बैंकका बोसलाई साढे २ करोड, जनता बेहोस

बैंकका बोसलाई साढे २ करोड, जनता बेहोस

कोरोना महामारीलाई दोष लगाउँदै बैंक तथा वित्तीय संस्थाले तीन वर्षदेखि खर्च कटौतीको नारा जपेका छन् । तर, यही बेला बैंकहरूको खुद नाफाले भने छलाङ मार्दै आएको छ । कर्मचारी र तिनका सुविधाचाहिँ भारी मात्रामा कटौती गरिएको छ । उता, उपल्लो तहका हाकिमहरूको बर्सेनि तलब, भत्ता र सुविधा हजार होइन, लाखौंमा बृद्धि भएको छ ।

यस्तो अवस्था एनआइसी एशिया बैंकमा सबैभन्दा बढी देख्न पाइन्छ । नाफा घटेको नाममा खर्च कटौतीको दाबी गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपानेको तलब, भत्ता र सुविधामा पछिल्लो चार वर्षमा मात्रै वार्षिक लाखौं रूपैयाँ बृद्धि भएको छ । अर्कोतर्फ, बैंक चलाउन ‘पेड इन्टर्नसिप’ भन्दै सामान्य रकम दिएर १२ घण्टा काममा लगाउन कर्मचारी माग गरिएको छ । 

प्राप्त विवरणअनुसार न्यौपानेले अघिल्लो आर्थिक वर्ष दुई करोड ३४ लाख रूपैयाँ तलब–भत्ता बुझेका थिए । उक्त रकममध्ये १ करोड ८० लाख तलब र भत्ता हो भने ५४ लाख रूपैयाँ बोनस । त्यसअघिको आर्थिक वर्षमा २ करोड १३ लाख रूपैयाँ हात पारेका थिए । तीन वर्षअघि १ करोड ७६ लाख बुझेका उनलाई बैंकले महँगो सवारी साधन, असीमित इन्धन, चालक, चालक खर्च र अन्य घरायसी सुविधा पनि दिँदै आएको छ । त्यसबेला बैंकको उच्च व्यवस्थापन विभागले ३७ लाख रूपैयाँ बढी दिएको थियो । जतिबेला नेपाललगायत विश्वभर कोरोना महामारी थियो ।

यो हिसाबले हेर्दा पछिल्ला चार वर्षमा उनको तलब, भत्ता र सुविधाबापत वार्षिक ५८ लाख रूपैयाँ बढोत्तरी भएको प्रष्ट छ । यो भनेको मासिक औसत ५ लाख रूपैयाँ वृद्धि हो । सोही रकमलाई दिनमा भाग लगाउँदा बढेको तलब मात्र दैनिक औसत १६ हजार ६ सय ६६ रूपैयाँ पर्न आउँछ । कूल आम्दानीलाई भाग लगाउँदा दैनिक कूल तलब ६४ हजार बढी हुन्छ । 

बैंकमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म काम गर्ने सामान्य कर्मचारीले न्यौपानेको तलबको औसत दैनिक रकमको चार भागको एक भाग स्थायीबाहेक अन्यले मासिक पनि पाउँदैनन् । ‘सिइओले पाउने दैनिक ६४ हजार रूपैयाँको चार भागको एक भाग अर्थात् १६ हजार कमैले पाउँछन्’, नेपाल राष्ट्र बैंक, बैंक सुपरीवेक्षण विभागका एक जना उपनिर्देशकले बताए ।

बैंकले अघिल्लो आर्थिक वर्ष ४ अर्ब ५२ करोड रूपैयाँ खुद नाफा गरेको थियो । जुन रकम त्यसअघिको आर्थिक वर्षभन्दा ३९ प्रतिशत बढी हो । दुई वर्षअघि एनआइसीले ३ अर्ब २५ करोड नाफा गरेको देखिन्छ । चालु आर्थिक वर्षको गत चैतसम्मको नौ महिनामा ३ अर्ब ६० करोड ४५ लाख ९९ हजार नाफा गरेको छ । यो हिसाबले आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा ४ अर्ब ७५ करोड खुद नाफा हुने पक्का छ । 

दिन दुई गुणा, रात चौगुणा नाफा गर्ने, सीईओको तलब औसतमा मासिक ५ लाखको दरले बढ्दै जाने गरेको एनआइसी एशिया बैंकले जनताका छोराछोरीको हाड घोटाउन भने पेड इन्टर्नसिप अर्थात् वैतनिक कामदार माग गरेको छ । कर्मचारीको हैसियतमा विज्ञापन गर्दा तुलनात्मक रूपमा धेरै तलब, भत्ता र सुविधा दिनुपर्ने भएपछि उच्च तहका हाकिमहरूले अंग्रेजीमा पेड इन्टर्नसिपको सुगर कोटेट विज्ञापन गरेका हुन् ।

मुश्किलले १५ हजार रूपैयाँको निम्ति वैतनिक इन्टर्नसिपको आह्वान गर्नु भनेको विगतमा बँधुवा मजदुरको आधुनिक रूप हो । नगद, फ्रन्ट डेस्कलगायत अपजस आउने र जोखिम मोल्नुपर्ने फाँटमा यी पेड इन्टर्नलाई जागिर दिन लागिएको छ, ’ एनआइसी एशियाको मुख्य कार्यालयमा कार्यरत एक जना अधिकृतले बताए । उनका अनुसार तलब धेरै दिननपर्ने, अन्य सुविधा दिनैनपर्ने, काम भने रगडेर लिन पाइने भएपछि ठूला लगानीकर्तालाई खुशी पार्न उच्च व्यवस्थापनले नयाँ थ्यौरी अपनाएको हो ।

यससम्बन्धमा राष्ट्र बैंकका अधिकारीहरूले विज्ञापन देखेपछि सूक्ष्म अध्ययन गरिरहेको बताए । ज्यालादारी कर्मचारीको परिभाषालाई अंग्रेजीकरण गरेर पेड इन्टर्नसिपको नाममा विज्ञापन गरिएको जानकारी प्राप्त भएको उनीहरूको भनाई छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका एक जना अधिकृतले भने, ‘एनआइसीको दादागिरी बढ्यो । जनताका छोरछोरीलाई रगडेर आफू करोड तलब र बोनस खाने उपाय अपनाइएको छ । यो केन्द्रीय बैंकको निर्देशनको ठाडै उल्लंघन हो ।’

‘कारवाही हुँदैन ?’ भनेर सोधिएको जिज्ञासामा उनले भने, ‘थप अध्ययन गरिरहेका छौं । सुपरिवेक्षण विभागले हेर्दै छ । जनगुनासोका आधारमा हाम्रै विभागले पनि कारबाही प्रक्रिया अघि बढाउनेछ ।’

– द्रव्य शाह


 

टिप्पणीहरू