दिल्लीबाट जसले मोदीलाई नाकमा दिँदैछन् दम

दिल्लीबाट जसले मोदीलाई नाकमा दिँदैछन् दम

जन्म हरियाणा राज्यको शिवानीमा भयो । परिवार व्यापारि (अग्रवाल) । जेठो छोरा । बाबु गोविन्दराम इञ्जिनियर । बाल्यकाल सोनिपत, गाजियावाद र हिसारजस्ता ठूला शहरमा बित्यो । स्कूल सकेपछि मेकानिकल इञ्जिनियरिङ पढे र राम्रै अंक ल्याएर पास गरे । सन् १९८९ मा जमसेदपुरस्थित टाटा स्टिल कम्पनीको जागिरे बने । सन् १९९२ मा सरकारी जागिर खान र परीक्षा दिन सेवाबाट राजीनामा दिए । कोलकात्ता पुगे र गरिब असहायहरूको पक्षमा मानवीय कार्य गर्दै आएकी मदर टेरेसासँग भेटेपछि उत्तर भारतको रामकृष्ण मिशन र नेहरू युवा केन्द्रजस्ता सामाजिक संगठनमा काम गरे । सिभिल सेवा परीक्षा (नेपालको सन्दर्भमा लोकसेवा आयोग) पास गरेपछि सन् १९९३ मा सहायक आयकर आयुक्त भई काम थाले । उक्त जागिर १३ वर्ष खाएर सन् २००६ मा राजीनामा दिए । सन् १९९३ मा सिभिल सेवा परीक्षा उत्तीर्ण गरी आयकर सेवामा प्रवेश गर्नेमध्ये एक जना सुनिता पनि थिइन् । दिल्लीमा जन्मिएकी उनी पनि व्यापारि (वैश्य) खानदानकै हुन् । अरविन्द र उनको उमेरबीच दुई वर्षको फरक थियो । मुम्बईबाट उच्चशिक्षा ग्रहण गरेकी उनी पढाइमा अरविन्दभन्दा धेरै अगाडि थिइन् । इलेक्ट्रिकल इञ्जिनियरिङपछि फेरि सूचना प्रविधिमा स्नातकोत्तर गरिन् । बिजनेस एड्मिनिस्ट्रेशनमा पनि मास्टर्स गरिन् । प्राणीशास्त्रमा पनि स्नातकोत्तर गरिन् ।

सिभिल सेवा परीक्षा उत्तीर्ण गरेपछि सुनिता नागपुरस्थित राष्ट्रिय प्रशासनिक एकेडेमी पुगिन् । त्यहाँ आइआरएस स्तरका अधिकृतहरूलाई प्रशिक्षण दिने गरिन्छ । जहाँ तालिम लिन अरविन्द पनि पुगे । जब क्लास शुरु भयो अरविन्द र सुनिता एउटै कक्षामा परे । पहिलो दिनको क्लासमै परिचय साटासाट गरे । लगातारको भेटघाट र एउटै कक्षामा बस्दै जाँदा अरविन्दलाई सुनिता मन पर्न थालिन् तर यो कुरो भन्न सक्ने आँट थिएन । पटकपटक भन्न खोजे तर सकेनन् जबकि दिनहुँ गफ हुन्थ्यो । दिन बित्दै गयो, अब धेरैभन्दा धेरै समय सँगै बिताउन थाले । चमेनामा सँगै जान्थे । एकार्काको परिवारबारे जानकारी लिने गरे । दुवैले रुचि, अरूचिबारे थाहा पाए । सुनितालाई पनि अरविन्दको बानी व्यहोरा, लवाईखवाई, विचार राम्रो लाग्यो । आयकर कार्यालयमा काम गर्दाको अनुभव सुनेपछि निकै इमान्दार व्यक्ति पनि रहेछन् भन्ने लाग्यो । यथार्थमा उनले मनमनै अरविन्दसित प्रेम गर्न थालिसकेकी थिइन् तर अरविन्दले कुनै संकेत नदेखाएकाले मनको कुरो भन्ने हिम्मत गर्न सकिनन् ।

