बाबुरामका साथीहरु पुराना,यात्रा नयाँ
तत्कालीन जनमोर्चााबाट माओवादी सशस्त्र जनयुद्द हुँदै शान्ति प्रक्रियापछि अलग भएर वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी गठन गरी अगाडि बढेका नेता डा.बाबुराम भट्टराई पछिल्लो समय जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट चुनावमा होमिने तयारीमा छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित १० दल एक भएर गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा नगएका जनार्दनको पार्टीमा लागेका उनलाई माओवादी जनयुद्धदेखि नै काँध थापेर तन, मन र धनले साथ दिँदै आएका सारथीहरुले धमाधम छोडिरहेका छन् । पराधीन नीतिका कारण उनी एक्लिँदै गएकाे बताइन्छ ।
नेपाली राजनीतिमा ‘वैकल्पिक शक्ति’ को नारा दिएर १२ वर्षअगाडि नयाँ शक्ति पार्टी स्थापना गरेका उनलाई विराटनगरका नेताहरु भरत दाहाल र तेजलाल कर्णले निरन्तर सहयोग गर्दै आएका थिए । तर, उनी जनता समाजवादी हुँदै नयाँ शक्ति र सुदन किराँती संयोजक रहेको पार्टीमा प्याकअप भएपछि दुवै नेताले साथ छोडेका छन् ।
बाबुरामदेखि दिक्क भएका भनिएका उनीहरु रवि लामिछानेको रास्वपामा प्रवेश गर्ने तयारीमा देखिन्छन् । कोशी प्रदेशबाट बाबुरामलाई सहयोग गरेका कर्ण भन्छन्,‘अब चाँडै नै हामी ठूलो समूहसहित रास्वपामा जाने तयारीमा छौं । छलफल चलिरहेको छ ।’ बाबुरामको पलायनवादी सोचले गर्दा आफूहरु रास्वपामा जान लागेको उनीहरुको भनाइ छ ।
भट्टराईले वैकल्पिक राजनीतिको नाममा कार्यकर्तालाई भ्रममा राखेको र अन्त्यमा फेरि पुरानै माओवादी विचारधाराका नेताहरुसँग मिलेको उनीहरुको आरोप छ । प्रलोपा माओवादीहरुको नयाँ खोल भएको कर्ण बताउँछन् । हाल कोशी प्रदेश र पूर्वी नेपालका ८० प्रतिशत नयाँ शक्तिका कार्यकर्ता रास्वपामा जाने तयारीमा छन् ।
बाबुराम बौद्धिक नेता भएपनि उनमा राजनीतिक दूरदर्शिता, कला र चतुर्याइँ नभएको उनीहरुको आराेप छ ।
टिप्पणीहरू