देशभरबाट एमाले प्रतिनिधि छनौटको यस्तो आयो तस्विर
एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकाल अध्यक्ष हुन आतुर छन् । उनीमाथि हिजो शनिबार एघारौँ महाधिवेशन प्रतिनिधि छनोटलाई आफ्नो पक्षमा पार्न सकेको जति सबै गरेको आरोप लाग्यो । अपवादका रुपमा ओली पक्षले मोरङको महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको चुनावमा धक्कामुक्का व्यहोर्यो । त्यहाँ ओलीनिकट स्थायी कमिटी सदस्य भानुभक्त ढकालनिकट परशुराम बस्नेतले धक्का मुक्का खाने अवस्था आयो । अन्य जिल्लामा भने ओली पक्षले सकेजति प्रतिनिधि बटुलेको छ ।
शनिबार देशभर एकैपटक प्रतिनिधि चयन गरिँदा सबैभन्दा पहिले महासचिव शंकर पोखरेलकै गृहजिल्ला दाङमा गडबडी गरियो । पोखरेलको नाममा दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले सक्दो गरे । सर्वसम्मत चयन भनी २३ जनाको नाम सार्वजनिक गरिँदा तीन वटा गाउँपालिकाको भागमा एक जना पनि परेनन् । भूगोल अर्थात् कार्यकर्ताको प्रत्यक्ष मतबाट चुनिएर आउने प्रतिनिधिको संख्यामा भारी कटौती गरिँदा जिल्ला जिल्लामा लफडा भएको छ। भूगोलका प्रतिनिधि काटेर जनसंगठन र विभागबाट पकड बढाउने योजनाका कारण धेरै ठाउँमा लफडा भएको बताइन्छ ।
मंसिर २७ देखि २९ गतेसम्मको महाधिवेशनमा कूल २ हजार १ सय २७ प्रतिनिधि सहभागी हुँदैछन् । तिनमा भूगोलबाट निर्वाचित हुनेको संख्या १,१३५ मात्रै छ । जुन कूल संख्याको ५३ प्रतिशत हो ।बाँकी ९९२ जना प्रतिनिधि अर्थात् करिब ४७ प्रतिशत हिस्सा केन्द्रीय कमिटी,विभिन्न आयोग, विभाग,जनसंगठन र मनोनयनजस्ता गैरभौगोलिक संरचनाबाट आउँदैछन् । यसैबाट महाधिवेशनलाई नियन्त्रण गरेर जित निकाल्ने रणनीति ओलीको छ । ओलीको यो कदमले कार्यकर्ताको अभिमतलाई कमजोर पार्ने अनुमान छ ।
चितवनको भरतपुर र सौराहामा २०७८ मंसिरमा
सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि संरचनासँग तुलना गर्दा ११ औँमा ओलीले भूगोललाई निकै कमजोर बनाइदिएका छन् । ओलीलाई टक्कर दिन लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूगोलबाटै धक्का दिन सक्थे । तर भूगोललाई कमजोर पारेर विभाग र जनसंगठनको बलमा जित्ने रणनीति तयार गरिएको प्रष्ट छ । दशौँ महाधिवेशनमा जम्मा २,१७५ प्रतिनिधि थिए । तिनमा १,५६२ जना अर्थात् करिब ७२ प्रतिशत प्रतिनिधि भूगोलका थिए ।
दशौँ महाधिवेशनमा जम्मा २,१७५ प्रतिनिधि थिए । तिनमा १,५६२ जना अर्थात् करिब ७२ प्रतिशत प्रतिनिधि भूगोलका थिए । उक्त महाधिवेशनमा केन्द्रीय कमिटी र माथिल्ला संरचनाबाट ६१३ अर्थात् २८ प्रतिशत मात्रै प्रतिनिधि आउँथे । यो महाधिवेशनमा आफूलाई चुनौती दिनेलाई कमजोर बनान भूगोलबाट आउनेको संख्या ४२७ ले घटाइएको छ ।
