गरिबी निवारण तथा समृद्ध नेपाल निर्माणका लागि कृषिमा आधारित कार्ययोजना

गरिबी निवारण तथा समृद्ध नेपाल निर्माणका लागि कृषिमा आधारित कार्ययोजना

वामदेव गौतम
सदस्य,
राष्ट्रिय सभा

अहिले पनि नेपाल कृषिप्रधान मुलुक नै हो । कृषि राष्ट्रिय आम्दानीको सबभन्दा ठूलो हिस्सेदार हो । उत्पादन क्षेत्रको हिसाबले नेपालको कृषि उत्पादनको क्षेत्र सबैभन्दा महत्वपूर्ण र प्रमुख क्षेत्र हो । नेपालको विकास भन्नाले अहिलेलाई कृषि क्षेत्रकै विकासलाई मान्नुु पर्दछ । कृषि उत्पादनको क्षेत्रमा बसोबास गर्ने जनताको संख्या कूल जनसंख्याको सबभन्दा ठूलो हिस्सा रहेको छ । अहिले संसारको श्रमबजारमा रहेका नेपालीहरुको ९० प्रतिशतभन्दा बढी संख्या कृषि क्षेत्रबाटै गएका छन् । नेपालको कृषि उत्पादनको क्षेत्रलाई व्यवस्थित गर्न मात्र सकिने हो भने ८० लाखभन्दा धेरै व्यक्तिले यही क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्नेछन् । नेपाली अर्थतन्त्रका अनेकौं क्षेत्रहरु छन् । औद्योगिक उत्पादनको क्षेत्र, पर्यटन व्यवसायको क्षेत्र, विप्रेषण निर्माणका निम्ति लागेका वैदेशिक रोजगारीको क्षेत्र, बन्दव्यापारको क्षेत्र, सबै तहका सेवाको क्षेत्र र कृषि उत्पादनको क्षेत्र यसमा पर्दछन् । यीमध्ये अहिलेलाई कृषि उत्पादनको क्षेत्र प्रमुख हो । यही कृषि उत्पादनको क्षेत्रलाई गरिबी निवारण तथा समृद्ध नेपाल निर्माणका लागि मुख्य कार्यक्षेत्रका रुपमा यो कार्ययोजनालाई यहाँ प्रस्तुत गरिएको छ ।

यो कार्ययोजनामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, तथा जिल्ला समन्वय समिति र नेपालका सबै बैंकहरु संलग्न हुनेछन् । कृषि उत्पादनको सम्पूर्ण क्षेत्र चक्लाबन्दी गर्नुपर्नेछ । कृषि उत्पादनका सबै क्षेत्रमा अत्याधुनिक साधनहरु प्रयोग गर्नुपर्ने छ । यो कार्ययोजनामा मुख्य रुपमा स्थानीय तहका जनता र सरकारहरु संलग्न हुनुपर्नेछ । यो कार्ययोजना न्यूनतम पाँच वर्ष र अधिकतम १० वर्षको हुनेछ । कार्ययोजना लागु भएका स्थानीय पालिकाहरु खाद्यान्नमा दोस्रो वर्षमै आत्मनिर्भर हुनेछन् । पाँच वर्षभित्र औद्योगिक र सेवाका क्षेत्रमा पनि आत्मनिर्भर हुनेछन् । छैठौं वर्षदेखि सबै किसिमका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिनेछ । आवास नभएका परिवारलाई दुई वर्षभित्र आवास उपलब्ध गराउन सकिनेछ । सबै उत्पादनका क्षेत्रहरु बिमामा आवद्ध हुनेछन् । जनतालाई भार नपर्नेगरी स्वास्थ्य बिमा लागु गरिनेछ तथा सम्पूर्ण स्वास्थ्य र शिक्षा निशुल्क गराइनेछ । यो कार्ययोजनामा सामेल हुने प्रत्येक व्यक्तिले तल उल्लेख गरिएको आचारसंहिता अनिवार्य लागु गर्नुपर्नेछ ।

आचारसंहिता निम्नानुसारको हुनेछ :

१. सबैभन्दा पहिले आचारसंहिता पालना गर्न सपथ लिनुपर्ने छ ।
२. आचारसंहिता उल्लंघन गर्नेहरु कार्ययोजनाबाट निश्कासित हुनुपर्ने छ ।