प्रेमको ज्वाला दुवैतर्फ दन्किसकेको थियो, तर गुपचुप । एकदिन हिम्मत जुटाएर अरविन्द सुनिताको कोठाको ढोका ‘नक’ गर्न पुगे । त्यसबेला सुनिता पल्टेर पुस्तक पढ्दै थिइन् । अरविन्दले बिना भूमिका सिधै प्रेमप्रस्ताव राखे । सकारात्मक जवाफ पाइने कल्पना भने गरेका थिएनन् । आगो त दुवैतर्फ लागिसकेको थियो, त्यसमाथि अरविन्दको व्यक्तित्वबाट सुनिता निकै प्रभावित बनिसकेकी थिइन् । उनी सधैँ आफ्नो हुनेवाला लोग्ने इमान्दार र देशभक्त होउन् भन्ने भित्री इच्छा राख्थिन् । त्यसैले प्रस्तावलाई ‘नाइँ’ भनिनन्, मौन बसेर स्वीकृति दिइन् । एकार्काको भावना थाहा पाएपछि भेटघाट बाक्लिँदै गयो । दुवै बिहे गर्ने निर्णयमा पुगे । एकार्काको परिवारसँग मञ्जुरी लिने कुरो भयो । पृष्ठभूमि एकैखालको भएकोले परिवारले पनि बाधा पुर्‍याएन र सहमतिमै सन् १९९४ को अगस्तमा इन्गेज्मेन्ट भयो भने ‘आईआरएस’ को प्रशिक्षण नसकिँदै नोभेम्बरमा बिहे गरे । ठीक एक वर्षमा सुनिता छोरीको आमा बनिन् भने सन् २००१ मा छोरा पाइन् । 

यो प्रेमकथा अरविन्द केजरीवालको हो, जो यतिखेर भारतको राजधानी दिल्ली प्रदेशमा मुख्यमन्त्री छन् । अरविन्द र सुनिताले नागपुरको तालिम सकेपछि दिल्लीस्थित सरकारी सेवामा काम गर्न थाले । केजरीवालले सरकारी सेवामा कार्यरत रहँदै राजनीतिमा हाम्फाल्ने सोचिसकेका थिए । उनको यो निर्णयमा सुनिताको पनि साथ र समर्थन रह्यो । सन् १९९९ मा आयकर विभागको सहआयुक्त हुँदै पत्रकार र सामाजिक अभियन्ता मनिष सिसोदियालगायत साथीहरूसँग मिलेर ‘परिवर्तन’ नामक संस्था स्थापना गरे । उक्त संस्थाको उद्देश्य दिल्लीको सुन्दरनगर इलाकाका जनतालाई आफ्नो अधिकारप्रति जागरुक बनाउनु थियो । परिवर्तनले सार्वजनिक वितरण प्रणाली (पिडिएस), सार्वजनिक कार्य, समाजकल्याण योजना, आयकर र विद्युत्सम्बन्धी नागरिकको गुनासो संबोधन गर्न थाल्यो । यो एनजिओ थिएन– व्यक्तिगत चन्दामा चल्ने जनअभियान थियो । परिवर्तनले आयकर विभागमा पारदर्शिताको मागसहित याचिका दायर गर्‍यो । सत्याग्रहको आयोजन गर्‍यो । घुस नदिन आह्वान गर्‍यो । सार्वजनिक वितरण प्रणालीमा भएको अनियमितताको पर्दाफास गर्‍यो, पानी वितरणमा भइरहेको ठूलो खर्चको कुरो उठायो । यो संगठनले उठाएका कैयौं सवालले गर्दा कतिपय योजना स्थगित भए । संगठनप्रति जनसहभागिता बढ्दै गयो । बिस्तारै केजरीवालले अन्ना हजारे, अरूणा राय र शेखर सिंहजस्ता सामाजिक कार्यकर्तासंगै राष्ट्रिय स्तरमा पहिचान बनाए । पछि, २००५ मा केजरीवाल र मनीष सिसोदियाले मध्ययुगीन दार्शनिक कबिरको नाममा दर्ता भएको एनजिओ ‘कबिर’ शुरु गरे । परिवर्तन जस्तै, कबिरले पनि सुशासन र सहभागितामूलक शासनमा आफूलाई केन्द्रित गरेको थियो । सन् २००६ मा सरकारी सेवाबाट राजीनामा दिएका उनलाई सोही साल एशियाको नोबेल पुरस्कार मानिने रोमन मैग्सेसे पुरस्कार दिइयो ।