उक्त महाधिवेशनमा केन्द्रीय कमिटी र माथिल्ला संरचनाबाट ६१३ अर्थात् २८ प्रतिशत मात्रै प्रतिनिधि आउँथे । यो महाधिवेशनमा आफूलाई चुनौती दिनेलाई कमजोर बनाउन भूगोलबाट आउनेको संख्या ४२७ ले घटाइएको छ । यता गैर—भूगोलको संख्या ३७९ ले वृद्धि गरिएको छ। यति हुँदा पनि ओली पक्षले कम्तीमा आधा दर्जन बढी जिल्लामा तलमाथि गर्न भ्याएको देखिन्छ ।
भूगोलका प्रतिनिधि घटाएर कार्यकर्ताको प्रत्यक्ष मतलाई कमजोर बनाइसकेपछिओली पक्षले नेतृत्वको रोजाईकाहरूको संख्या बढाएर नतिजा आफ्नो पक्षमा पार्न जोडबल गरेको छ। ओलीनिकट नेताहरूले यस पटकको महाधिवेशनमा १५ सयभन्दा कम प्रतिनिधि बनाउनुपर्ने भनेका थिए । तर त्यो प्रस्ताव अस्वीकृत भयो ।
प्रतिनिधि छान्दै पेलान
एमाले अध्यक्ष ओलीले गत कात्तिक १८ गते जारी गरेको अन्तरपार्टी निर्देशन—१३ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर १,२०० संगठित सदस्य बराबर ४ जना प्रतिनिधि हुने भनिएको थियो । जसमा एक महिला र एक ४० वर्षमुनिका युवा अनिवार्य ल्याउनुपर्ने थियो ।
त्यस्तै थप ८०० सदस्य बराबर एकजना प्रतिनिधि थपिने नियम थियो । यस प्रक्रियाबाट जम्मा १,१३५ प्रतिनिधि भूगोलबाट आएका छन् । बाँकी ९९२ प्रतिनिधि विभिन्न माथिल्ला संरचनाबाट स्वतः आएका छन् । जसमा केन्द्रीय सदस्य ३५५ जना, अनुशासन,लेखा र निर्वाचनसहित तीन केन्द्रीय आयोगबाट ८४ जना, केन्द्रीय सल्लाहकार परिषद् २५ जना, प्रदेश र विशेष कमिटीहरू ९२ जना, दलित, मजदुर, प्रवास, विभाग र जनसंगठनबाट ३३५ जना र मनोनीत जम्मा निर्वाचितको ५ प्रतिशतसहित १०१ जना आएका छन् ।
कोटामा कैँची
पार्टी सदस्यता शुद्धीकरण अभियान चलाएको कारण संगठित सदस्य ८ लाख ५५ हजारबाट घटेर ६ लाख ६३ हजार भए । भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि एमाले छाड्ने लहर नै चल्यो । त्यसअघि नै माधवकुमार नेपालहरूले ठूलो पंक्ति लगिसकेका थिए । कात्तिक १९ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी बनेपछि एमालेलाई अझै धक्का लागिरहेको छ । संगठित सदस्यको यही ओरालो यात्राले भूगोलको प्रतिनिधि संख्या घटेको तर्क ओलीनिकट नेताहरुले गरेका छन् ।
एमालेले आफ्नो जरा मानिने भूगोलमा सदस्यता शुद्धीकरणका नाममा कार्यकर्ता घटाउँदा नेताको मनोमानी चल्ने माथिल्ला निकाय,केन्द्रीय कमिटी र विभागहरूको आकार बढाएको छ। आकार बढाएका यी निकायबाट स्वतः प्रतिनिधि हुने व्यवस्था गरेर सजिलो बनाइएइको छ । दशौं महाधिवेशनमा विभागहरूबाट थोरै प्रतिनिधि हुन्थे ।
११ औँमा बढाएर ३२ जना पुर्याइयो । केन्द्रीय निकायमा प्रतिनिधि बढाएपछि ओलीले आगामी महाधिवेशनमा आफूले निर्देशनात्मक भाषण दिएर सिधै नेतृत्व चयनमा प्रवेश गर्ने बताएका छन् । उनले यस्तो भनेर आफूसँग प्रतिस्पर्धा गर्न आउनेलाई तर्साउन खोजेकोमा कुनै शंका थिएन । ।
