घाम लाग्ने समयमा लहान अन्धकार, सवारी साधन बत्ति बालेर गुड्न बाध्य

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजार र वरपरको क्षेत्र आज बिहानैदेखि अन्धकारमय बनेको छ । बिहान पौने ९ बजेको समयदेखि लहान एकाएक अन्धकारमय बनेको बताइएको छ ।

सामान्य हावाहुरी चलेपछि मध्य तराई अँध्यारो बनेको हो । लहानको दुलिचन्द अतिथि सदन छेउमा चिया पसल सञ्चालन गर्दै आएका स्थानीय मशिलाल चौधरीले तीन वर्षअघि पनि दिउँसै आजको जस्तै अँध्यारो भएको बताए ।

एक्कासी अँध्यारो छाएपछि सडकमा गुडेका सवारी साधनहरूले बत्ति बालेका छन् । जिल्ला ट्राफिक कार्यालय सिरहाका सहायक प्रहरी वरिष्ठ नायव निरीक्षक विदुरमणि भट्टराईका अनुसार रातझैँ भएको छ ।

अँध्यारो बढेपछि दैनिक ज्यालादारी गर्ने मजदूरहरूको काम प्रभावित भएको छ । अन्धकारसँगै विद्युत सेवा अवरुद्ध भएको छ । अहिले लहानमा मुसलधारे पानी परेको छ । लगातारको बिजुली चम्केसँगै डरलाग्दो मेघगर्जनले स्थानीय डराएका छन् ।

टिप्पणीहरू