२०११ मा केजरीवालले अन्ना हजारे र किरण बेदीसित मिलेर भ्रष्टाचारविरोधी समूह बनाए । अन्ना समाजसेवी हुन् जसलाई भारतीय सरकारले ‘पद्मभूषण’ जस्तो उच्चसम्मानले सुशोभित गरिसकेको थियो भने किरण बेदी भारतीय प्रहरी सेवाकी पहिलो वरिष्ठ महिला अधिकृत हुन् जो पछि अन्नासित मिलेर सामाजिक सेवामा लागिन् । अब उनी जनलोकपाल विधेयकको पक्षमा लागे । अन्ना हजारेको अनशन आन्दोलनमा सहभागी भए । मुख्य सहयोगीको भूमिका निभाउँदा निभाउँदै अन्नासँगै अरविन्दको चर्चा पनि शिखरमा पुगिसकेको थियो । अतः अनुकूल परिस्थितिबाट लाभ उठाई सन् २०१२ मा ‘आम आदमी’ दल गठन गरे । उक्त पार्टीले सन् २०१३ मा दिल्ली विधानसभाको चुनाव लड्ने निर्णय गर्‍यो र केजरीवाल मुख्यमन्त्री शिला दीक्षितविरुद्ध चुनावी मैदानमा खडा भएपछि भारतीय राजनीतिमा उनको स्थान पाँचौँमा गनिन थाल्यो । चुनाव त जिते नै ७० सिटको विधानसभाभित्र २८ सिट पार्टीलाई दिलाउन सफल भए । र, अल्पमतको सरकार बनाए । यसरी ३४ वर्षको कलिलो उमेरमै मुख्यमन्त्री बने । मुख्यमन्त्रीको रूपमा धेरैभन्दा धेरै लोकप्रिय कार्यक्रम लागू गरे । परिणामस्वरूप सन् २०१५ र सन् २०२० को चुनाव पनि जितेर देखाए । लगातार तेस्रो कार्यकालमा छन् । उनको नेतृत्व रहेको आम आदमी पार्टीले सन् २०१५ को चुनावमा ७० मा ६७ स्थान र सन् २०२० को चुनावमा ७० मा ६२ स्थान जितेको थियो । यतिखेर आमआदमीले दिल्ली मात्र होइन, पञ्जावमा समेत सरकार चलाउन थालेको छ । सन् २०१५ मा सम्पन्न विधानसभाको चुनाव जितेपछिको सभामा केजरीवालले भनेका थिए– ‘यो जितको हकदार दिल्लीका जनता त हुन् नै, सुनिता पनि हुन् । किनभने राजनीतिमा लाग्न मलाई उनैले उत्प्रेरणा दिएकी थिइन् ।’

छोटो समयमा राजनीतिमा उदाएका केजरीवालको सिको डा. बाबुराम भट्टराई, रवीन्द्र मिश्र, रवि लामिछानेजस्ता केहीले गर्न खोजेका छन् । लोकप्रिय नारा उरालेर सत्तामा पुग्ने सपना देखेका नेपाली राजनीतिज्ञहरू भने उनी जस्तो सफल बन्न सकेनन् । केजरीवाल बन्ने सपना देख्ने तर उनको कामको सिको नगरेकै कारण नेपालमा ‘केजरीवाल’ जन्मिन सकेनन् । भारतका झैँ नेपालका जनता पनि सचेत भइसकेका छन् । उनीहरूले विकासका हावादारी गफ हैन, व्यावहारिक रूपमै अनुभव गर्ने खालको विकास र राहत खोजेका छन् । नेपालको आर्थिक क्षेत्र चौपट भइसकेको छ । र यसले निम्न मध्यम वर्ग चर्को मारमा छ । जनता यो स्थितिबाट छुटकारा चाहन्छन् ।
 

टिप्पणीहरू