराज साउदसँग बयान लिएको छ । पुल्चोकस्थित कार्यालयमै बोलाएर आयोगले बयान लिएको हो । 

कार्यालयको तेस्रो तल्लामा साउदसँग झण्डै साढे तीन घण्टा सोधपुछ गरिएको बताइएको छ । जेनजी प्रदर्शनको पृष्ठभूमि र २३ गतेको प्रदर्शन आयोजनाबारे आफूले बयान दिएको साउदले बताए । 

उनका अनुसार आयोगको तर्फबाट पाँच जना कर्मचारी सहभागी थिए । ‘सिडिओ कार्यालयबाट प्रदर्शनको अनुमति लिएकोदेखि माइतीघरमा भेला हुँदै गर्दासम्मका सबै घटना विस्तृतमा सुनाएको छु’, साउदले भने, ‘उहाँहरूले पनि २३ गतेको घटनामै केन्द्रित भएर प्रश्न गर्नुभयो ।’ 

बयानका क्रममा उनले जिल्ला प्रशासन कार्यालयसँग तीन कारण देखाउँदै प्रदर्शनको अनुमति लिएको जानकारी गराएका छन । ‘त्यतिबेला हाम्रो माग जम्मा तीन वटा थियो- भ्रष्टाचारको अन्त्य, नेपोबेबीको अन्त्य र सामाजिक सञ्जाल फुकुवा’, उनले भने, ‘र हामीले प्रदर्शनको अनुमति लिँदै गर्दा शान्तिपूर्ण भनेका थियौँ, हाम्रो उद्धेश्य पनि शान्तिपूर्ण गर्ने नै थियो ।’

जेनजी काउन्सिल सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका साउदले आयोगलाई भदौ २३ गते सरकारको तर्फबाट मानव अधिकार हनन हुनेगरी चरम दमन भएको पनि जानकारी गराएकाे बताए । ‘विद्यार्थी भाइबहिनीको टाउको ताकेर निर्मम तरिकाले गोली हान्ने तत्कालीन सरकार हो, उनीहरूमाथि कारवाही हुनुपर्छ भनेको छु’, उनले थपे । 

आयोगले आजै अर्का जेनजी अगुवा पुरुषोत्तम यादवसँग पनि बयान लिएको छ । यद्यपि, यादवको बयानबारे आफूलाई जानकारी नभएको साउदले बताए । भने, ‘यादवजीलाई पनि बोलाएको रहेछ, मलाई थाहा थिएन, उहाँलाई छुट्टै कोठामा राखेर बयान भएछ, पछि मात्र थाहा भयो ।’

टिप्पणीहरू