३. प्रत्येक परिवार सामूहिक उत्पादनमा सामेल हुनुपर्ने छ ।
४. प्रत्येक परिवारका सदस्यहरुले बिहान, दिउँसो र साँझको खाना विश्व खाद्य संस्थानले निर्धारण
   गरेबमोजिमको सन्तुलित आहार लिनुपर्ने छ ।
५. आफ्नो भोगचलनमा रहेको कृषिभूमि चक्लाबन्दीमा सामेल गर्नुपर्ने छ ।
६. ५ वर्ष उमेर पुगेका नानीबाबुहरुलाई स्कुल भर्ना गर्नुपर्नेछ ।
७. घरायसी काममा परिवारका सबै सदस्यहरुको सहभागिता रहनुपर्ने छ ।
८. सकेसम्म घरमा काम गर्न बाहिरबाट श्रमिक राख्न हुने छैन ।
९. श्रमिक राख्नु परेमा सरकारले निर्धारण गरेको पारिश्रमिक दिनुपर्ने छ ।
१०. घरेलुश्रमिकसँग सम्मानजनक व्यवहार गर्नुपर्नेछ ।
११. घरमा रहेका बालबालिका र वृद्धवृद्धाहरुको सम्मानजनक स्याहार सम्भार र लालनपालन गर्नुपर्ने छ ।
१२. अपमान, हेँला र छुवाछुत गर्न पाइने छैन ।
१३. छाउपडी र नछुने प्रथा परित्याग गर्नुपर्ने छ ।
१४. घरेलु हिंसा र महिला हिंसा गर्न पाइने छैन ।
१५. घरमा परिवारका सबै सदस्यसँग माया र श्रद्धापूर्ण व्यवहार गर्नुपर्ने छ ।
१६. चर्को बोली बोल्ने, हप्काउने, दम्काउने जस्तो व्यवहार गर्न पाइने छैन ।
१७. कसैसँग पनि झगडा तथा गालिगलौज गर्न पाइने छैन ।
१८. अप्ठेरोमा परेका कुनै पनि व्यक्तिलाई आफुसक्दो सहयोग गर्ने र अरुलाई पनि गर्न लगाउनु पर्नेछ ।
१९. चोरी, ठगी, झुटो, जालझेल, तिक्डम जस्ता व्यवहार गर्न हुने छैन ।
२०. कसैको वस्तु, रुपैयाँ, बहुमुल्य वस्तु खसेको, हराएको आफुले प्राप्त गरेमा नजिकको प्रहरी चौकीमा जम्मा गराउनु पर्नेछ ।
२१. संविधान, ऐन कानून पालना गर्नु पर्र्नेछ ।
२२. सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्नुपर्ने छ ।
२३. सरकारले लगाएका कुनै पनि कर तिर्ने, तिर्न लगाउने गर्नुपर्ने छ ।
२४. आफ्ना माग पुरा गर्नकुनै किसिमको हिंसात्मक गतिविधि गर्न पाइने छैन ।
२५. कुनै पनि बहानामा सडक जाम, चक्का जाम, काम बन्द, कलकारखाना र शैक्षिक संस्था पनि बन्द गर्न हुने छैन ।
२६. आफ्ना माग पूरा गराउन वार्ता गर्ने, पालिकाको सहयोग लिने, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी कार्यालयमा उजुरी गर्ने अथवा अदालतबाट कानूनी उपचार खोज्ने गर्नुपर्ने छ ।
२७. शान्ति सुरक्षामा खटेका प्रशासन र प्रहरीलाई आवश्यक र सक्दो सहयोग गर्नुपर्ने छ ।
२८. १८ वर्ष उमेर पुगेका व्यक्ति कुनै न कुनै काममा अनिवार्य संलग्न हुनुपर्ने छ ।
२९. बिहान १ घण्टा र बेलुकी १ घण्टा प्रत्येक व्यक्तिले व्यायाम गर्नुपर्ने छ ।
३०. राज्यको सम्पत्ति जस्तोसुकै अवस्थामा रक्षा गर्नुपर्ने छ ।
३१. अपराधीलाई कारबाही गर्न सरकारलाई सहयोग गर्नुपर्ने छ ।
३२. मद्यपान, धुम्रपान, सुर्तीसेवन, लागूऔषध दुव्र्यसन, जुवातास जस्ता सामाजिक विकृतिलाई निषेध गर्ने र निषेध गर्न सरकारलाई सहयोग गर्नुपर्ने छ ।
३३. आफ्नो गाउँसहर, टोल, घर सँधै स्वच्छ, सफा र हरियाली राख्ने तथा प्रत्येक घरमा सेफ्टी ट्याङ्कीसहितको शौचालयको व्यवस्था गर्नुपर्ने छ ।
३४. शौचालय बाहेक अन्यत्र दिसा पिसाब गर्ने, थुक्ने, सिंगान फाल्ने जस्ता असभ्य व्यवहार गर्न पाइने छैन ।
३५. पानीको मुहान, नदीनाला, ताल, पोखरी, खोला आदिमा फोहोर गर्न पाइने छैन ।
३६. घुसखोरी, भ्रष्टाचारी र अपराधीलाई कुनै किसिमको सहयोग गर्न हुने छैन ।
३७. हरेक अवस्थामा विनम्र हुने, तथ्य र तर्कपूर्ण छलफल गर्ने, प्रेरणादायी व्यवहार गरेर सभ्य र सुसंस्कृत नेपाली भएको परिचय दिनु पर्नेछ ।
३८. कुनै पनि कार्यस्थलमा औपचारिक काम शुरु गर्नु पूर्व राष्ट्रिय गान गाउनु पर्नेछ ।