ओलीले महेश बस्नेतलाई अगाडि सारेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हुर्मत लिन छाडेका छैनन् । भूमिगत समयमा पार्टी बनाउन ठूलो योगदान गरेका पोखरेललाई लक्षित गर्दै ओलीले चित्त नबुझ्ने नेता,कार्यकर्ताले पार्टी छोड्न सक्ने बताइरहेका छन् । ओलीको यही आतंक महाधिवेशन प्रतिनिधि छनोटमा पनि देखियो ।
प्रतिनिधि छनोट गर्ने दिन नआउँदै विवाद देखिए । कतै संगठित सदस्यता गायब पारियो भने कतै एक वर्ष पुरानो फेसबुक स्टाटसलाई लिएर निलम्बन नै गरियो । कैलालीमा महाधिवेशन प्रतिनिधि हुन नदिन जिल्ला कमिटीले १३ जना नेताको संगठित सदस्य खाइदियो ।
त्यहीकारण कैलालीका सचिवालय सदस्य दीपक रावल र जिल्ला कमिटी सदस्य जनक खड्काले पार्टी छाडे । उनीहरू कैलाली क्षेत्र नम्बर १ टीकापुर क्षेत्रका प्रभावशाली युवा नेता थिए । पार्टी सदस्यबाट हटाइएपछि अपमान गरिएको भन्दै एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरिसकेका छन् । एमाले कैलाली जिल्ला कमिटी सदस्य एमव् युवासंघका पूर्व सचिवालय सदस्य जनक खड्काले अन्याय सहन नसकेर छाडेको बताए ।
मंसिर १३ मा भएको महाधिवेशन प्रतिनिधि छनोट अघि नबढ्दै सुनसरी,भोजपुर र कैलालीमा आफ्ना विरोधीलाई ठेगान लगाउने काम भयो । कोशी प्रदेश इन्चार्ज शेरधन राईले हालिमुहाली गर्दै आएको भोजपुरमा कुनै बेला उनकै लागि आर्थिक सहयोग गरिरहने कृपाशुर शेर्पालाई ६ महिनाका लागि निलम्बन गरियो । उता सुनसरीमा कोशी प्रदेश कमिटीले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरीलाई निलम्बन गर्यो । ६ महिने निलम्बनका कारण पूर्व पर्यटनमन्त्री शेर्पा र चौधरीले महाधिवेशन प्रतिनिधि बन्न पाएनन् ।
शेर्पाले आफूसँग रिसइबी साँध्न शेरधनले भोजपुर अध्यक्ष मक्कर खड्का र सचिव एक्सन राईलाई प्रयोग गरेको भनेर सार्वजनिक वक्तव्य नै दिए । रोचक त के छ भने एमाले भोजपुरका अध्यक्ष खड्का शेर्पा पर्यटमन्त्री हुँदा र शेरधन मुख्यमन्त्री हुँदा यी दुवैका स्वकीय सचिव थिए ।
तर राईले बालिका खड्कासहितको काण्डमा आफूलाई बदनाम गराएको भन्दै शेर्पालाई खड्कामार्फत् कारबाही गरे । जबकि शेर्पाले २०८१ फागुनमा मोरङ एमालेको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले कब्जा गरेपछि त्यसको समर्थनमा फेसबुकमा लेखेका थिए । एक वर्षअघिको सामान्य फेसबुक स्टाटसलाई लिएर शेरधनले कृपाशुरलाई महाधिवेशन प्रतिनिधिमा छेक्न पुरानो रिसइबी साँधे ।
कैलालीमा जिल्ला कमिटी सदस्यहरू दीपक रावल, प्रकाश खड्का,सुरतबहादुर बिष्ट,पूर्वप्रदेश सदस्यहरू सावित्रा देवी सापकोटा र जयनारायण जोशीको सदस्यता जिल्ला कमिटीले खाइदियो ।
