पालिकाको प्रगति विवरणसँगै भात, भान्छा र भत्ताको चर्चा

पालिकाको प्रगति विवरणसँगै भात, भान्छा र भत्ताको चर्चा

सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई यतिखेर प्रगति र उपलब्धी सुनाउन भ्याईनभ्याई छ । आफूले जितेको एक वर्षभित्र पालिकाबाट के कस्ता उपलब्धी भए भन्नेबारे हुलका हुल सञ्चारकर्मी बोलाउँदै भात, भत्ता बाँडदै स्थानीय तहहरुले एक वर्षको प्रगति विवरण सुनाइरहेका छन् ।

हालसम्म मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकाले त्यस्ता विवरण सुनाइसकेका छन् । यता चौतारा र बाह्रबिसे नगरपालिकाले भने पत्रकारहरुलाई नगदै भत्ता दिएको प्रगति सार्वजनिकीकरण गर्ने योजना राखेको बुझिन आएको छ ।

एक वर्षभित्र गरेका मुख्य कार्य सबै स्थानीय तहले भत्ता वितरणलाई नै उल्लेख गरेको देखिन्छ । विषयगत शाखाहरुद्वारा सम्पादन गरेका नियमित कार्यक्रमलाई नै प्रगति विवरणको रुपमा फुक्न थालेपछि धेरैले अचम्म मानेका हुन् ।
मेलम्ची नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले पछिल्लो एक वर्षभित्र जनताले अनुभूति गर्नसक्ने उपलब्धीबारे जिज्ञासा राख्दा मेयर आइतमान तामाङले आफूहरुले गरेको कार्य हेर्न धुलो भएको ठाउँमा जान ओठे जवाफ दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोलाइएका अधिकांशले थप प्रश्न तेर्साउनुको साटो उल्टै भातभान्छा गर्दै र भत्ताबुझ्दै कुलेलाम ठोकेका थिए । यसबाट पनि नगरपालिकाले खासै उपलब्धी हासिल गर्न नसकेको स्पष्ट भएको हो । 

विषयगत शाखाद्वारा किसानलाई ट्याक्टर दिएको, भैंसी बाख्रा पालनमा अनुदान दिएको, अस्पतालमा प्रसूती गराउनेको संख्या बढेको जस्ता प्रगतिहरुमात्रै समावेश गरिएका थिए । तर, कृषि उत्पादन, रोजगारी र विशेष उत्पादनमा नगरपालिकाले गरेको योगदानबारे कुनै चर्चा भएको देखिँदैन ।

यता पाँचपोखरी थाङपालले सुनाएको प्रगति पनि अरु पालिकाकै सिको भएको सहजै अनुमान लगाउन सकिन्छ । आवास र भोजनसँगै भत्ताको पनि व्यवस्था गरिएको प्रगति सार्वजनिकीकरण कार्यक्रममा हुल बाँधेर धेरै जना पुगेका थिए । विवरणमा भने विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिइएको, विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको उल्लेख छ । उत्पादनमुखी र रोजगारी वृद्धिबारे केही लेखिएको छैन ।

सञ्चारकर्मीहरुलाई भोजनसहित राम्रै भत्ता प्रदान गरेपछि सकारात्मक समाचारको आशामा सार्वजनिकीकरण गरिएको पालिकाहरुको प्रगति विवरण बेढंगी भएपछि अधिकांश सञ्चारमाध्यमले समेटेका छैनन् । स्थानीय तहका प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीहरुको उदेकलाग्दो उपस्थितिले स्थानीय गैरसरकारी संस्थाका हर्ताकर्तालाई समेत झस्काइदिएको छ ।

चालु जेठ महिनाभित्र जिल्लाका अन्य पालिकाहरुले पनि एक वर्षको प्रगति सुनाउने योजना बनाएका छन् । बाँकी रहेका गाउँ र नगरपालिकाहरुले पनि यसअघिकाले भन्दा पृथक विवरण पस्कने सम्भावना अत्यन्त न्यून छ ।

टिप्पणीहरू