बृहत् रोजगार योजना

गरिबी निवारण तथा समृद्ध नेपाल निर्माणका लागि अगाडि सारिएको बृहत रोजगार योजना अत्यन्त महत्वपूर्ण कार्यक्रममध्ये एक हो । यो कार्यक्रम कार्यान्वयनसँगै प्रत्यक्ष रुपमा नेपाली जनता व्यवसायी बन्नेछन् । हरेक परिवारमा एक रोजगारी प्राप्त हुनेछ । परोक्ष रुपमा परिवारमा काम गर्न सक्ने प्रत्येक व्यक्ति स्वःरोजगार हुनेछन् । यसको कार्यान्वयनबाट नेपालको संविधानले निर्दिष्ट गरेको समाजवादका आधारभूत पक्षलाई सुनिश्चित गरिनेछ । यो कार्यान्वयनको दोस्रो वर्षमा नेपाल खाद्यवस्तुमा आत्मनिर्भर हुनेछ र गरिबी निवारण शुरु हुनेछ ।

नेपाल राज्यका आधारभूत इकाई स्थानीय संरचनाका वडाहरु हुन् । कार्यक्रम वडामा आधारित हुनेछ । वडाका परिवारहरुमध्ये ३० परिवारको एउटा समूहका रुपमा संगठित गरिनेछ । परियोजनाले एक परिवारमा २० लाख रुपैयाँ भार पर्नेगरी माथि उल्लेखित आचारसंहिता लागू गर्ने शर्तमा छ करोड रुपैयाँ एक समूहमा लगानी गर्नेछ । समूहका परिवारबाट निर्वाचित सञ्चालक समितिले उपरोक्त लगानीमा आधारित व्यवसायिक योजना छनौट गर्नेछन् । यो कार्यक्रम मुलुकभरका ६ हजार ७४३ वडामा क्रमशः लागु गरिनेछ । कार्यक्रमको व्यवस्थापन सम्बन्धित परिवार र सञ्चालक समितिसँग मिलेर स्थानीय सरकारले लागु गर्नेछ । यो कार्यक्रम दुई लाख समूहमा क्रमशः दुई वर्षभित्र लागु गरिनेछ । परियोजनमा आवद्ध सबै बैंकहरुले तीनै तहका सरकारको जमानीमा कुल १ सय २० खर्ब २ प्रतिशत ब्याजमा ऋण लगानी गर्नेछन् । लगानीका निम्ति अपुग सम्पूर्ण रकम नेपाल सरकारले १ प्रतिशत ब्याजमा बैंकहरुलाई उपलब्ध गराउनुपर्ने छ । यो कार्यक्रम लगानी फिर्ता नहुँदासम्म जारी राख्नुपर्ने छ ।

परियोजना कार्यान्वयनभन्दा पहिले तीनै तहका सरकारले परियोजना कार्यान्वयनको निम्ति सुसंगत सम्झौता गर्नुपर्ने छ । सम्झौताबमोजिम पालिकामा आवश्यक पर्ने कृषि तथा गैरकृषि आवश्यक सम्पूर्ण उत्पादन गर्नुपर्नेछ । प्रत्येक उत्पादनको बिमा व्यवस्था गर्नुपर्ने छ । पालिकामा उत्पादन हुने वस्तु आफुखुशी बाहिरबाट ल्याउन नपाइने व्यवस्था गर्नुपर्ने छ । एक समूहले एउटा मात्र वस्तु उत्पादन गर्नुपर्ने छ । पालिकाभित्र उत्पादन नभएको वस्तु मात्र बाहिरबाट ल्याउन सकिने छ । पहिलो दुई वर्षमै पालिका कृषि तथा गैरकृषि उत्पादनमा आत्मनिर्भर हुने गरी कामलाई व्यवस्थित गर्नुपर्ने छ । आवश्यकताभन्दा बढी उत्पादन भएमा सम्बन्धित पालिकाभन्दा बाहिरका पालिकामा जिल्ला समन्वय समिति, जिल्लाभन्दा बाहिर लैजानु परेमा प्रदेश सरकार र प्रदेशभन्दा बाहिर अथवा विदेश निर्यात गर्नु परेमा नेपाल सरकारले आवश्यक व्यवस्थापन गर्नुपर्ने छ । बिक्री हुन नसकेर बचेको जैविक वस्तुबाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जडान गरिनेछ । त्यसपछिको वस्तु प्राङ्गारिक मल निर्माणमा प्रयोग गरिनेछ । त्यसबाट प्राप्त हुने मूल्य बराबरको रकम उत्पादकलाई प्रदान गर्ने व्यवस्था हुने छ ।