चाउचाउका बट्टामा मतदान

धनकुटामा ओली गुटकै दुई समूहबीच शनिबार महाधिवेशन प्रतिनिधि छनोटमा हानाहानको अवस्था आयो । त्यहाँ असन्तुष्ट पक्ष भनिएका इन्द्रमणि पराजुलीसहितले राजेन्द्र राई पक्षले गरेको मतदान अमान्य हुने बतायो । र निर्वाचन बहिस्कार गर्नुअघि बुथमा तोडफोडसमेत गरियो ।
त्यहाँ चाउचाउका बट्टामा मत खसालेर ४ जना प्रतिनिधि पराजुली र ९ जना राई पक्षलाई दिने सहमति भएको थियो । त्यहाँको असन्तुष्ट समूहमा केन्द्रीय सदस्य शकुन्तला बस्नेत पनि थिइन् । नेताहरू चन्द्र बस्नेत,मञ्जु अधिकारी,बलदीप राई, निरेन तामाङ र तारा तितुङले पनि राजेन्द्र राई पक्षको विरोध गरेको छ । धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् ।
बिराटनगरको ब्यथा
पाञ्चालीमा प्रतिनिधि छनोटका लागि भएको मतदानका क्रममा नगर इन्चार्ज परशुराम बस्नेत र इतर समूहबीच हात हालाहाल भयो । बस्नेतले पहिलो पटक कुटाइ खाएको दृश्य त्यहाँ देखियो ।
मोरङमा एमाले नेता विनोद ढकालको पकड छ । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा छन् । ढकालकै पहलमा मोरङ र विराटनगर महानगर कमिटीमा ओली पक्षको बिजोग भएको छ। प्रतिनिधि छनोट विवाद बढेपछि नेता ढकाल आफैं त्यहाँ पुगेका थिए । तनाव बढ्दा मतदान रोकियो । यद्यपि मोरङबाट ४६ जना प्रतिनिधि चयन भइसकेका छन् ।
महासचिवको नाम बिक्री
एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा विधि र प्रक्रियाविपरीत प्रतिनिधि चयन गरिएको कुरालाई लिएर लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले केन्द्रीय संगठन विभागमा उजुर हालेका छन् ।
जिल्ला कमिटीले २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएको बताए पनि सुरेश गौतमले स्वेच्छाचारी शैलीमा निर्णय गरिएको बताए ।
उता रघुवीरको पेलान
धनुषा क्षेत्र नम्बर ४ को प्रतिनिधि छनौट प्रक्रियामा एमाले सचिव रघुवीर महासेठ पक्षधरले धाँधली गरेको आरोप लाग्यो । फर्म बुझाउने प्रक्रिया चलिरहेका बेला मंसिर १२ गते छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा विपक्षीको फर्म च्यातेर महासेठ पक्षधरले फ्याँकिदिए । मनोनयन दर्ता प्रक्रियामै सहभागी हुन नदिन महासेठ पक्षधरले यस्तो काम गरेको युवा नेता सचिन यादवले बताए ।
अर्का युवा नेता धीरेन्द्रकुमार मण्डलले आफूहरूलाई प्रतिनिधि छनोट प्रक्रियामै भाग लिन नदिइएको बताए ।
मनोनयन पत्रको फर्म भरेर दर्ता गर्न गएका युवा नेताहरू धीरेन्द्र मण्डल,सचिन यादव,आरपी यादव, विमल यादव,वीरेन्द्र यादव,रोशन यादव लगायतलाई त्यहाँ रोकियो । मनोनयन दर्ताअघि नै पत्र च्यातेर फ्याँकियो ।
