किसानसँग प्रधानमन्त्रीको गुनासो : कतिपयले सरकारका राम्रा काम देखेनन्

किसानसँग प्रधानमन्त्रीको गुनासो : कतिपयले सरकारका राम्रा काम देखेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन र समृद्ध मुलुक बनाउने आफ्नो लक्ष्यमा दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सोहीअनुसार नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भैरहेको उहाँको भनाई छ ।  

सरकार गठनको चार महिनामा थुप्रै राम्रा काम भएको तर, कतिपयले विरोध मात्रै गरिएको भन्दै प्रधानमन्त्रीले दुःखेसोसमेत गर्नुभयो । आज दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा उहाँले सरकारले गरेका राम्रा काम देख्नै नसकेको बताउनुभएको हो । 

‘कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । ४ महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको सञ्चिति उत्साहवद्र्धक रूपमा बढेको छ । पर्यटक आउने क्रममा सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको छ । म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु । केही समयमा सकारात्मक नतिजा देखिन्छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

किसान नेतासँग प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको पनि बताउनुभयो ।

‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यस पटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु । उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’

नेपालको कम्युनिष्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको भन्दै उहाँले अर्थतन्त्रको मेरूदण्ड पनि कृषि नै भएको उल्लेख गर्नुभयो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । 

भेटमा छ वटा किसान संगठनसँग आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गरेका थिए ।
 

टिप्पणीहरू