अदालतको आदेशपछि वाणिज्य क्याम्पसमा चुनावको चटारो

अदालतको आदेशपछि वाणिज्य क्याम्पसमा चुनावको चटारो

रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा आगामी जेठ १४ गते स्ववियु निर्वाचन हुने भएको छ । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलाशले रोकिएकै अवस्थाबाट निर्वाचन प्रक्रिया शुरु गर्न आदेश दिएपछि क्याम्पस सञ्चालक समितिले जेठ १४ गते निर्वाचनको मिति तोकेको हो । उच्चले गत वैशाख ११ गते स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । 

उक्त आदेश कार्यान्वयन गर्न हिजो बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरेको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सह-प्राध्यापक गोपालप्रसाद पाण्डेले बताए । त्रिुभवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट गत वैशाख २८ गते प्राप्त पत्रबमोजिम निर्वाचनको बाँकी कार्यक्रम तय गरिएको उनको भनाइ छ । 

उनकाअनुसार समूह दर्ता, मतदाता सूची प्रकाशन, मतदाता सूचीउपर दाबी विरोध, मतदाता सूचीउपर दाबी विरोधको छानबिन एवं अन्तिम नामावली प्रकाशन गर्ने कार्य सम्पन्न भइसकेको छ । आउँदो जेठ १० गते उम्मेदवारको लागि मनोनयनपत्र वितरण गर्ने, ११ गते उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने, १२ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै, सोही दिन दाबी विरोधउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । जेठ १४ गते बिहान ८ बजेदेखि दिँउसो २ बजेसम्म मतदान हुनेछ । 

विभिन्न विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि गत चैत ५ गतेका लागि निर्धारित निर्वाचन स्थगित भएको थियो ।
 

टिप्पणीहरू