घरमै केन्द्रीय बैठक

घरमै केन्द्रीय बैठक

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक अब झापामा बस्ने भएको छ । केन्द्रीय बैठक झापामा बस्न लागे भनेर केन्द्रीय सदस्यहरूसमेत चकित भएका छन् । झापामा किन राख्न लाग्या होला बैठक ? त्यो पनि यस्तो गर्मीमा ?

सबैलाई थाहा भएकै कुरा हो, झापा भनेको केपी ओलीको गृहजिल्ला हो । र, केपी ओली भनेको एमालेको अध्यक्ष । अब एमालेको केन्द्रीय बैठक आफ्नै अध्यक्षको गृहजिल्लामा नबसे कहाँ बस्ने ? बैठक अहिलेसम्म झापामा बस्ने मात्रै भनिएको छ । झापाको कुन ठाउँमा बस्ने हो अझै भनिएको छैन । शायद केपी ओलीको घरमै बस्ने हो कि ? घरमा मात्र होइन, अझ उहाँको पकेटभित्रै बस्न पनि के बेर ? आखिर यतिबेला एमाले नामको पार्टी उहाँको पकेटभित्रै छ । पार्टी नै पकेटमा भएपछि बैठक पकेटमै बस्न केको आपत्ति ?

सुनिन्छ, केन्द्रीय बैठक झापामा बस्न लाग्नुको मुख्य कारण हो केन्द्रीय सदस्यहरूलाई झापा चिनाउनु । एमालेमा अझै पनि त्यस्ता केन्द्रीय सदस्यहरू रहेछन् जसले अहिलेसम्म झापा चिनेको छैन । ओलीको पार्टीमा बसेर झापा चिन्दिनँ भन्न पाइन्छ ? त्यही भएर झापामा केन्द्रीय बैठक । अब दुई महिनापछि नेपाली कांग्रेसको केन्द्रीय बैठक डडेल्धुरामा बस्ने हो कि ? आखिर देउवा मात्र ओलीभन्दा के कम ?
 

टिप्पणीहरू