अमेरिकालाई मुर्ख बनाउन खोज्नेहरुका आँकडा

अमेरिकालाई मुर्ख बनाउन खोज्नेहरुका आँकडा

अहिले मुलुक नक्कली भुटानी शरणार्थी प्रकरणले आक्रान्त छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरूको बेइज्जत भएको यो प्रकरणका सुल्झिन नसकेका केही पाटा छन् । नेपाल नामका एउटा देशको नागरिकलाई अनागरिक बनाएर अमेरिका पठाउने धन्दामा संलग्न नेताहरू देख्दा मुलुकको शिर झुकेको छ । अर्काेतर्फ संसारका मै हुँ भन्ने नटवरलालहरूलाई माथ गर्ने र एक नम्बर दावी गर्ने अमेरिकालाई मूर्ख बनाउने ल्याकत नेपालीमा रहेको प्रमाण यो प्रकरणले दिएको छ । कुनै बेला भुटानीलाई छिःछिः दुर्दुर गर्नेहरू आफैँ किन भुटानी हुन अग्रसर भए ? प्रश्न पेचिलो छ । तिनै भुटानीको भाग खोस्न किन अग्रसर भए ? प्रश्न स्वाभाविक छ । यसका निम्ति बहुसाँस्कृतिक पहिचानको पक्षमा उभिएर रैथाने रेड इण्डियन (माया, इत्जेक र इन्का आदि) लाई पेलान दिने नीति जति जिम्मेवार छ, त्यत्तिकै जिम्मेवार हाम्रो गरिबी छ । मगन्ते र खान नपाउनेहरू हुञ्जेलसम्म मदर टेरेसा जन्मिरहन्छ भन्ने कुरालाई ख्याल गर्ने हो भने नेपाल आत्मनिर्भर नहुञ्जेलसम्म यस्ता प्रकरण जन्मिरहन्छन् । मै हुँ भन्नेहरूलाई दलालले ‘चोरका हजार दाउ’ मञ्चन गर्दै ड्याङ ख्वाइरहन्छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरिने हो भने दलालको रूपमा दलका नेता देखिएका छन् । गज्जबको कुरा यो छ कि यी दलाललाई लाखौं रूपैयाँ बुझाएर गैरनागरिक हुन चाहने नेपाली (?) पीडित छन् । विडम्बना, जसलाई यो देश मन पर्दैन, जो देश त्याग्न चाहन्छ, जसले यो देशको नागरिक हुँदा आत्मग्लानि अनुभव गर्छ, जो यो देशको बासिन्दा हुँदा हीनताबोध गर्छ, तिनैका पक्षमा हामी न्याय खोजिरहेका छौं । मानव तस्करीमा पल्केका दलाल नेताहरूको मतियार भई अनागरिक हुन लालायित खराब नेपालीहरूको पक्षमा वकालत गर्न बाध्य छौं । र, हामी गैरनेपाली हुन खोज्नेहरूलाई सघाउने फन्टुस दलाल नेताको विपक्षमा मात्र कुर्लेका छौं तर मानव तस्करीमा प्रत्यक्ष सहभागी हुन चाहने र नेपाली नागरिकतालाई रद्दीको टोकरीमा फाल्न करोडौं रुपैयाँ खर्चिनेविरुद्ध चुपचाप छौं । यो हजमको विषय भएन ।

अमेरिकालाई मूर्ख बनाउने ल्याकत नेपालीमा रहेको प्रमाण यो प्रकरणले दिएको छ । कुनै बेला भुटानीलाई छिःछिः दुर्दुर गर्नेहरू आफैँ किन भुटानी हुन अग्रसर भए ? तिनै भुटानीको भाग खोस्न किन अग्रसर भए ?

दलाल नेतालाई कुनै पनि हालतमा छाड्नुहुन्न । तर, लाखौं रकम दिएर यिनलाई गैरन्यायिक, गैरकानुनी काम गर्न दुरुत्साहन गर्ने कथित पीडितहरूलाई पनि छाड्नुहुन्न । यी दुवैको छानबिन हुन जरुरी छ । नेपाली भएर पनि गैरनेपाली अर्थात् भुटानी शरणार्थी बन्न पछि नसर्नेहरूले परिआएको बेला नेपाललाई माया नगर्ने स्पष्ट छ । देशलाई संकट पर्दा यिनले लात मार्छन् । सच्चा नेपाली राष्ट्रप्रेमीका लागि यो शरमको विषय हो । देशलाई घात गर्न तयारी गर्नेहरूको पक्षमा मात्रै बोल्नु अनि घातीको मतियार भई सम्पत्ति कमाउने ध्याउन्नमा लाग्ने दलाललाई नेता मान्नु हाम्रो दुर्भाग्य हो । देशकै माया मार्न तम्सेका देशघातीलाई लुटिखाने बालकृष्ण र टोपबहादुर एण्ड कम्पनी मात्रै किन पक्राउ परे ? दिव्योपदेश त भन्छ, घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन् । यो दृष्टिकोणले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई भुटानी नागरिक बनाउने, घरबासीलाई शरणार्थी बनाउने जति दोषी छन् त्यत्तिकै मात्रामा भुटानी बन्न चाहना राख्नेहरू पनि हुन् । यिनले नेपालमा नेपाली भएर मर्न चाहना गर्नेहरूको सक्दो हुर्मत लिन खोजे ।

