काँग्रेसीजन शोकमा, तीन दिन झण्डा झुकाइने

काँग्रेसीजन शोकमा, तीन दिन झण्डा झुकाइने

नेपाली काँग्रेसले संविधानसभा सदस्यसमेत रहेका पार्टीका नेता पुरुषोत्तम बस्नेतको निधनको शोकमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ । 

स्वर्गीय बस्नेतप्रति सम्मान प्रकट गर्दै आजदेखि आइतबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा काँग्रेसले पार्टीको झण्डा आधा झुकाउन लागेको हो । आगामी आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गाराहेणको १३ औं दिनसम्म शोक पुस्तिका राख्ने पनि जनाइएको छ । 

काँग्रेसको इतिहास लेखकसमेत रहेका बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवाले आफू निकै मर्माहत भएको बताउनुभएको छ । 

लोकतान्त्रिक आन्दोलनको एक अथक योद्धा, लेखक र साहित्यकारको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै उहाँले नेपाली काँग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय हुने जनाउनुभएको छ । 

सोलुखुम्बुमा जन्मिनुभएका बस्नेतको आज बिहान ७८ वर्षको उमेर निधन भएको हो । प्रजातान्त्रिक आन्दोलनदेखि नै काँग्रेसमा सक्रिय उहाँ बीपी कोइरालाका अनुयायी, चिन्तक र लेखकसमेत हुनुहुन्थ्यो । 

राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवीलगायत भूमिका निर्वाह गरिसक्नुभएको उहाँको आज अपरान्ह २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ ।

टिप्पणीहरू