गुलाबी गडबडी
एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाह अचेल आफूलाई केन्द्रीय अध्यक्ष ओली निकट मान्छन् । जिल्ला अधिवेशनमा आफूनिकट भीमबहादुर सेन समूहलाई जिताएका उनले यस पटक पनि त्यही गरे । जिल्ला अधिवेशनमा आफूविरुद्ध लडेकालाई ठेगान लगाउन तिनलाई छलफलमै सहभागी गराएनन् ।

होटलमा बसेर एकलौटी प्रतिनिधि छनोट गरे । काशीनाथ अधिकारी नेतृत्वको केन्द्रीय सङ्गठन विभागले प्रतिनिधि छनोट गर्न दिएको पाँच बुँदे निर्देशनलाई लत्याए । सल्यानमा कुनै सूचना, जानकारी र बैठकसमेत नगरी शाहले गुपचुप प्रतिनिधि छाने ।
अर्को पक्षलाई निषेध गरेर शाहले खुल्लातर्फ भीमबहादुर सेन (अध्यक्ष),ओजबहादुर बुढाथोकी (उपाध्यक्ष),घनश्याम शर्मा र लालबहादुर रावतलाई प्रतिनिधि बनाए । महिलातर्फ पुष्पाकुमारी बोहोरा (सचिव) र सनशीलता वली (डिसी), ४० वर्षमुनिको तर्फबाट गणेशमान सिंह (उपसचिव) र दलिततर्फ भीउसेन नेपालीलाई प्रतिनिधि बनाए ।
त्यता अर्कै खेल

उता कोशीको पहाडी जिल्ला ओखलढुंगामा पनि महाधिवेशन प्रतिनिधि छनोटमा विवाद र कचिंगल हुँदा २० जना उम्मेदवारले असहमति जनाए ।
संविधानसभा सदस्य हर्कबोल राई,नेता शकुन्तला राजभण्डारी,पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेतृत्वको विरोधमा उत्रिए ।
ओखलढुंगाबाट महाधिवेशनमा १२ प्रतिनिधि चयन गर्नुपर्ने थियो । तर केही नेताले बलपूर्वक सूची टाँस्ने प्रयास गरेपछि प्रतिकार भयो । विरोध भए पनि त्यहाँ महाधिवेशन प्रतिनिधि छानिएको छ।
अध्यक्ष नै जिल्लाराम

अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि छनोट हुँदा जिल्ला कमिटी अध्यक्ष शिवप्रसाद उपाध्याय पर्न सकेनन् । उनले आफ्नो नोमिनेशन नै फिर्ता लिनुपर्यो । खुलातर्फका चारवटा कोटामा उपाध्यक्षसहित ६ जनाको उम्मेदवारी थियो । चारजनाको कोटामा ६ जनाको उम्मेदवारी परेपछि अध्यक्ष उपाध्याय पछि हटे ।
उनी र प्रदेश कमिटी सदस्य भीमबहादुर विष्टले उम्मेवारी फिर्ता लिएपछि चारजना सर्वसम्मत महाधिवेशन प्रतिनिधि बने । ती दुई हट्दा पूर्वअध्यक्ष चन्द्रबहादुर बोहोरा,पूर्वसचिव भीमबहादुर रावल कालोटोपी,पूर्वउपाध्यक्ष बलबहादुर कुँवर र पूर्वप्रदेश कमिटी सदस्य बमबहादुर बिसी निर्विरोध भए ।
एमालेबाट निकालिएपछि नेकपामा सक्रिय भीम रावलको जिल्लासमेत रहेको अछाममा एमाले दिनदिनै कमजोर बनिरहेको छ। त्यहाँ एकपछि अर्का कार्यकर्ताले पार्टी छाडिरहँदा जिल्ला अध्यक्ष नै महाधिवेशन प्रतिनिधि चयन हुन नसकेको अनौठो घटना हुन पुग्यो । यो क्षेत्रबाट महिलामा सरिता उपाध्याय र निर्मलाकुमारी धमला महाधिवेशन प्रतिनिधि भए । ४० वर्षमुनितर्फ टोपबहादुर शाही आए ।
टिप्पणीहरू