बल्खुको सुमोपार्क शनिबारभित्र खाली गर्नु : त्रिभुवन विश्वविद्यालय

बल्खुको सुमोपार्क शनिबारभित्र खाली गर्नु : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाले काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बल्खुस्थित सुमोपार्कको जग्गा खाली गर्न निर्देशन दिएको छ । 

महाशाखाले आगामी पाँच दिनभित्र उक्त जग्गा खाली गर्न चेतावनीसहितको निर्देशन दिएको छ । अटेर गरेमा विश्वविद्यालय आफैँले बलपूर्वक जग्गा खाली गराउने चेतावनी दिइएको छ । 

त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनका लागि छुट्याएको बताएको छ । तर, संघले प्रशंसा बस्नेतसँग सम्झौता गरी जग्गा भाडामा दिएपछि त्रिविले प्राध्यापक संघबाट जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ । 

यता त्रिविको निर्णयविरुद्ध बस्नेतले काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । तर, दुबै मुद्दामा दाबी नपुग्नै भन्दै अदालतले मागदाबी खारेज गरिसकेको छ ।

यसअघि गत फागुन १५ र पुस १७, २०७८ फागुन ३० र २०७७ चैत ६ गते पत्रमार्फत् पटक पटक उक्त जग्गा खाली गर्न आग्रह गरिएको थियो । तर अटेर गरेपछि विश्वविद्यालयले पछिल्लो पटक पाँच दिनभित्र जग्गा खाली गर्न चेतावनी दिएको हो । 

अब उक्त जग्गामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले अस्पताल बनाउने तयारी गरेको छ । जग्गामा कम्पाउण्डवाल लगाउन बोलपत्रसमेत आह्वान गरी सम्झौता भइसकेको बताइन्छ ।

टिप्पणीहरू