देशलाई खेलाँची ठानेर, राष्ट्रियतालाई पंगु माने । तसर्थ हाम्रो राष्ट्रियताप्रति, हाम्रो नागरिकताप्रति देखाएको यस्तो नीच व्यवहार पनि क्षम्य हुन सक्दैन । मान्छे भइकन पनि वस्तुका रूपमा तस्करी हुने उनीहरूको लालसाले नेपाललाई उनीहरू के ठान्दा हुन् भन्ने प्रष्ट छैन र ? त्यसैले नेपाललाई माया गर्नेहरूले नक्कली भुटानी हुन खोज्नेप्रति लचिलो हुनु जरुरी छैन । यी दुवैलाई कारबाहीको दायरामा ल्याउन पर्छ । किनभने गैरनागरिक हुनका निम्ति लाखौं रूपैयाँ घुस दिन सक्ने क्षमता कहाँबाट आयो ? यो प्रश्न अनुत्तरित हुुनु हुँदैन। गैरनागरिक हुन किन प्रेरित भए भन्ने कुराको गाँठी जवाफ त यिनैबाट आउँछ । त्यसैले चोरमाथि चकार देखिएको यो प्रकरणमा एकपक्षीय दृष्टिकोण राख्नु उचित हुन्न । 

अमेरिका र युरोपलगायत मुलुकतिर भुटानीका नाममा गैरभुटानी पसेनन् पत्तो भएन तर नेपाली नटवरलालले यस्तो सेटिङ मिलाए कि नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालीको आई. क्यू. सबैभन्दा कमजोर छ भन्ने उनीहरूको दाबीलाई बिल्कुलै झुटो सावित गरिदियो । टोपबहादुरले कुन बेला ‘तोप’ पड्काए ? बालकृष्णले कुन बेला ‘लीला’ रचाए ? यिनले पत्तै पाएनन् । अब गैरभुटानीको छानबिन गर्न अमेरिका र युरोपमा कमिशन गठन पनि होला । गैरभुटानी विशेष गरी नेपाली, सिक्किमे र दार्जिलिंगेहरू तानिएलान् । त्यसबेला अमेरिका र युरोपलाई धोका दिने यी नटवरलालहरूलाई कसरी चिन्ने भन्ने समस्या आउन सक्छ । यस्तो बेला देशलाई माया गर्ने आइक्यू कमजोर भएको एक जना नेपालीको सल्लाह छ, ती सबैलाई भेला गर्ने र जोङ्खा भाषामा प्रश्नोत्तर गर्ने, प्रश्नोत्तरमा पनि चोरचार गर्न सिपालु देखिए, जोङ्खा लिपिमा एक दुई लाइन लेख्न लगाउने । जो यसमा पास, ती भुटानी अरु बाँकी सबैजना चैं फुटानी ।

फुटानी यसर्थ कि नेपालमा केही हुँदैन, नेपाली भएर जन्मिन नपरोस्, नेपाल पनि देश हो र ? भन्दै लाखौँ तिरेर भुटानी शरणार्थी बन्न गौरव मान्दै नेपाललाई दुत्कार्दै आएका लिनले नेपालमा बस्ने पनि मान्छे हुन् र भन्दै विदेशी हुनुमा गर्व गर्दै फुटानी लाउँदै आएका थिए । ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’ लाई चटक्क बिर्सेर नक्कली भुटानी शरणार्थी प्रकरण जन्माउने यिनै हुन् । तसर्थ यस्तो शरणार्थी हुन खोज्ने र बनाउन बल गर्ने दुवैलाई छाड्नु हुन्न । हिसाब र निसाफ त बराबर हुनुप¥यो । एउटै घटनामा संलग्न एक पक्ष मात्रै कसरी दोषीको भागी हुन सक्ला र ?
(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू