गेरु वस्त्रमा नेताहरू

गेरु वस्त्रमा नेताहरू

भारत भ्रमणमा गएका प्रधानमन्त्रीलगायत जम्मै मन्त्रीहरू गेरु वस्त्रमा प्रकट भएपछि नेपालमा ठूलै आलोचना भइरहेको छ । नेपालका कुनै पनि मन्त्री, प्रधानमन्त्रीले यसरी सामुहिक गेरु वस्त्र धारण गरेको हामीलाई थाहा थिएन । वस्त्र धारणमा यो ऐतिहासिक घटना नै हुनुपर्छ । 

तर भारतले नेपालका प्रधानमन्त्री, मन्त्रीहरूलाई किन यसरी गेरु वस्त्र लगाउन दिएको होला ! यो भने ठूलै जिज्ञासाको विषय बनेको छ । मैले भारतकै एक विशिष्ट कूटनीतिज्ञलाई यो प्रश्न राखेको थिएँ, ‘यो तपाइँहरूले के गर्नुभएको ? त्यत्रो प्रधानमन्त्री, मन्त्रीजस्तो नेताहरूको वस्त्रै परिवर्तन गरिदिने ? यो त राम्रो भएन ।’

भारतीय कूटनीतिज्ञले भने, ‘हेर्नोस्, नेपालका प्रधानमन्त्री र मन्त्रीज्यूहरूले गेरु वस्त्र लगाएका छन्, यसमा तपाइँ धन्य मनाउनुस् । वस्त्रकै कुरा गर्ने हो भने स्थिति योभन्दा भयावह छ ।’
‘कस्तो भयावह ?’ म आफैँ भयावह अवस्थामा पुगिसकेको थिएँ । 

उनले भने, ‘नेपालका प्रधानमन्त्री, मन्त्रीहरू नेपालबाट आउँदा जस्तोसुकै वस्त्र लगाएर आए पनि जब हाम्रा कुनै मन्त्री वा प्रधानमन्त्रीलाई भेट्छन् नि, त्यसपछि पूरै निर्वस्त्र भइसक्छन् । लगाएर आउने वस्त्र त नेपालमा मात्रै हो । दिल्ली पुगेपछि शरीरमा कुनै वस्त्र बाँकी रहँदैन । एक चरणको वान टु वान वार्तापछि पूरै निर्वस्त्र भइसकेका हुन्छन् ।’

‘हैट ! यस्तो पनि हुन्छ ?’ मैले प्रतिवाद गरेँ । 

‘हुने नै त्यही हो, ’ उनले थपे, ‘निर्वस्त्र भइसकेपछि शरीर त केहीले ढाकिदिनुप¥यो नि ! बस्, गेरुले ढाकिदिने हो । बिना वस्त्र त बाहिर जानु भएन । कमसेकम लाज त बचाउनुप¥यो नि ! त्यही लाज बचाउन गेरु लगाउने हो । बुझ्नुभयो ?’

कूटनीतिज्ञज्यूको तर्क सुनेर म ट्वाँ परेँ । पत्याऊँ कसरी पत्याऊँ ? नपत्याऊँ गेरु वस्त्र अगाडि नै छ । अब गर्ने के ?

 

टिप्पणीहरू