मोरङका कमरेडहरुबीच मारमुङ्ग्री
मंसिर अन्तिम साता काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि हिजो प्रतिनिधि छनोट निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक हुन थालेका छन् । जसअनुसार मोरङ क्षेत्र नम्बर ६ बाट तत्कालीन उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या भण्डारी समूहका नेता विनोद ढकालको प्यानलले संस्थापन पक्षलाई विशाल मतान्तरले हराएको छ । खुला, महिला र युवा—तीनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवारहरूले फराकिलो मतान्तरले संस्थापन पक्षलाई पराजित गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव कमल पौडेल संस्थापन–इतर पक्षका उम्मेदवार युवराज पौडेलबाट पराजित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर झापा–५ बाट विजयी पौडेल झापा,दमकका सक्रिय युवा पत्रकार हुन् । मुख्यमन्त्री कार्की एमाले अध्यक्षका थोरै विश्वास पात्रमध्ये एक मानिन्छन् ।
कोशीका छ जिल्लामा एमालेले महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिसकेको छ। प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार ताप्लेजुङ,पाँचथर,इलाम, तेह्रथुम,खोटाङ र सोलुखुम्बुमा निर्विरोध प्रतिनिधि छानिएका छन् । धनकुटा,सुनसरी,मोरङ, झापा,उदयपुर र ओखलढुंगामा भने निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ ।
धनकुटामा ईश्वर पोखरेल पक्षले एकलौटी गर्न खोजेको र धेरै ठाउँमा मतदान नै नभएको अर्को पक्षले आरोप लगाएको छ ।
यसरी भएको थियो पर्शुराम बस्नेतमाथि हातपात
हिजो विराटनगरको पाञ्चालीस्थित नेकपा एमाले मोरङ पार्टी कार्यालयमा भएको मतदानमा ओली पक्षधर पर्शुराम बस्नेत र भण्डारी पक्षधर ढकाल समूहबीच विवाद बढेपछि हातापात भएको हो ।
मतदानको क्रममा एक्कासी भनाभन भएपछि झडप र हात हालाहालसम्म पुगेको भिडियो समाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । भण्डारी समूहले बस्नेत पक्षले फर्जी मतदानको प्रयास गरेको आरोप लगाएको छ।
नेता ढकाल र कार्यकर्ताले बस्नेतले अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर दोहोरो मतदान गर्न खोजेकोमा कडा प्रतिवाद गरेका थिए । भिडियोअनुसार ढकाल समूहका कार्यकर्ताले ‘तपाईं अभिभावक होइन ? यसरी भोट हाल्न पाइँदैन’ भन्दै रोकेपछि झडप शुरु भएको थियो। सुरक्षाकर्मी र कार्यकर्तालाई स्थिति नियन्त्रणमा लिन निकै समय लागेको थियो ।
विराटनगर–१२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद शुरु भएको र बस्नेतले पटक–पटक एउटै व्यक्तिलाई किन ल्याइँदैछ भनेर आपत्ति जनाएपछि घटना बढेको बताए । बस्नेत एमाले खेलकुद महासंघका अध्यक्ष तथा कोशी प्रदेश सरकारको खेलकुद विकास बोर्डका पूर्व सदस्य सचिव हुन् ।
पहिले बस्नेत र ढकाल दुवै ओली समूहमा थिए । ढकालकै राजनीतिक संरक्षणमा बस्नेत अघि बढेका थिए तर पछिल्लो राजनीतिक उतार–चढावपछि उनीहरू फरक–फरक गुटतर्फ उभिएका हुन् ।
महाधिवेशनका लागि मोरङबाट ४६ प्रतिनिधि चयनका लागि ६ क्षेत्र तथा एक दलित क्लस्टरसहित ७ क्षेत्रमा शनिबार एक सय जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । कूल १४८ मध्ये ४८ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
दलितलाई पार्टीले नै ‘अछुत’ बनाएको आरोप
एमालेले दलित क्लस्टरमा अपनाएको नयाँ निर्देशिकाबारे दलित नेताहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन् । मुक्ति समाजका पूर्व वरिष्ठ उपाध्यक्ष तथा पूर्व राष्ट्रिय सभा सांसद खेम नेपालीले दलितले दलितलाई मात्र भोट दिन पाउने, गैरदलितले दलितलाई भोट दिन नपाउने—यस्ता नियमले पार्टीले नै दलित समुदायलाई ‘अछुत’ बनाएको टिप्पणी गरेका छन्।
विराटनगरका नेता खेम नेपाली, जीतनारायण सरदार र गीता शिवा इतर समूहबाट उम्मेदवार बने भने संस्थापन पक्षबाट किशोर विश्वकर्मा, पञ्चु सरकार र रिंकु परिवार उठेका हुन् । निर्देशिकामा दलितले गैरदलितलाई, गैरदलितले दलितलाई भोट दिन नपाउने व्यवस्था छ।
नेता नेपालीले भने, “हामीलाई अरुलाई भोट दिन नपाउने र अरूलाई हामीलाई भोट दिन नपाउने बनाएर पार्टीले नै अछुत बनायो।” उनका अनुसार यो व्यवस्था मानवताविरुद्धको व्यवहार र कानुनी हिसाबले समेत आपत्तिजनक छ।
एमाले मोरङमा एक हजार ५१० दलित संगठित सदस्य छन्। नेपालीले मतदानको समयमा आफूलाई यस्तो प्रतिबन्ध भएको थाहा भएको र यो निर्णय समानता–विचारधारासँग प्रतिकूल रहेको जिकिर गरेका छन्।
टिप्पणीहरू