पालिकाका उत्पादक समूहरुले उत्पादन गरेका वस्तुहरु प्रशोधन, भण्डारण तथा खरिद बिक्री गर्नेगरी पालिका केन्द्रमा व्यवस्थित बजार विकास गर्नुपर्ने छ । त्यसैगरी पालिका केन्द्रमा भण्डारणका निम्ति आवश्यक क्षमताका कोल्ड स्टोरेज र वेयर हाउस निर्माण गर्नुपर्ने छ । उत्पादक समूहहरुले आफूले उत्पादन गरेको वस्तु खरिद केन्द्रमा मात्र बिक्री गर्नुपर्ने छ र आफुलाई चाहिने वस्तु बिक्री केन्द्रबाट किन्ने गरी व्यवस्थापन गर्नुपर्ने छ ।

पालिका केन्द्रमा रहेको बजार व्यवस्थापनका लागि पालिकाभित्रका उत्पादक समूहका प्रतिनिधिहरुले सञ्चालक समिति निर्माण गर्ने छन् । प्रशोधन तथा खरिद बिक्री केन्द्र सञ्चालन गर्न दक्ष जनशक्तिका रुपमा कर्मचारी नियुक्त हुने छन् । उत्पादक समूहहरुलाई प्रशिक्षण गर्न, निरीक्षण तथा मूल्याङ्कन गर्न आवश्यक संख्यामा वैतनिक विज्ञ प्रशिक्षकहरु रहने छन् । उत्पादक समूहहरु शहर बजारहरुमा, कलकारखाना, उद्योगधन्दा तथा बन्द व्यापारमा आधारित र ग्रामीण क्षेत्रमा कृषि तथा गैरकृषि उत्पादनका साथै लघु उद्योगमा आधारित हुने छन् । प्रशोधन केन्द्र, खरिद बिक्री केन्द्र र विद्युत बिक्री र प्राङ्गारिक उत्पादनबाट हुने आम्दानी प्रत्येक वर्ष उत्पादक समूहहरुलाई वितरण गर्ने व्यवस्था हुनेछ ।

प्रत्येक उत्पादक समूहले न्यूनतम एक परिवार एक रोजगारी उपलब्ध हुने गरी व्यवसायिक योजना छनौट गर्नेछन् । आगामी ५ वर्षमा लगानी बराबर बचत हुनेगरी शुरुदेखि नै आम्दानीबाट बचत व्यवस्थापन गर्नुपर्ने छ ।

पालिका केन्द्रमा बजार विकास कार्यक्रम

बृहत् रोजगार कार्यक्रमअन्तर्गत पालिका केन्द्रमा बजार विकास सम्बन्धी विषय माथि उल्लेख भइसकेको छ । यसमा नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी पालिकाले बजार विकास तथा व्यवस्थापन कार्यक्रम निम्नानुसार कार्यान्वयन गर्नेछ ।

१. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुका केन्द्रमा बृहत रोजगार कार्यक्रमअन्तर्गत व्यवस्थित बजार विकास गरिने छ ।

२. व्यवस्थित बजारमा पालिकामा उत्पादन हुने सम्पूर्ण वस्तुहरु प्रशोधन गर्ने आवश्यक कारखाना र गोदाम स्थापना गरिने छ ।
३. पालिकामा उत्पादन गरिने वस्तु खरिद–बिक्री केन्द्रहरु स्थापना गरिने छ ।  

५. आवश्यक क्षमताका कोल्डस्टोर र वेयर हाउस निर्माण गरिने छ ।
६. आवश्यक क्षमताको प्रशासन भवन निर्माण गरिने छ ।
७. विज्ञ प्रशिक्षकहरुको छुट्टै प्रशिक्षण केन्द्र तथा आवास गृह पालिका केन्द्रमा निर्माण गरिने छ ।
८. हरेक पालिका केन्द्रमा एकीकृत सेवा केन्द्र स्थापना गरिने छ ।
९. सुविधा सम्पन्न एक होटल निर्माण गरिने छ ।
१०. नीजि क्षेत्रका निम्ति पनि बजारमा आवश्यक स्टलहरु निर्माण गरिने छ ।

टिप्पणीहरू