काण्डवाला भीआईहरु कसैलाई पनि नछाडियोस् : गगन थापा

काण्डवाला भीआईहरु कसैलाई पनि नछाडियोस् : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सर्वसाधारण नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुछिएका सबैमाथि गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी गिरोहका भिआईपी जालोबारे गहिरोसँग अनुसन्धान हुनुपर्ने माग राखेका हुन् । 

आज ट्वीट गर्दै उनले उक्त घटनाले ‘ठगी गिरोहका भिआइपी जालो’ उजागर भएको जनाएका छन् । शरणार्थी काण्डमा मुछिएकामध्ये कोही पनि छुट्न नहुने उनको जिकिर छ । कानुनभन्दा माथि कोही नहुने उल्लेख गर्दै उनले गृह प्रशासनको पछिल्लो प्रयासको प्रशंसासमेत गरेका छन् ।  

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ’, उनले अगाडि थपेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन ।’

नक्कली शरणार्थी बनाउने गिरोहमा मुलुकका ठूल्ठूला ओहदाका व्यक्तिको नाम जोडिएको छ । आरोप लागेकामध्ये नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । 

त्यस्तै, हिजो बिहान पहिले गृह र अहिले उपराष्ट्रपति कार्यालयमा रहेका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए भने अस्ति तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

टिप्पणीहरू