रुपन्देहीमा अत्याधुनिक क्रिकेट रंगशाला बनाउने उद्घोष

रुपन्देहीमा अत्याधुनिक क्रिकेट रंगशाला बनाउने उद्घोष

-ऋषि भट्टराई

हास्य कलाकारद्वय धुर्मुस र सुन्तलीले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने विषय अलपत्र परेको बेलामा उता रुपन्देहीम पनि अर्को क्रिकेट मैदान बनाउन एक जना अघि सरेका छन् । गुल्मीका विनोद कुँवरले आफ्नो निजी लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । 

हिजो शिलान्यास गरिएको क्रिकेट मैदान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बनाउन लागिएको हो  । एक्स्ट्राटेक ओभल क्रिकेट मैदान ४० करोड रुपैयाँको निजी लगानीमा  निर्माण हुने बताइएको छ । 

गुल्मीको मदाने गाउँपालिका ४, म्यालपोखरीका विनोदले तम्घासको महेन्द्र उच्च मावि हुँदै रुपन्देहीको भलबारीमा इलेक्ट्रिकल इञ्जिनियरिङ पढेपछि अष्ट्रेलिया पुगेर आइटी पढेका हुन् । उनले तीन वर्षसम्म सिड्नीमा सूचना प्रविधि सम्बन्धी व्यवसाय समेत गरेका ३७ वर्षीय कुँवरले आईटी क्षेत्रमा अब्बल चिनारी बनाएका छन् । सानैदेखि खेलकुदमा सोखिन भएका कारण रंगशाला बनाउन लागेको उनले बताए । यो अभियान सफल भएपछि नेपालमै स्तरीय आईटी कलेज खोल्ने योजनासमेत रहेको कुँवरले सुनाए ।        

मैदानको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका हुन् । उनले पनि क्रिकेट मैदान निर्माणमा स्थानीय सरकारको तर्फबाट हुनसक्ने सबै सहयोग गर्ने बताएका छन् । निजी लगानीको भएपनि यो नगरकै गौरवको आयोजना भएको मेयरको भनाई छ ।

 

हाल पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया पनि जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक समेत रहेका कुँवरले जानकारी दिए । पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको रङ्गशाला बनाउने र प्रत्येक वर्ष सोही बराबरको क्षमता थप्दै चार वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना सुनाएका छन् । 

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला बनाउन ४० करोड रुपैयाँ लाग्ने अनुमान छ । कुँवरले नेपाल सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको सन्दर्भ कोट्याएका छन् ।

मुलुकलाई क्रिकेट मार्फत् अन्तर्राष्ट्रियस्तरमा चिनाउने धोको रहेकाले अहिलेनै रकम सुनिश्चित भइसकेको दाबी गरिएको छ । कुँवर र चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले रङ्गशाला निर्माणको स्वामित्व लिएर काम अगाडि बढाएका छन् । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्ष्टिच्युट हो । 

पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर छन् । रङ्गशालामा होस्टल सहितको एकेडेमी र ट्रेनिङ सेन्टर बनाइने छ । यसको जिम्मा प पूर्वकप्तान शक्ति गौचनलाई दिइएको छ । 

त्यसैगरी रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाईंदैछ । जहाँ एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना बनाइएको निर्देशक कुँवरले बताए । यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन् ।

टिप्पणीहरू