आँखाले हेरेर बिरामी निको बनाउने उपचार केन्द्र प्रहरीद्वारा बन्द

आँखाले हेरेर बिरामी निको बनाउने उपचार केन्द्र प्रहरीद्वारा बन्द

नेपाल चिकित्सक संघले आँखाले हेरेकै भरमा जस्तोसुकै रोग निको पार्ने बताउँदै भ्रम सिर्जना गर्नेलाई कारबाहीको माग गरेको छ । संघले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रप्रति भ्रम सिर्जना गर्ने भरत केसीलाई कारबाही गर्न भनेको छ ।

संघले आज जारी गरेको विज्ञप्तिमा केसीले आमनागरिकलाई भ्रमित बनाएको आरोप छ । संघले यस्ता अस्वाभाविक र वैज्ञानिक रुपमा पुष्टि हुन नसकेका विषयलाई तत्काल बन्द गर्न माग गरेको हो ।   

‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना हुने किसिमबाट अस्वाभाविक एवम् अतिरञ्जन गर्न खोजिनु दुःखद पक्ष रहेको नेपाल चिकित्सक संघको ठहर छ’, अगाडि भनिएको छ, ‘यस प्रकारका अस्वाभाविक र वैज्ञानिक रुपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघ, नेपाल सरकार तथा सरोकारवाला निकायमा जोडदार माग गर्दछ ।’

‘सीमान्त गुरु’ का नामले चर्चित झापाका ४३ वर्षीय केसी हाल सामाजिक सञ्जालमा भाइरल बनेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका ७ मा रहेको उनको उपचार केन्द्र प्रहरीले बन्द गराएको छ । 

सेवाग्राहीको अत्याधिक भीड लागेपछि महानगरीय प्रहरी वृत्त, बालाजुले उनको उपचार केन्द्र बन्द गराएको हो । केसीले बोल्न नसक्ने र हिँड्ने नसक्ने व्यक्तिलाईसमेत हेरेको भरमा निको पार्ने दाबी गर्दै आएका छन् ।

टिप्पणीहरू